arrow

ए डिभिजनमा आइतबार सरप्राइज प्रदर्शन, हारे उपाधि दावेदारहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
league-2079-.jpg

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आइतबार सरप्राइज प्रदर्शन भएको छ । उपाधि दाबेदारहरु मछिन्द्र क्लब र न्यूरोड टिम एनआरटी पराजित भएका छन् भने त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले बराबरी खेलेका छन् । 

साविक विजेता मछिन्द्र फुटबल क्लब नयाँ सिजनको पहिलो खेलमै पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

जावलाखेललाई जित दिलाउन हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक एक गोल गरे । मछिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए ।

शुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा मछिन्द्रले हार व्यहोरेको हो ।

यता, सातदोबाटो युथ क्लब विजयी भएको  छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा भएको खेलमा सातदोबाटोले न्यूरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । यता  एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए । 

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबारै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । यस बराबरीमा सँगै दुवै टोलीले पहिलो खेलमा १–१ अङ्क बाँडेका छन् ।

योसँगै लिगका पहिलो चरणका खेलहरु सकिएका छन् । पाँच खेलमा जितहार भएको छ भने दुई खेल बराबरीमा सकिएका छन् । जावलाखेल शीर्ष स्थानमा छ भने साविक विजेता मछिन्द्र क्लब पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ