- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरीघाट । श्री शिवपुरी बाबासँग एक जनाले प्रश्न गरेका थिए । उनको प्रश्न यस प्रकार थियो, बाबा, हामी संसारमा हामीले चिताएको सबै कुरा पूर्ति होस् भन्ने सोच्तछौं तर कहिले पनि पूर्ति गर्न सक्दैनौं । किन होला ?
श्री बाबाको उनलाई जवाफ थियो, संसारले हामीले मागेको सबै वस्तु दिनै सक्दैन । हामीहरू यही जीवनमा सबै कुरा पूर्ति होस् भन्ने चाहन्छौँ । यहाँका वस्तुहरू कुनै पनि दिगा छैनन् र आनन्ददायी पनि छैनन् । मायाले हामीलाई यसरी अँठ्याएको छ कि हामी हाँसो चाहन्छौँ तर बढी आँसु नै पाउँछौँ । सुखभन्दा बढी दुःख पाइन्छ, जसरी कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि सोझो हुनेवाला छैन, त्यस्तै संसारबाट पनि हामीलाई केही मिल्ने वाला छैन।
संसारले हामीलाई लात हान्छ, जसले गर्दा हाम्रो दाँतबाट रगत बग्न थाल्छ। त्यस बखतमा हामी केही समयसम्म विरक्त पनि हुन्छौँ । केही समयपछि नै त्यो विरक्तता हामीबाट हटेर जान्छ र हामी फोरे संसारमै लुटपुट गर्न थाल्छौँ । यो क्रम आजको जुनीमा मात्र होइन, हिजोको जुनीमा पनि थियो र भोलिको जुनीमा पनि भइरहन्छ। त्यसैले संसारमा रहेर परमात्मा-दर्शन गर्नुहोस् र जीवन मरणको चक्करबाट पार हुनुस्।
महाभारतमा युधिष्ठिरलाई यक्षले आश्चर्य के हो? भनी गरेको प्रश्नमा युधिष्ठिरले दिएको जवाफ अहन्यहनि भूतानि गच्छन्ति यममन्दिरम् । शेषाः स्थिरत्वमिच्छन्ति किमाश्चर्यमतःपरम् । (दिन दिनै प्राणीहरू यमराजको घरमा जाने देख्दादेख्दै पनि बाँचेका प्राणीहरू सबै बाँचिरहने इच्छा गर्दछन् । योभन्दा आश्चर्य के हुन सक्छ ?) तपाईँमा पनि यस्तै प्रकारको वैराग्य जागृत हुनुपर्छ । बाहिरी रूपको वैराग्यले केही काम लाग्दैन ।
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com