arrow

कथाः अघि रातिको उत्सव

logo
जयप्रसाद शिवाकोटी, 
प्रकाशित २०७८ पुष २४ शनिबार
jay-prasad-shiwakoti-lekhak.JPG

पहाडको घर छोडेर यहाँ स्थानान्तरण भएको पनि दशकौं भएछ । आफू जन्मिएको घर साँच्चै नै स्वर्गको टुक्रा थियो । अझै श्रद्धेय भएर मन मुटुमा बसिरहेको छ। बाख्रा चराउन जाने पारिलो फागुने, सेताम्मे हिउँसँगै  गोसाथुम्कीमा बुबाले पकाएको चौरीको बिघौती, लात्ते भकुण्डो खेल्नै परे पनि खेलाडी सापटी माग्नु नपर्ने ठूलो परिवार, भटमास भुट्दा होर्लाङ्गेबाट उछिट्टिएर गुन्द्री  मुनि खसेको खोज्ने प्रतियोगिता र भेट्टाए पेलेले सुनको बुट पाएजस्तो खुशी मनाएको पल ! हरेक सूक्ष्म कुरामा कति धेरै खुशी र रमाइलो लुकेको थियो ।  
 
दायाँ –बायाँ नगरी सीधै आज रातिको कथातिर लागौं । जोत्दा जोत्दै राटो रहे जस्तो मेरो परिवारको कथा ।
   
हामी (म र श्रीमती) यो घरमा बस्न थालेको दशकौं भएछ । यति भीमकाय घर भए पनि घरमालिक खै किन हो हाम्रो सामुन्नेको कोठामा बस्छन् भाउजु र नानीहरुसँग ।

उनी हाम्रो घरमालिक मात्र नभएर एक असल छिमेकी पनि हुन् । कहिलेकाहिँ हाम्रोमा नून सकिँदा भाउजूसँग नूनसँग मुस्कान पैचो लिन्छौं ।

हामी यहाँ आएदेखि हरेक अंग्रेजी वर्षको अन्तिम दिन नवजात शिशुको खुशीयाली मनाउँछन् उनीहरु । ठम्याएसम्म जेठा माहिलादेखि पानी जन्तरे यसरी नै सम्बोधन गर्छु म पनि । हामी निसन्तान नै त हैनौं ।  

तर साथमा नभएपछि उनै पानीमन्तरेहरुलाई हाम्रा छोराछोरी सरह गन्छौं ।
  
हरेक वर्ष नियमित जस्तै भैसकेको थियो नव आगन्तुकको स्वागतको निम्ति उनीहरु कुनै कसर बाँकी नराखी तयारीमा जुटेका थिए । 

छिमेकीमा नयाँ आगन्तुक आउने भएपछि स्वाभाविक हामी हर्षित थियौं । 

मेरी श्रीमती यस्तो काममा अलिक बढी नै रुची राख्ने हुँदा राति १० बजेअघि नै छिमेकीको तिर लागेकी अहिलेसम्म अत्तोपत्तो थिएन । 

एक्लो पनलाई शान्त पार्न पुरानु एल्बम निकालेँ । 

पहिलो पन्नामा आधाउधी चिनिने म सानो हुँदाको फोटो रहेछ । मेरो दायाँ बुबा हुनुहुन्थ्यो । बायाँ आमा । मलाई  ठम्याउन गाह्रो परेन मेरो कुनै जन्मदिनको हुनुपर्छ । 

यत्तिकैमा भित्ताको घडीले रातको १२ बजेको संकेत आवाजमा दियो । त्यति हेरें । घडीबाट आँखा हटाउन नपाउँदै नव....को तपाईलाई शुभकामना ! भन्दै श्रीमती भित्र छिरिन् । म अक्क न बक्क परेँ । 

अन्योलताबीच उनको खुशीको उत्कर्षलाई साथ दिन मैले पनि अनायासै ‘शुभकामना’ भनिदिएँ ।  

उनी यति धेरै खुशी थिइन् मानौं त्यो सन्तान छिमेकीको नभएर उनी र मेरो हो । 

त्यसको नेप्टो परेको नाकदेखि भविश्यमा डाक्टर बन्छ सम्मका बखान एउटै स्वासमा बर्णन गर्दै थिइन् । 

तर मलाई कता कता असमान्जस्य महसुस भैरहेको थियो ।

भलै बच्चा छिमेकीको जन्मियो हामी खुशी हुनु स्वाभाविक हो । 

तर छिमेकीको बच्चा जन्मिदा मेरो श्रीमतीले मलाई किन शुभकामना दिने ? शुभकामना त हामीले उनीहरुलाई पो दिने त ? 

भलै जेठो, माइलो, पानीमंतरेकै सहयोगमा हामीले हाम्रा धेरै कामहरु फत्ते गर्नुपर्छ र गर्यौं पनि । 

तर छिमेकीको सन्तान जन्मदा उनीहरुलाई शुभकामना दिनुपर्नेमा मेरी श्रीमतीले मलाई शुभकामना दिन उचित होला ?

शुभकामना र संवेदना आपसी घनिष्टता भएका शब्दकोशको प्रयोग जहाँ पनि र जसरी पनि गर्न मिल्ला र रु 

मानौं तपाईको छिमेकी बित्नुभयो । मैले आएर तपाइलाई सान्त्वना दिने कि छिमेकीको परिवारलाई ?

छिमेकमा बच्चा जन्मियो मैले आएर तपाईलाई बच्चा जन्मिएकोमा बधाई छ है भन्दा लाग्ने अर्थको परिणाम पछिको कुरा हो । तर भन्न सुहाउला ?

मेरो मन धरातलको गहिराइतिर डुबुल्की मार्दै थियो । उनको खुशीको छालले सुनामी । 

यत्तिकैमा उनको उमंगको बेगमा कतैबाट एउटा कम्प्युटर लिखित कागज उडेर आयो ।  

उनैले उठाइन् । मेरो हातमा राखी पुनः आफ्नु उमंगमा तरंगिन थालिन् । 

मैले त्यो कागज हेरेँ । 

उनको नाम लेखिएको चिकित्सकको पर्ची रहेछ । 

जसमा हाम्रो नवागन्तुक (हाम्रो नयाँ सन्तान) आउने मिति बिहीबार १४ अप्रिल लेखिएको रहेछ । 

म अचम्ममा परेँ त्यो बेला कसलाई दिने शुभकामना ? 

 छिमेकीको बच्चा जन्मदा मलाई शुभकामना दिने मेरी श्रीमतीलाई दिने कि छिमेकीलाई ? 

मेरो बच्चा जन्मिएकोमा तपाईलाई शुभकामना भन्ने ?

(कथाकार मध्य युरोपको स्लोभाक गणराज्यमा बस्छन्) 



नयाँ