नेपाली राजनीतिले धेरै भंगालहरु पार गर्दै आजको स्थितिमा आइपुगेको छ। संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान केहि मधेशबादी दलका असहमति, अन्तरपार्टी मतभेद र छिमेकी रास्ट्रहरुको हस्तक्षेपका बाबजुद पनि तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको नेतृत्वमा जारी भयो। सायद यो कार्य इतिहासकै एक अत्यन्त महत्वपूर्ण कार्य हो, अब बाँकि रहेको छ त केवल यसको सफल कार्यन्वयनको। कुनै पनि नीति, नियम वा संबिधान आफैमा पूर्ण हुँदैन र अपरिवर्तित पनि हुँदैन। त्यसैले यसमा देखिएका केहि कमीकमजोरीलाई हटाई एक सर्बस्वीकार्य संबिधान बनाउने प्रयासमा लाग्नु सबिधान जारी हुँदा बखत यसको पक्षमा रहेका राजनैतिक दल, नागरिक समाज पत्रकार साथै सम्पूर्ण नेपाली नागरिकको दायित्व हो। तर हाल कायम रहेको संसदको ठुलो पार्टी र संबिधान जारि गर्दाको बखत नेतृत्व लिएको पार्टीको हैसियतले पनि नेपाली कांग्रेसको जिम्मेवारी प्रमुख रहन आउंछ। त्यसैले नेपाली कांग्रेसका पार्टीभित्रका गतिबिधी, भातृ संगठनका चालचलन र सल्लाहकारहरुको सल्लाहको लेखाजोखाका साथ खबरदारी पार्टी भित्रैका निस्ठावान कार्यकर्ताहरुबाट हुनु जरुरी छ।
कुनै पनि पार्टी गतिबिधि त्यस पार्टी नेतृत्वको नीति र भातृ संगठनको खबरदारीमा सन्तुलित हुने गर्दछ तर देशकै सबैभन्दा पुरानो तथा ठुलो पार्टी नेपाली कांग्रेसका भातृ संगठनहरु आँफैमा रुमलिएका छन्। बर्षौंदेखि महाधिवेसन हुन सकेका छैनन्। अनुसासनहिनता र अबैधानिक गतिबिधि बढेको भन्दै धेरै पटक अनसन बस्ने, ज्ञापन पत्र पार्टीलाई बुझाउने कार्य पनि नभएका होइनन्। तर पार्टीको आन्तरिक अंशबण्डाले होस् या पार्टी संचालकहरुको कार्यसुचिमा नपरेर होस् भातृ संस्थालाई मजबुत र समयानुकुल बनाउन पार्टीले खासै चासो नदेखाएको पक्कै हो। जसले गर्दा नेबिसंघ, तरुण दल, महिला संघ, किसान संघ लगाएत धेरै भातृ संगठनमा नेतृत्व बिकाश ठप्प भएको छ। गुटउपगुटका नाममा एकअर्कालाई निषेध गर्ने परिपार्टीको बिकाश भएको छ। संगठन बिस्तार लगभग पूर्ण रुपमा रोकिएको छ। त्यतिमात्र होइन त्यसको सिधा असर बिकशित रास्ट्रहरुमा रहेका लोकतन्त्रको बिकाश र सम्बर्धनका लागि पार्टी तथा भातृ संस्थाहरुलाई सल्लाह सुझाब दिनुपर्ने सुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरुमा पनि देखिएको छ। त्यसको सरल र उचित निकास भनेकै बैधानिक तवरले अधिवेसन गराउनु र समयसापेक्ष नेतृत्व बिकाश गरि सक्रिय, उच्च मनोबलका साथ संगठन अगाडी बढाउनु नै हो। जसको पक्षमा नवनिर्वाचित पार्टी सभापतिले नै पटक पटक सार्बजनिक कार्यक्रममा प्रतिबद्धता जनाउनु भएको छ। स्वयम् सभापती पनि बिधार्थी संघको नेतृत्व गर्दै यस स्थानसम्म आईपुग्नु भएकोले पनि उहाँबाट आशा गर्ने ठाउँ धेरै छ।
पार्टी सभापतीको प्रतिबद्धताले नै अहिले नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व चयनको लागि लोकतान्त्रिक अभ्यास थालिएको छ तर पनि प्रतिनिधि चयन विवाद, उमेद्वारी विवाद र पार्टीको हस्तक्षेपको आशंकाले फेरी पनि नयाँ नेतृत्व चयन प्रक्रियाबाट सम्बन्धित भातृ संस्थाका प्रतिनिधिहरु बन्चित हुने हुन् कि भन्ने कुराको शंका स्वयम् नेतृत्वका उमेद्वारहरुमा छाएको छ। त्यसो भयो भने सायद नेपाली कांग्रेसको स्थिति इतिहासकै नराम्रो स्थितिमा नजाला भन्न सकिन्न। त्यसैले पनि पार्टी नेतृत्वले यस बिषयमा महत्वपुर्ण तथा धेरै सुझबुझका साथ नीतिनियम बनाइ भातृ संस्थाहरुलाई सक्रिय पार्दा नै आगामी स्थानिय, प्रदेश तथा केन्द्रिय चुनाबमा पार्टीको स्थिति बलियो हुनेछ। नेबिसंघको आसन्न महाधिवेसनलाई सफल र बिबाद रहित बनाउनको नेविसंघको राजनीति गरेर आएका केन्द्रिय सदस्यहरुको ५ सदस्यीय समिति बनाइएको छ। त्यसैले पनि उहाँहरुबाट बिधार्थीहरुले आशा गर्ने ठाउँ धेरै छ।
नेविसंघलाई यदि सक्रिय र गाउँ र क्याम्पससम्म सबल र सक्षम बनाउने हो भने पक्कै पनि वास्तविक बिधार्थीलाई चिन्ने, अध्ययनसिलका साथै नेतृत्वको उमेरलाई ध्यान दिनु जरुरि छ। जसले नेतृत्वको क्षमता र बिद्यार्थीहरुसँगको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। तर नेविसंघको हकमा भने त्यो केहि कठिन देखिए पनि समाधानका उपाय प्रसस्त छन्। नेविसंघलाई पुस्तान्तरण गर्नका लागि पार्टी नेतृत्वले केहि प्रयास गर्नु जरुरि छ। लामो समयदेखि नेतृत्व कुरि बसेका सक्षम र जुझारु युवाहरु जो पार्टीका जिम्मेवारीका लागि तयार भैसकेका छन् उनीहरुको राजनीतिक व्यवस्थापन गरि पार्टीकै गतिबिधिमा सम्मिलित गर्नका लागि आमन्त्रित सदस्यको रुपमा मनोनित गर्दा नेविसंघमा एक नयाँ पुस्ताले नेतृत्व पाउने छ। त्यस नेतृत्वले पार्टी र युवा बिधार्थी बिचको दुरीलाई कम गर्न सफल हुनेछ।
विद्यार्थी नेताहरु पनि अब फेरी गुट र उपगुटलाई प्रश्रय दिंदै गुट र उपगुटका नाममा राजनीति गर्न खोज्दछन भने आम बिधार्थीले बुझ्नु पर्दछ कि नेविसंघलाई पुरानै ढर्राबाट चलाउने कोसिस गरिएको छ। त्यसका बिरुद्ध पार्टी भित्र र संघभित्र आवाज उठाउन तम्तयार रहनु पर्दछ। तमाम प्रतिनिधि बिद्यार्थीहरुले अब आफ्नो नेतृत्व कसलाई दिने, किन दिने र उसले के सकारात्मक परिवर्तन ल्याउन सक्छ भनि अध्ययन गरि मात्र मत दिनु उचित हुनेछ। होइन भने अधिवेसन सिद्धिएर घर फर्केको दिनदेखि अन्य पार्टीका प्रतिस्पर्धी संगठनसँग शिर उचो गरि बिद्यार्थीका हक र अधिकारका लागि झण्डा बोकी हिंड्न पनि लाज लाग्ने वातावरण नआउला भन्न सकिन्न्। त्यसैले सबै भन्दा महत्वपुर्ण कुरा के हो भने बिधार्थी प्रतिनिधिहरुले गुट र उपगुटको प्रभाव बिना स्वतन्त्ररुपले आफ्नो नेतृत्व चयन गर्नका लागि पार्टी नेतृत्व, निर्देशक समिति तथा स्वयम् बिधार्थी प्रतिनिधि सक्रियता र इमान्दारिता पुर्बक लाग्नु जरुरि छ। यसैले नै नेविसंघ र तरुण दल जस्ता युवाबिधार्थीको प्रतिनिधित्व गर्ने भातृ संस्था बलियो र सुदृढ हुन्छ। सम्पूर्ण बिधार्थी तथा तरुण प्रतिनिधिहरुमा लोकतान्त्रिक प्रक्रियाबाट नयाँ सबल र बौद्धिक नेतृत्व चयनका लागि हार्दिक शुभकामना।
(लेखक नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री हुनुहुन्छ)