पहिलो पटक शहीद स्मारक महिला लिग हुँदै, नौ टिम सहभागी, पहिलो दिन दुई खेल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
791
Shares
काठमाडौँ । शहीद स्मारक महिला लिग फुटबलको पहिलो संस्करण आजदेखि शुरू हुँदैछ । कूल नौ टिमको सहभागिता रहेको लिगमा बुधबार पहिलो दिन दुई खेल हुँदैछन् ।
पहिलो दिन च्यासलमा दुई खेल हुनेछन् । एनआरटीविरुद्ध संकटा र आर्मीविरुद्ध झापा भिड्नेछन् । सहभागी हुने अन्य टिममा बागमती, पुलिस, एपीएफ, चर्च ब्वाइज र आएस पोखरा छन् । लिगको शुरूमा राउन्ड रोबिनको आधारमा एकअर्काविरुद्ध खेल्नेछन् ।
शीर्ष ६ टिम अर्को चरणमा प्रवेश गर्नेछन् । त्यसमा पनि राउन्ड रोबिनकै आधारमा खेलाइनेछ । त्यसपछि चार शीर्ष टिमबीच एक क्वालिफायर र दुई इलिमिनेटर हुनेछ। र, अन्त्यमा उपाधिका लागि फाइनल खेल हुनेछ ।
यसपटक प्रतियोगितामा ५५ खेल हुनेछन् । यस लिगमा एक टिम भने रेलिगेसनमा पर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणको खेल तालिकामात्र जारी गरेको छ। यो चरणको खेल च्यासल, दशरथ रंगशाला र एन्फा कम्प्लेक्स गरी तीन स्थानमा हुनेछन्।
यसपालि उपाधि भिडन्तमा तीनै विभागीय टिम हावी हुने देखिएको छ । यो प्रतियोगिता भारतको गोवामा हुने वुमेन्स साफ च्याम्पियनशिप तयारीको रूपमा पनि हुनेछ ।