arrow

राखेप सदस्यसचिवमा माओवादीका टंकलाल घिसिङ नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
tankalal-ghising-rakhepa.jpg

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्षसमेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवमा नियुक्त गरेको हो। 

गत कार्तिक १ गते तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको मन्त्रालयले मंसिर ४ गते सात दिनको म्याद राखेर सदस्यसचिवका लागि दर्खास्त आह्वान गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्यसचिव सिफारिसका लागि सहसचिव कमलप्रसाद पोखरेल संयोजक तथा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित तीन सदस्यीय छनोट समिति गठन गरेका थिए ।

समितिले आइतबार सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो । समितिले उम्मेद्वारहरुको कार्ययोजना प्रस्तुतिपछि तीन जनाको नाम मन्त्री गहतराज समक्ष बुझाएको थियो ।

नेपाल सरकारको नियम अनुसार १८ एक जना महिलासहित  तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा समितिले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो ।  

तीमध्ये माओवादी केन्द्य्रको भागमा रहेको खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारले माओवादीकै नेता घिसिङलाई राखेपको जिम्मेवारी दिएको हो । 

सदस्यसचिवका लागि आवेदन बुझाउनेमा टंकलाल घिसिङ, अच्युतम लामिछाने, ममता श्रेष्ठ, दिपक विष्ट, आरके विष्ट, रवि राजकर्णिकार, मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे,छुम्बी लामा र सुनिल नकर्मी रहेका थिए ।

यता केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा बर्खास्त गरिएका एमालेका नेता पूर्व सदस्यसचिव सिलवाल भने सर्वोच्च अदालत गएका छन् । उनले आफूलाई समयअगाडि नै हटाइएको भन्दै अदालतमा गएका हुन् । गत वर्ष खेलकुद विकास ऐन २०७७ अनुसार सिलवाल सदस्यसचिवमा चुनिएका थिए । 

उनले १३ औं दक्षिण एसियाली खेलकुदमा भ्रष्टाचार गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पष्टीकरण सोधेको थियो । चित्त नबुझेपछि निकालेको जनाएको छ । 



नयाँ