arrow

शहीद स्मारक लिगः हिमालयन शेर्पाको दोस्रो जित, च्यासललाई रेलिगेसनबाट जोगिने दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
a-divison-2021.jpg

काठमाडौं । पिस्टोन मुटुम्बाको दुई गोलको मद्दतमा हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । दशरथ रंगशालमा शनिबार भएको खेलमा शेर्पाले च्यासललाई हराएको हो ।

यसअघि ब्रिगेड ब्वाइजविरुद्ध ३–१ ले नै जित हात पार्दा गोल गरेका पिस्टोन मुटुम्बा र सुरेश कुमालले आज पनि गोल गरे । खेलको २५औँ मिनेटमा केन्याका खेलाडी मुटम्बाले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका हुन् । 

पहिलो हाफमा अग्रता कायम राखेको शेर्पाले दोस्रो हाफमा दुई गोल थप्दा च्यासलले एक गोल मात्र फर्काउन सक्यो । ५६औँ मिनेटमा मुटुम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन शेर्पाले अग्रता दोब्बर बनायो । जारी लिगमा मुटुम्बाको यो तेस्रो गोल समेत हो ।

 ७५औँ मिनेटमा च्यासलका रुमेश बर्तौलाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । तर, सुरेश कुमालले ८०औँ मिनेटमा गोल गरेपछि शेर्पाले ३–१ को सहज जित हात पारेको हो । कुमालले यो लगातार दोस्रो खेलमा गोल हो । 

लिगमा लगातार दोस्रो जित निकालेको हिमालयन शेर्पा अंकतालिकामा तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा समेत उक्लेको छ । हिमालयनले ६ खेलबाट ८ अंक जोडेको छ । 

उता, च्यासलले भने सिजनको चौथो हार बेहोरेको छ । जारी सिजन च्यासल धेरै हार बेहोर्ने टोली समेत बनेको छ । ६ खेलबाट ४ अंक रहेको च्यासल १३औँ स्थानमा रहँदै रेलिगेसनसँग संघर्ष गरिरहेको छ ।

लिगमा छैटौं चरणका खेलहरु सकिँदै गर्दा मनाङ्ग मस्र्याङ्दी क्लब ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मछिन्द्र क्लबको ५ खेलबाट ११ अंक छ । तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबको ५ खेलबाट ९ अंक छ । 

चोथो संकटा क्लबको पनि ५ खेलबाट ९ अंक नै छ । ५ खेलबाट ८ अंकको सातदोबाटो युथ क्लब पाँचौं तथा ६ खेलबाट ८ अंकको हिमालयन शेर्पा छैटौं स्थानमा छ । 

१४ टिम सहभागी प्रतियोगितामा च्यासल ४ तथा फ्रेन्ड्स क्लब ३ अंकसहित रेलिगेशनमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ