arrow

लोसपामा चरम विवादः ठाकुर र महतोको छुट्टै गुट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
mahant-thakur-rajendra-mahato.jpg
तस्बिर– फाइल

काठमाडौं । ६ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी अहिले भद्रगोल अवस्थामा छ । पार्टी गठन भएदेखि अहिलेसम्म एक पटक पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।
 
निर्वाचन आयोगमा शुरुमा दर्ता गराइएको कार्यकारिणी समिति बाहेक लोसपाले अहिलेसम्म कुनै समिति गठन गर्न सकेको छैन । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति मात्र होइन, भ्रातृ संगठनहरु पनि गठन भएका छैनन् ।

पार्टी स्थापना भएको ६ महिनामै पार्टीभित्र चरम विवाद शुरु भएको छ । एउटा पक्षको नेतृत्व महन्थ ठाकुरले गरेका छन् भने अर्को पक्षको नेतृत्व राजेन्द्र महतोले गरेका छन । महतोलाई थाहा नदिइ ठाकुरले मधेस प्रदेशको संयोजकमा जितेन्द्र सोनललाई नियुक्त गरेपछि पार्टीभित्रको विवाद बाहिर छताछुल्ल भएको हो ।

लोसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । दलको नेता हुन ठाकुर र महतो दुवैले चाहना राखेका छन् । दलको नेता चयन नभए पनि ठाकुरले उमाशंकर अरगरैयालाई प्रमुख सचेतकको जिम्मा दिएका छन् । 

त्यो पनि पार्टीको लेटरप्याडमै ठाकुरले हस्ताक्षर गरेर अरगरैयालाई प्रमेख सचेतकमा मनोनयन गरेका छन् । दलको नेता चयन भएपछि उक्त नेताले प्रमुख सचेतक मनोनयन गर्ने नियम छ । तर ठाकुरले दलको नेता चयन नभएरै अरगरैयालाई प्रमुख सचेतकमा मनोनयन गरेका छन् ।
  
‘नेतृत्वको अकर्मण्य र निष्कृयताले पार्टीमा चरम निराशाको अवस्था आएको छ’ महतो निकट नेता तथा कार्यकारिणी समितिका सदस्य राजिव झाले भने, ‘यहाँसम्म कि, न्यूनतम लोकतान्त्रिक विधि र प्रक्रियासमेत नेतृत्वले उल्लंघन गर्ने गरेको छ ।’  प्रष्ट छ, झाले ठाकुरलाई इंगित गरेका हुन् । 

ठाकुरले गरेको मनोयनविरुद्ध अघिल्लो महिना महतो निकट नेताहरु काठमाडौं आएर पार्टी कार्यालयमै घेराबन्दी गरेका थिए । 

लोसपा स्रोतले भन्यो, ‘अहिले ठाकुर र महतोबीच यस्तो विवाद छ कि यी दुई नेताबीच बोलचालको अवस्थासमेत छैन । जनता समाजवादी पार्टी विभाजन हुनुअघि ठाकुर, महतो पक्षका नेताहरु भक्तपुरमा गइ महतोलाई दलको नेता चयन गरेको घोषणा गरेका थिए । त्यसपछि जसपाको विवादले उग्र रुप लिएको थियो । 

यीलगायत विषयमा विवाद बढ्दै गइ जसपा विभाजित भयो । विभाजनपछि ठाकुर, महतो लगायतका नेताहरुले लोसपा गठन गरे । लोसपा गठनपछि पनि महतोलाई दलको नेता चयन गर्ने ठाकुर पक्षधरहरुको निर्णय यथावत् रहेको महतो निकट नेताहरुको भनाइ छ । तर नयाँ पार्टी गठन भइसकेपछि जसपामा भएको बेला गरिएको निर्णय अब कार्यान्वयन हुन नसक्ने ठाकुर निकट नेताहरुको दाबी छ । 

दलको नेता कसलाई चयन गर्ने भन्ने विषयमा विवाद बढ्ने भएपछि लोसपाले अहिलेसम्म संसदीय दलको विधानसमेत बनाएको छैन । 

राजिब झाले भने, ‘हामीसित सँगसँगै गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले देशभर संगठन बनाइसक्यो । तर हामीले भने केन्द्रीय समिति पनि बनाउन सकेका छैनौं ।’ नेतृत्वको असक्षमताको कारण यो अवस्था आएको उनको विश्लेषण छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ