arrow

सत्कर्मको बिउ

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ माघ १३ बिहिबार
sivapuri-baba.jpg

श्री शिवपुरीबाबा जिज्ञाशु हरूलाई वेला मौकामा दृष्टान्त दिएर सम्झाउनु हुन्थ्यो । उहाँका उपदेशहरू सुन्दा साधारण कुराहरू जस्ता हुन्थे तर त्यसको परिणाम भने पछिसम्म लाभदायी भएर जीवनमा उतार्न सजिलो नै हुन्थे । 

एक दिनको कुरा हो, उहाँका सेवक माधव उहाँको सेवामा लागि रहनु भएको रहेछ । त्यो जाडो महिनाको दिन थियो । प्रसङ्ग चल्दै जाँदा खाली जमिन देखाएर आज्ञा भएछ, 'हेर माधव, वर्षा याममा यही जमिन अनेक प्रकारका, झ्याउ, घाँसहरूले ढकमक्क भएको थियो, अहिले चिसोले गर्दा जमिन बाहिरका सबै मर्न गए तर जमिन भित्र घुसेको बिउ मरेको छैन र वर्षायाम शुरु हुन थालेपछि यही जमिन बिस्तारै हरियो बन्दै जान्छ त्यसैले मनुष्यले सत्कर्म गर्न पछि पर्नु हुन्न' आज्ञा भएछ । 

जसरी जमिनमा रोपेको बिउले समय आएपछि फल दिन्छ त्यसरी नै एक पटक रोपेको सत्कर्मको बिउले प्रकट नभएर पनि जीवनभर राम्रो फल दिइरहेकै हुन्छ । 

यसै प्रसङ्गमा एउटा चर्चा यहाँ गर्न लागेको छु । एक पटक एउटा महात्मा यात्रामा गइरहनु भएको वेलामा एक वृद्ध किसानलाई आफ्नो खेतमा खाडल बनाइरहेको देख्नु भएछ । उहाँले किसानलाई तिमी किन यो खाडल खनिरहेका छौ भनेर सोध्नु भएछ । किसानले खाडल नजिकै रहेको एउटा फलको बिरुवालाई हातमा लिएर महात्मालाई, 'हे महात्मा, म यो खाडलमा यही बिरुवा रोप्न लागेको हुँ' भन्ने जवाफ दिएछन् । 

महात्मा छक्क पर्नुभएछ र उनलाई 'तिमी यति बुढो पनि भइसक्यौ, यो बिरुवा कहिले बढ्ने, कहिले यसले फल दिने हो भनेर फलको आशाले रोप्न लागेका त?' भनेर प्रश्न पनि गर्नुभएछ । 

उहाँको प्रश्नको उत्तर दिँदै किसानले भनेछन्, 'हे महात्मा यो फल दिने वृक्षको बिरुवा हो । हेर्नुस्, मेरा पुर्खाहरूले रोपेका हुनाले म यी रुखले दिएका फल खाएर गुजारा गर्दै छु । मैले अहिले रोपेको बिरुवाको फल मैले खान नपाए पनि पछि छोरा नातिको पालामा फल दिने हुन्छ र यसै वाट उनीहरूले पाठ सिक्नेछन् र यो क्रम पछि सम्म चलेर जानेछ' भन्ने जवाफ दिएछन् । 

महात्मा उनको उत्तरबाट प्रसन्न भएर उनलाई ल त परमात्माले तिम्रो इच्छा पूरा गरिदिउन् भन्ने आशीर्वाद दिएर आफू कुटी तिर लाग्नुभएछ ।

 (तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com 



नयाँ