arrow

दुई घडी आयुका राजा खट्वांग

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ फागुन १२ बिहिबार
king-khatwang.jpg

शिवपुरी बाबासँग एक भक्तले बाबा, अरू सांसारिक प्राणी र मनुष्यमा के फरक छ भनेर सोधेका थिए । त्यसको जवाफमा श्रीबाबाले अरू प्राणीको जीवन भोग भूमि हो । आहार, निद्रा, मैथुन आदिमा मात्र अरू प्राणीहरू समय बिताइ रहेका हुन्छन् । मनुष्य जीवन कर्मभूमि हो । 

मनुष्यले आफ्नो कर्म अनुसार फल पाउँछन् र त्यही फल भोग्दै जीवन बिताउँछन् र एक दिन शरीर पनि छोड्दछन् ।  तर यही जीवनमा जन्म मृत्युको चक्करबाट मुक्त हुने मौका पनि पाइन्छ । परमात्मा दर्शन गरेर संसार सागरबाट पार पाउन सकिने पनि यही मनुष्य जीवन हो भन्ने जवाफ दिनु भएको थियो ।

यसै प्रसङ्गमा उहाँले राजा खट्वांगको उदाहरण दिँदै उनले जन्म लिनु नै नरकमा पर्नु हो भन्ने कुरा बुझेर परमात्मामा दर्शन पाएको प्रसङ्ग बताउनु भएको थियो । आज तीनै राजा खट्वांगका बारेमा केही चर्चा गर्न लागिएको छ । खट्वांग सगर वंशका थिए । यिनको बाबुको नाम विश्वसह थियो । खट्वांग चक्रवर्ती राजा थिए । यिनी शरणागतका रक्षक थिए । देवासुर सङ्ग्राम भइरहेको वेलामा देवताहरू आवश्यक परेको वेलामा यिनको मद्दत लिन्थे ।

 एक पटकको कुरा हो, देवताहरुको मद्दतका लागि यिनी स्वर्गमा गएका थिए । यिनीसँग खुशी भएर देवताहरूले आफूले चाहेका वर माग्न आग्रह गरे । देवताहरू सांसारिक भोग आदिको मात्र वरदान दिन सक्ने तर पारमार्थिक भोगको वरदान दिने क्षमता उनीहरूमा नभएको कुरा यिनलाई थाहा थियो । 

उनले देवताहरुको आग्रहलाई नकार्न पनि सकेनन् र यदि आफ्नो आयु लामो छ भने लौकिक वरदान माग्ने र मृत्यु कहिले आउने हो, कुनै ठेगाना न भएकोले पारलौकिक वरदान माग्ने भन्ने अठोट गरे र देवताहरूलाई आफ्नो आयु कति छ बताइदिन आग्रह गरे । 

देवताहरूले उनलाई उनको आयु दुई घडी मात्र बाँकी भएको कुरा बताए । देवताहरुले यसरी दुई घडी मात्र आयु बाँकी भएको कुरा सुनेपछि उनले भैगो यी क्षणभङ्गुर सुख  लिएर के काम त्यसैले हरि भजन गरेर समय बिताउन पृथ्वीमा नै पुर्‍याइदिन आग्रह गरे । 

नभन्दै उनी गङ्गा किनारमा गएर पवित्र आसनमा बस्दै परमात्मामा लिन भए र शरीर कहिले कति वेला छुट्यो यिनलाई थाहा नै भएन । अस्तु ।


(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com  



नयाँ