arrow

भाडा नबढेको भन्दै आन्दोलनको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
micro-ktm-road.jpg

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरेको हो । 

महासङ्घले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्यूनतम २६ प्रतिशतले वृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रति मिटर ६० रुपैयाँ दरले समायोजन गर्न सरकारसँग माग गरेको हो । 

महासङ्घका अध्यक्ष डोलनाथ खनालले अन्तिम पटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे । अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त ७ दिने सरकारलाई अल्टिमेटम दिएको सुनाए । 

उनले केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पूर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरूले निजी क्षेत्रका कुनै नीति निर्माण नगरीकन पलायन गराउन खोजेको आरोप लगाए । उनले भने,‘केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पूर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरूले निजी क्षेत्रका कुनै नीति निर्माण नगरीकन पलायन गराउने, लगानी ध्वस्त बनाउने, यसप्रति साझा दृष्टिकोण नबनाउने र आफै तड्पिएर कमजोर भएर जाने परिस्थितिको सृजना भएको छ ।’ 

उनले २०६५ सालमा यातायात क्षेत्रको लागि सरकारले एउटा भाडा नीति बनाएको उल्लेख गरे । सोही नीतिको आधारमा गत असारसम्म भाडा दर कायम भइरहेको उनले बताए । ७३ सालदेखि ०७८ सालसम्म आइपुग्दा बाग्मती प्रदेशमा ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन नसकेको पनि उनले स्पष्ट पारे । उनले भने,‘०७३ देखि ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन सकेको छैन ।’

सङ्घीय सरकारले गत असार २८ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ रहेको र तत्पश्चात् पटक–पटक मूल्य वृद्धि भई हाल डिजेल प्रतिलिटर १३३ रुपैयाँ कायम भएको पनि उनले जानकारी दिए ।  

असार २८ गते पछि २७ रुपैयाँ पेट्रोलियम पदार्थको मूल्य बढे पनि आजसम्म भाडा समायोजन नगरेको उनले गुनासो पोखे । चैत्र १ गतेबाट आफूहरूले आन्दोलन गर्ने, त्यसबाट पर्ने कठिनाइ र जिम्मेवारी राज्यले लिन पर्ने उनले बताए । आज मात्रै सम्बन्धित मन्त्रालयमा गई मन्त्रीलाई ज्ञापन पत्र बुझाएर आएको उनले सुनाए । 

उनले हवाई यातायातमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको २४ घण्टामा हवाई भाडा बढ्ने तर आफूहरूको नबढेको भन्दै आपत्ति जनाए । कार्यक्रममा प्रेस विज्ञप्ति पढेर महासचिव भरत नेपालले सुनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ