arrow

सन्त रविदास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
ravidas-ji.JPG

सन्त रविदास महापुरुषहरू मध्ये एक हुन् । सन्त रविदासलाई जयदेव, नामदेव र गुरु नानक जस्ता महान् ऋषिहरूको निरन्तर परम्पराको महत्त्वपूर्ण कडीको रूपमा चिनिन्छ। उनी आत्मा ज्ञानी साधक थिए । उनले आफ्नो आध्यात्मिक वचनहरूद्वारा सम्पूर्ण विश्वलाई आत्मज्ञान, एकता, भ्रातृत्वमा जोड दिए। 

आज गुरु रविदासजीको जन्मजयन्ती हो । माघ शुक्ल पूर्णिमालाई सन्त रविदासको जन्म जयन्तीका रूपमा मनाइन्छ । सन्त रविदासको जन्म मितिलाई लिएर इतिहासकारहरूमा मतभेद छन्। गुरु रविदासको जन्म १३७७ मा उत्तर प्रदेशको वाराणसीमा भएको मानिन्छ। सन्त रविदास जीको पिताको नाम रघु र आमाको नाम घुर्विनिया थियो।

जगतगुरु रविदास जीको अनुपम महिमा देखेर धेरै राजा-रानीहरू उनको शरणमा आएर भक्ति मार्गमा लागे। समाजमा फैलिएको जातीय विकृतिको अन्त्यका लागि जीवनभर काम गरे । सन्त रविदासको व्यक्तित्व यति सरल र प्रभावशाली थियो कि कबिरदासले पनि उनलाई ‘सन्तनमा रविदास’ भनेर सम्बोधन गरेका छन् । उनलाई कबीरदासको गुरुभाई पनि भनिन्छ। मीराबाई, चित्तौडका सम्राट् राणा साँगा र उनकी पत्नी सबै उनका अनुयायी थिए ।

गुरु रविदासबाट प्रभावित भएर मीराबाईले उनलाई आफ्नो गुरुको रूपमा स्वीकार गरेकी थिइन् । रविदास गरिब थिए तर उनीमा गरिबी थिएन । उनी प्रसन्न मुद्रामा संसारमा विचरण गरे । एक समयको कुरा हो । 

काशी गङ्गा नदीको किनारमा मीराबाईका गुरु रैदासजी (रविदास) को एउटा सानो झुपडी थियो । त्यसमा उनी आफ्नी पत्नीको साथ बस्थे अनि झुपडीको बाहिर बसेर जुत्ता सिलाउँथे। मानिसहरूको जुत्ता सिलाएर जे-जति पैसा मिल्थ्यो, त्यसैले आफ्नो जीवन निर्वाह गर्थे ।

एक दिन एक साधु रैदासको झुपडीमा पुगे। साधुले रैदासजीको गरिबी देखेर आफ्नो झोलाबाट एउटा पत्थर निकालेर भने, 'यो पारस पत्थर हो, फलामलाई सुन बनाउँछ।' यति भनेर साधुले एउटा फलामको टुक्रा उठाए अनि त्यसलाई सुन बनाएर देखाए।

रैदासले भने, 'महाराज! आफ्नो यो पारस पत्थर आफूसँग राख्नुहोस् । मलाई चाहिएन । आफ्नो मेहनतले मलाई जति मिल्छ, त्यही हामी दुई जीवको लागि काफी हुन्छ। पसीनाको कमाइको आफ्नै आनन्द हुन्छ।'

तर साधुले जब आग्रह गरिरहे, तब रैदासले भने, 'स्वामीज्यू! तपाईँले यो पारस लगेर राजालाई दिनुहोस् । राजा एकदमै गरिब छन्, उनलाई सधैँ पैसाको जरुरत परिरहन्छ वा त फेरि लगेर त्यो गरिब मन भएको धनीलाई दिनुहोस्, जो दिन-रात धनको पछाडि लागिरहन्छ।'

यति भनेर रैदासजी जुत्ता सिलाउन थाले । साधु सानो मुख लिएर त्यहाँबाट प्रस्थान गरे।



नयाँ