arrow

अस्पतालमै शिशु र आमाको मृत्यु अझै उठेन शव

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ माघ १० सोमबार
humla-hospital-ventilator.jpg
तस्बिर– फाइल

हुम्ला । चार दिन अगाडि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको मृत्यु भएपछि अहिलेसम्म शव उठ्न सकेको छैन । शल्यक्रिया गरेको एक दिनमा नवजात शिशु र अस्पतालमै उपचाररत आमाको तीन दिनपछि मृत्यु भएको हो । 

स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको प्रसूति गृहकी इन्चार्ज वरिष्ठ अनमी सरिता बोहराले नवजात शिशु र आमाको दुई दिनको अन्तरमा मृत्यु भएको जानकारी दिइन् । सिमकोट गाउँपालिका ५ की सलिना सार्कीको शल्यक्रियापछि मृत्यु भएको हो । 

मृतकका ससुरा धनसिंह सार्कीले मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेर घरमा बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्लामा ल्याएको अस्पताल श्रोतले बताएको छ ।शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक समस्या देखिएको थियो । 

जिल्ला अस्पताल प्रशासनले उपचारका लागि गरिएको प्रयास असफल भएको बताएको छ । उद्धारका लागि हेलिकप्टर बोलाए पनि राति भएकाले तत्काल हेलिकप्टर पुग्न नसकेको अस्पतालले जनाएको छ ।

चन्दनाथ नगरपालिका ८ कोटिला गाउँमा रहेका माइती पक्षले आफ्नो उपस्थिति बिना शव नउठाउन आग्रह गरेपछि अस्पतालमै राखिएको छ । प्रहरी नायव उपरीक्षक हरेम्ब शर्माले प्रहरीले माइती पक्षलाई बोलाएर शव उठाउने तयारी भएको बताए । 

माइती पक्षले आफ्नो छोरीको मृत्यु भएको विषयमा बुझेरमात्र शव उठाउन दिने जनाएका छन् । हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियाबाट बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो । 

हिमपातका कारण जुम्लाबाट मृतकका बाबु हुम्ला आउन नसक्ने भएकाले छोरीको शव उठाए फरक नपर्ने र माइती पक्षबाट कुनै किसिमको बाधा अड्चन नहुने भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामार्फत मन्जुरीनामा पठाएकाले पोष्टमाटम गरेर सम्भवतः आजै शव उठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ