arrow

जापानी सम्राटले भने - राजगद्दी सम्हाल्न सक्दिन

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
Emperor-Akihito.jpg.jpeg
टोकियो। वर्तमान जापानी सम्राट आकिहितोले आज आमजनताका नाममा एक भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वास्थ स्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । क्षीण हुँदै गएको जर्जर शरीर र दुर्वलताका कारण राष्ट्रको प्रतीक राजसिंहासनको कर्तव्य निर्वाह गर्न सम्भव नभई गद्दी परित्याग गर्नसक्ने समेत उनले सङ्केत दिएका छन्  । 
 
सो भिडियो सन्देशमा ८२ वर्षीय सम्राटले ‘पहिलाजस्तो आफ्नो कर्तव्य निर्वाह पूरा गर्न अव मेरो स्वास्थस्थिति अनुकूल भएन, तसर्थ जनताको आस्थाको केन्द्र रहेको राजसिंहासनको दायित्व र मर्ममा कटौती गरेर बसिरहन सुहाउँदैन’ भन्ने उल्लेख छ । सम्राट अकिहितोको खस्कँदो स्वास्थस्थिति र आफ्ना उत्तराधिकारी ५६ वर्षीय युवराज नारुहितोलाई गद्दी सुम्पिनेबारे गत महिनादेखि स्थानीय जापानी सञ्चार माध्यममा विभिन्न अड्कलबाजीका समाचार आइरहेका बखत राजप्रासादबाट दश मिनेट लामो सो सन्देश आज बिहान सार्वजनिक भएको थियो । 
Japanese Emperor Akihito delivers a speech during the opening ceremony of a 150-day ordinary Diet session in Tokyo on January 4, 2016.
यसैबीच, प्रधानमन्त्री सिन्जो आबेले विज्ञप्ति प्रकाशित गरी सम्राटको सन्देश आएको लगत्तै त्यस उपर एक टिप्पणी गरेका छन् । सम्राट्को बिग्रदो शारीरिक अवस्था, बढ्दो उमेर र उहाँले निर्वाह गर्नुपर्ने कर्तव्यलाई ध्यानमा राखी आफू चिन्तित भएको र राज्यले सम्राटको हितका लागि के सहयोग गर्नसक्छ सो बारे गम्भीरतापूर्वक विचार गरिने कुरा सो टिप्पणीमा निहित छ । 
 
स्थानीय समाचार माध्यमका अनुसार सम्राट जीवित छँदै सिंहासान परित्याग गरी उत्तराधिकारीलाई सुम्पिन केही अप्ठ्याराहरु छन् । सन् १९४७ मा जापानमा लागू भई हालसम्म विद्यमान रहेको राजप्रासाद सम्बन्धी ऐन (इम्पेरियल हाउस ले) मा गद्दिनासिन सम्राट्ले सिंहासन परित्याग गरी उत्तराधिकारीलाई सुम्पिने प्रावधान नै छैन् । 
People watch a large screen showing Japanese Emperor Akihito's video address in Tokyo, Japan, August 8, 2016
तसर्थ यस ऐनमा संशोधन नगरी सम्राट आकिहितोको गद्दी त्याग गरी उत्तराधिकारीलाई सुम्पिने इच्छा पूरा गर्न कानुनतः बाधा पर्छ । कानुनविज्ञहरुको एक समूह गठन गरी त्यसले औपचारिक परामर्श दिएपछि मात्र ऐनमा संशोधन, फेरबदल गर्न सकिन्छ र पहिलेका उदाहरण अनुसार यस्तो प्रक्रियामा वर्षौं पनि लाग्नसक्छ । 
 
यी सबै परिदृश्यहरु विचार गर्दा सम्राट्द्वारा सार्वजनिक गरिएको भिडियो सन्देशले सर्वसाधारण जापानी जनतामाझ खैलाबैला मच्चिने र वुद्धिजीवीबीच चर्को बहस हुने स्थिति पैदा भएको भनी जापानी क्योदो समाचार एजेन्सीले ठम्याएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ