arrow

रिसको दाग

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
krishna-arjun.JPG

श्रीमद्भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई काम क्रोध आदि रजोगुणबाट पैदा हुने हुन् भन्ने उपदेश दिनु भएको थियो । परमात्मा पाउन रजोगुण, तमोगुण आदि हटाएर सत्वगुणमात्र हामीले सञ्चय गर्नुपर्छ । काम, क्रोध तथा लोभ हामीले त्याग्न खोजे पनि दैनिक व्यवहारमा भने कहिले काहीँ यिनीहरूलाई विवेकसाथ प्रयोगमा ल्याउनु नै पर्छ ।

श्री शिवपुरी बाबाले पनि क्रोधलाई मानिसको सबभन्दा तुच्छ शत्रु भन्ने संज्ञा दिनु भएको छ । आफूमा आएको रिसलाई काबुमा राख्न सक्नु नै बुद्धिमानी ठहरिन्छ तर सधैँ भने यो सम्भव हुँदैन । रिस निकाल्दा पनि विवेक भने छोड्नु हुँदैन ।

यसै विषयमा धेरै अघि सङ्कलित एउटा चर्चा प्रस्तुत गर्न लागिएको छ । एक ठाउँमा बाबु छोरा रहेछन् । छोरालाई पल पलमा रिस आउने रहेछ जसले गर्दा उसलाई के गरेँ, के गरिनँ छुट्याउन कठिन हुने रहेछ । छोराको यो बानीले बाबु दिक्क भएर एक दिन छोरालाई एक झोला किला र एउटा घन दिएर  ”बाबु, त्यो भित्तामा रहेको काठको मोटो फलेकमा यी सब किलाहरू ठोक्नु” भनेछन् ।

बाबुको आज्ञा मानेर छोराले त्यो फलेकमा किला ठोक्न सुरु गर्‍यो । त्यो किला ठोकुन्जेल उसलाई रिसले छोएनछ । भोलिपल्ट पनि बाबुले ”छोरा, अव हिजो ठोकेका किलाहरू सबै निकाल भनेछ । ” छोराले पनि चाँडै नै ती किलाहरू झिक्ने काम सम्पन्न गरेर बाबु कहाँ आएर आफूले काम सम्पन्न गरेको कुरा बताएछ ।

भोलिपल्ट पनि छोरा बाबुको सम्मुख आएर आज के काम गर्ने भनेर प्रश्न गरेछ । बाबुले उसलाई ती किलाहरू ठोकिएको फलेकको अगाडि लगेछ ।

उसले किलाले फलेकमा पारेको प्वाल देखाउँदै भनेछ  ”हे बाबु, तिमीले किला ठोकुन्जेल तिमीमा रिस आएन , किला झिक्ने बेलामा पनि रिस आएन, तर हेर, यो फलेकमा परेको किलाको प्वाल तिमी मेट्न सक्दैनौ । त्यसरी नै तिमीले रिसको आवेगमा आएर गरेको कामले कतै दाग अवश्य परि नै रहन्छ , त्यसैले रिस लिने काम नगर । ”

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com   



नयाँ