- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजा जनमेजय र व्यासका बीचमा अनेक विषयका बारेमा चर्चा चल्दै थियो । जनमेजयको जिज्ञासाको उत्तर व्यासले बताइरहेका थिए । जनमेजयको प्रश्न मध्ये एउटा प्रश्न थियो, श्रीकृष्ण नारायणको अवतार हुनुहुन्थ्यो । उहाँले शिवजीको उग्र तपस्या गर्नुभएको थियो । संसारमा भएका चर अचर प्राणीको आत्मा सबैको ईश्वर जस्ता महापुरुष श्रीकृष्णलाई पनि किन तपस्या गर्नु परेको त ?
उनको जिज्ञासा मेटाउन व्यासजीले भन्न थाले । हेर्नुस्, जनमेजय, श्रीकृष्णले मानव चोला धारण गर्नुभएको थियो । त्यसैले उहाँले मानवोचित काम गर्नुपरेको हो । उहाँले ब्राह्मणको सेवा गर्नुभयो, वर्णाश्रम धर्म पालना गर्नुभयो । दीन हुनुपर्ने अवस्थामा उहाँ दीन हुनु भयो । शोकको समयमा शोकाकुल हुनुभयो । यसका अतिरिक्त उहाँले साधारण गृहस्थ सरह स्त्रीसँग लीला पनि गर्नुभयो ।
व्यासजीले भन्दै जानुभयो, मनुष्य शरीर गुणमय हो । त्यसैले यसमा निर्गुणत्व हुने कुरै छैन । गान्धारी, अष्टावक्र आदिका श्रापले यदुकूल संहार हुन गयो । हुँदा हुँदा त श्रीकृष्णका पत्नीहरू पनि हरणमा परे । धन लुटियो । यस्ता कुराहरू देख्दा देख्दै पनि अर्जुनले वाण चलाउन सकेनन् ।
यसरी श्रीकृष्णले मानवोचित क्रियाकलाप गर्नुभएकोले उहाँले मानवले गर्ने शिवजीको तपस्या गर्नु के आश्चर्य भयो? उनको कुराले जनमेजयले चित्त बुझाए ।
व्यासजीले भन्दै जानुभयो, ओमकारमा अ ब्रह्मा मानिन्छन् , उ विष्णु मानिन्छन्, म महेश्वरलाई मानिन्छ । त्यसै गरी चन्द्रविन्दु भगवतीको रूप हो । त्यसैले सबै शास्त्रहरूमा देवीलाई सर्वोत्तम मानिएको छ र ब्रह्माजी भन्दा विष्णु, विष्णु भन्दा शिवजी । त्यसैले शिवजीको आराधना श्री कृष्णले गर्न नहुने किन ।
व्यासले प्रसङ्ग निकाल्दै भन्नुभयो, सृष्टि गर्ने कामका लागि ब्रह्मा जीले शिवजीको उपासना गर्नुभयो र उनलाई वरदान दिन भनेर उनकै मुखबाट शिवजी प्रकट हुनुभयो । यिनलाई नै मूल रूप भनियो ।
युग युगमा विष्णुका अवतार हुँदा योगमायाको शक्तिले नै सबै काम हुन्छ । जस्तो वन्दीगृहमा श्रीकृष्णको अवतार भएको वेलामा पनि योगमायाको शक्तिले नै सबै काम भएको हो ।
उहाँले भन्दै जानुभयो, स्त्री, धन, छोराछोरी, भाइ बन्धु सबै बन्धनका कारण हुन् भनिन्छ तर यो भन्दा कडा त अहङ्कार हो । म कर्ता हुँ भन्ने नै बलियो बन्धन हो ।
अहङ्कारको वशमा नपरे मात्र प्राणी संसारको बन्धनबाट मुक्त हुन्छ । भगवतीको लीलाबाट नै ब्रह्मा, विष्णु, महेश्वर मायारूपी बन्धनमा पर्ने हुन्, त्यसैले आवागमनको चक्रमा परिरहन्छन् ।
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com