arrow

हुम्ला फुटबल एकेडेमीबाट ‘सी डिभिजन छनोट’ मा सहभागी हुन सहयोगको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
humla-football-academy-82-7-15.jpg

हुम्ला । हुम्ला फुटबल एकेडेमीले अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा काठमाडौँमा मंसिर ५ गतेदेखि शुरू हुने शहीद स्मारक सी डिभिजन क्वालिफायर २०८२ फुटबल प्रतियोगितामा सहभागी हुने तयारी पूरा गरेको छ।

एकेडेमीले हामी सिङ्गो हुम्लाको प्रतिनिधित्व गर्दै खेल्नेछौं, हुम्लाका लागि खेल्नेछौं, जन्मभूमिको लागि खेल्नेछौं” भन्ने नाराका साथ राजधानीमा हुम्लाको झण्डा फहराउने लक्ष्यका साथ अगाडी बढेको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए ।

स्थापना कालदेखि नै एकेडेमीले सिमकोट–५ स्थित खेलमैदानमा महिला तथा पुरुष दुवै उमेर समूहका खेलाडीलाई निःशुल्क फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ । हालसम्म जिल्लाका २३ वटा विद्यालयहरुमा फुटबल वितरण गरेर बालबालिकामा खेलप्रतिको रुचि जगाउँदै आएको एकेडेमीले हुम्ला गोल्ड कप २०८० लगायतका विभिन्न अन्तर–विद्यालय प्रतियोगिताको आयोजना पनि गरेको छ ।

एकेडेमीका प्रशिक्षार्थी खेलाडीहरू हाल विभिन्न नामी क्लबमा खेलिरहेका छन्। जसमध्ये सिमकोट—१, दोजामका कन्जोक लामा मछिन्द्र फुटबल क्लबका कप्तानका रूपमा राष्ट्रिय फुटबलमा सक्रिय छन् । हाम्रा खेलाडीहरू राष्ट्रिय स्तरमा चम्किने सपना लिएर मिहेनत गरिरहेका छन् । यो यात्रा यही सी डिभिजन छनोट प्रतियोगिताबाट सुरु हुने अध्यक्ष रावतले बताए ।

रावतले हुम्लाको प्रतिनिधित्वका लागि हुन लागेको यो यात्रामा सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै भने, हाम्रा खेलाडीहरूलाई हौसला र सहयोग दिनुहोस्। यो यात्रा हुम्लाको पहिचान र गौरवसँग जोडिएको छ। 

यस अभियानलाई सफल बनाउनका लागि हुम्लाका राजनीतिक दलका प्रमुख, गाउँपालिकाका पदाधिकारी, जिल्ला खेलकुद विकास समिति, सामाजिक विकास कार्यालय, स्थानीय क्लब, व्यापारी, सञ्चारकर्मी तथा सम्पूर्ण हुम्ली जनसमुदायसँग सहयोगको अपिल गरिएको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ