arrow

महापुरुषसँगको संस्मरण

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ पुष २२ बिहिबार
Khaptad-Baba.jpg

लगभग ९ दशक अघि भारतको काश्मीरमा शरीर धारणा गरेका एक सन्त पुरुष नेपाल प्रवेश गरेका थिए । ती पुरुषले चरिकोट आदि नेपालका विभिन्न ठाउँमा साधना गर्दै समय बिताएका थिए । 

त्यस मध्ये उनले खप्तड लेकमा लगभग ५ दशक तपस्यामा बिताए । त्यसपछि उनलाई खप्तड बाबा भनिन थालियो । उनले दक्षिण भारतको श्रृंगेरी मठमा संन्यास लिएका थिए । उनलाई त्यस बखतदेखि सत्चितानन्द सरस्वतीको नामले विभूषित गरिएको थियो ।  

यद्यपि महापुरुषहरू भौगोलिक सिमानामा बाँधिनु हुन्न, तैपनि व्यवहारमा भने भौतिकताको आवश्यकता देखिन्छ नै । खप्तड लेक बझाङ, बाजुरा तथा डोटी जिल्लाको सङ्गममा पर्दछ । यो लेक समुद्र सतह देखि करिब तीन हजार दुई सय मिटर उचाइमा रहेको छ ।

सुनिए अनुसार उहाँ पेशाले चिकित्सक हुनुहुन्थ्यो । आफ्नो कर्तव्य गर्दा उहाँले मृत भनेर घोषित गरेको व्यक्ति पुनः तन्दुरुस्त भएर आएपछि उहाँमा वैराग आएछ र भौतिक संसार भन्दा माथि पनि कुनै तत्त्व रहेछ भनेर त्यसको खोजमा लाग्नु भएर योगीको रूपमा विचरण गर्नु भएको रहेछ ।
  
नेपाल बसाइँका उहाँलाई भेट गर्न जाने व्यक्तिहरूको सङ्ख्या निकै नै सुनिन्छ । यस पङ्क्तिकारले लगभग ४० वर्ष अघि पशुपति क्षेत्रमा श्री खप्तड बाबाको सान्निध्य पाएको थियो । 

उहाँ  ”हेर बाबु, संसारमा राम्रा कुरा पनि छन् जसले मानिसले आफ्नो जिन्दगीलाई उज्यालो तर्फ डोर्‍याउन पनि सक्छ, खराब कुराहरू पनि हुन्छन्, जसले मानिसलाई अँध्यारो तर्फ लैजान पनि सक्छ, त्यसैले विवेकले राम्रा कुराहरू ग्रहण गर्नु, नराम्रा कुरालाई त्याग गरिदिनु ” भन्ने जस्ता अमूल्य उपदेशहरू दिनुहुन्थ्यो ।
 
उहाँले विचार विज्ञान, धर्म विज्ञान, आरोग्य विज्ञान, म र मेरो कर्तव्य जस्ता केही पुस्तक लेख्नु भएको छ । जसलाई अध्ययन गर्नाले मनुष्यले आफूलाई भौतिकतामा मात्र सीमित नराखी आध्यात्मिक यात्रामा पनि लाग्न प्रेरित गरेका छन् । 

उहाँको भौतिक शरीरको अन्त्य २०५३ सालमा भएपछि उहाँको शरीरलाई बुढानीलकण्ठको उत्तर तर्फ समाधिस्थ गरि मन्दिर बनाइएको छ ।

 (तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com   



नयाँ