पटक पटक स्थगित हुँदै आएको नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन फेरि सँघारमै आइपुगेको छ। तथापि विगतलाई हेर्ने हो भने महाधिवेशन उद्घाटन नहुँदासम्म महाधिवेशन हुने कुरामा विश्वस्त हुन सकिने अवस्था छैन। एजेण्डाहरूमा बहस सुरु हुनुपर्ने यो समयमा महाधिवेशन नै हुने नहुने अन्यौलमा नेता, कार्यकर्ता रहेका छन्। तर यथार्थ के हो भने महाधिवेशन गर्नुको विकल्प ने.वि.संघको वर्तमान नेतृत्व र माउ पार्टी काँग्रेससँग छैन। अन्यथा गौरवपूर्ण इतिहास बोकेको संगठनको भविष्य माथि नै प्रश्न उठ्ने देखिन्छ।
आठ बर्षदेखि अधिवेशन हुन नसक्दा थुप्रै अग्रज नेताहरू माउ पार्टी काँग्रेसको केन्द्रीय तहमा स्थापित भैसक्नुपर्नेमा दुई पुस्ताहरु प्रतिस्पर्धामा होमिनुपर्ने बिडम्बना र बाध्यताको दृश्य यतिखेर ने.वि.संघमा देखिन्छ। २० देखि करिब ४० वर्षसम्मको उमेर समुहका सयौँ विद्यार्थीहरू केन्द्रीय समितिमा दाबी गर्दै चुनावी प्रचारप्रसारमा होमिएका छन्। केन्द्रीय अध्यक्षमा मात्रै दर्जन भन्दा बढीको दाबी छ। यस्तै उपाध्यक्ष, महामन्त्री र सह–महामन्त्रीमा उम्मेद्वारी दिन लागेकाहरूको संख्या पनि कम छैन। यो परिस्थितिमा नेताहरू एजेण्डाहरूको बहसमा लाग्नुभन्दा पनि विभिन्न समुहको प्यानलमा अटाउनकै लागि दौडधुप गरिरहेका छन्। अर्को कुरा, अहिलेसम्म विधानले समेत अन्तिम रूप पाउन सकेको छैन। यिनै अन्यौलकाबीच ने.वि.संघले अब तय गर्ने बाटो कस्तो हुने, शैक्षिक, राजनैतिक तथा सामाजिक क्षेत्रको सकारात्मक रूपान्तरणको लागि आफूलाई कसरी तयार बनाउने भन्ने प्रश्नमाथि बहस हुन सकिरहेको छैन, तर बहस जरुरी छ।
हिजोका दिनमा देशमा राजनैतिक परिवर्तनको खातिर विद्यार्थी संगठनहरू जन्मिए र हरेक राजनैतिक परिवर्तनमा युवा विद्यार्थीको अहम् भूमिका रह्यो। आज देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ। हिजोको विद्यार्थी राजनीति यिनै परिवर्तनको लागि राजनैतिक आन्दोलनमा होमियो। तर तत्काल अब देशमा अर्को राजनैतिक आन्दोलनको आवश्यकता नदेखिएको हुँदा अब विद्यार्थी संगठनहरू शैक्षिक र सामाजिक मुद्दाहरूमा केन्द्रित हुन जरुरी छ। बदलिँदो परिवेशसँगै हिजोको विद्यार्थी राजनीतिसँग आजको विद्यार्थी राजनीति फरक हुनु आवश्यक छ। विद्यार्थी संगठनहरूको सबैभन्दा ठुलो समस्या के हो भने तिनीहरू माउ पार्टीका हरेक कदमका पछाडि अन्धभक्त भएर दौडन्छन्। सजिलै नेताहरूको मतियार बन्न तयार हुन्छन् । त्यसरी पिछलग्गु बन्नुपूर्व पार्टीले अंगिकार गरेका नीतिहरू साँच्चै देशका लागि लाभदायक छन् कि छैनन् विद्यार्थीहरूले सोच्नुपर्छ। पार्टीका गलत कदममा खबरदारी गर्न सक्नुपर्छ। देशको भविष्य युवापुस्ताकै हातमा भएको हुँदा देशलाई समृद्धिको बाटोतर्फ कसरी दोहोर्याउने भन्ने कुरामा सचेत पहलकदमी रहनुपर्छ। खासमा भन्नुपर्दा विद्यार्थी संगठनहरू क्रियाशील र रचनात्मक बन्नुपर्छ र त्यही ढंगले शैक्षिक तथा राजनैतिक मुद्दाहरूलाई अघि बढाउनुपर्छ।
हिजोका राजनैतिक आन्दोलनको समयमा सडकको अग्रमोर्चामा रहने ने.वि.संघ अब प्राज्ञिक आन्दोलनको अगुवाई गर्न तयार हुने कि नहुने ? वर्तमान पुस्तामा नै व्याप्त रहेको राजनीतिप्रतिको चरम वितृष्णाको जरो उखलेर उनीहरूमा सकारात्मक तरंग सञ्चार गर्ने बाटोतर्फ ने.वि.संघले आफूलाई हिँडाउने कि नहिँडाउने ? यो अहिलेको सबैभन्दा महत्वपूर्ण सवाल हो, जुन दूरगामी र प्रभावशाली छन्।
दूषित राजनीतिक माहौललाई स्वच्छ बनाउने जोस, जाँगर र सङ्कल्प युवापुस्तामा रहनुपर्छ। अझ बिद्यार्थी भनेका त परिवर्तनका संवाहक हुन्, विकासका संवाहक हुन्। विगत र वर्तमानबाट पाठ सिक्दै ने.वि.संघले आफैलाई पनि रूपान्तरण गर्न गर्नुपर्छ र सक्नुपर्छ। अबको ने.वि.संघको नेतृत्व एकाबिहानै नेताको दैलोमा चाकडी गर्न पुग्ने होइन, आम विद्यार्थीको समस्याहरूसँग साक्षात्कार गर्न पुग्नुपर्छ। गुण्डागर्दीलाई निस्तेज पार्दै सुरक्षित समाजको निर्माणमा तल्लीन हुनुपर्छ। विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न विश्वविद्यालयहरूको गुणस्तर वृद्धिमा जोड दिने खालको हुनुपर्छ। हातमा डिग्रीको प्रमाणपत्र बोकेर रोजगारीका लागि खाडी मुलुक जानुपर्ने विडम्बनाको अन्त्य गर्नतर्फ अग्रसर हुनुपर्छ। राजनीति कमाई खाने भाँडो नभई समाजसेवा हो भन्ने आभास आम जनतालाई दिलाउन सक्नुपर्छ। भ्रष्टाचार मुक्त समाज निर्माणमा लाग्नुपर्छ। समग्रमा भन्ने हो भने शैक्षिक, सामाजिक तथा राजनैतिक कुसंस्कार र कुरीतिको अन्त्य र आमजनातामा रहेको चरम निराशालाई आशा र विश्वासमा बदल्ने सोच, योजना र सक्रियता ने.वि.संघले देखाउन आवश्यक छ। यदि समयको माग र देशको आवश्यकता नबुझी पुरानै ढर्राबाट संगठन चलाउने हो भने समृद्ध देशको सपना देख्नु व्यर्थ हुनेछ। ने.वि.संघको आगामी नेतृत्वको लागि दाबी गर्नेहरूले यी कुरा मनन गर्नैपर्छ।
(पूर्व उपाध्यक्ष, प्राविधिक विद्यार्थी परिषद्)