arrow

हिमाल जस्तै उचो कद

logo
युवराज गौतम,
प्रकाशित २०७८ फागुन २८ शनिबार
275131049_537658437625177_8764328881513527638_n.jpg

विश्वमा आठ हजार मिटर उचाइका १४ वटा हिमाल छन् । जसमध्ये आठवटा नेपालमा पर्छन् । हो, तिनै आठवटा हिमालमध्ये एउटाको फेदमा जन्मिन् लाक्पा फुटी शेर्पा । सोलुखुम्बुको चौरीखर्कको आफ्नो घरको बलेंसीबाटै दिनहुँ हिमाललाई स्पर्श गर्दै हुर्किइन् । हिउँका डल्लाहरुमा रमाइन् । हिउँसँगै खेलिन् । हिउँमै रमाइन् र हिउँमै कयौं रात निदाइन । बुबा फुरि ग्याल्जेन र आमा दावालम्मुसँग हिउँमै उकाली ओराली गरिन् । 

दावालम्मुको बक्खुको फेरो समाएर दौडिँदा सयौं चोटी हिउँमा चिप्लिएर लडिन् । वास्तवमा उनको बाल्यकाल हिमाली गाउँ र हिउँसँग साक्षात्कार गर्दै बित्यो । संघर्ष र अभावमै दिनहरु चलिरहे । हिमाली भेगमा नगदेबाली उत्तिसारो हुँदैन । हिउँले सबै सखाप पारिदिन्छ । त्यहींमाथि सुदूर भेगको पर्यटकीय क्षेत्र सोलुखुम्बुका गाउँहरुमा यातायातको सुविधा पुगिनसकेकाले कृषिबाली बिक्री गर्ने बजार पनि थिएन । जसका कारण फेदीमा बस्ने शेर्पा समूदायको आय स्रोत भनेको पर्यटकको भरिया बन्ने र व्यापार व्यवसाय गर्ने मात्र हो । लाक्पा फुटीले बाउबाजेको परम्परा धान्न बर्षौंसम्म भरिया बनिन् । 

संभवतः उनले १२ वर्षको कलिलो उमेरमै ढाडमा गरुङ्गो भारीले ठेउला उठिसकेको र पिल्सिसकेको थियो । ‘त्यो हाम्रो वाध्यता थियो । दुःख–बिमार, हुरी–बतास, रगत जम्ने चिसो हाम्रा लागि सामान्य थियो । पारिवारिक दुःख थियो’ उनले भनिन्,‘ गाउँमा विदेशी पर्यटकहरु आउँदा हामी औधी खुशी हुन्थ्यौं । भारी बोक्न पाइन्छ भनेर । पर्यटक भगवान जस्तै लाग्थे । घरमा भाइ बहिनीको हेरचाह गर्न र बुबा–आमालाई सहयोग पुग्छ भनेर १२ वर्षकै उमेरदेखि भारी बोकेर पर्यटकहरुसँग जान थालेको हुँ’ उनी बाल्यकाल स्मरण गरिन् ।

भरिया बनेर उनले दशक बिताइन् । स्कुले पढाइ भरिया बन्दै बित्यो । हाँसखेल गर्ने र रमाइलो गर्ने उमेरमा उनको ढाडमा गरुङ्गा भारी थिए । कलिलो शरीरमा भारीले बर्षौंसम्म थिचिरह्यो । आफ्नोमात्र होइन हिमाल मुनि बसेका हजारौं नेपालीको दिनचर्या अहिले पनि भरिया बनेरै बितिरहेको उनको भनाइ छ । ‘विश्वभर फैलिरहेको महामारीका बेला हिमालको फेदीमा अनिकाल लाग्यो होला । सयौं बेरोजगार भए होलान् । कतिपय भोकभोकै भए होलान् । यस्तो संकटको बेला सरकारसँग दर्जनौं प्रश्न सोध्न मन लाग्छ’, उनले भनिन्, ‘सरकार ! हिमालमा पनि नेपाली बस्छन् । जनता बस्छन् । भिन्न व्यवहार नहोस् ।’

तर भारीले थिचेको जीवनले सिर्जना र संघर्ष गर्न सिकाएकोमा लाक्पा फुटीलाई गर्व छ । भरिया बनेर हिंड्दा हिंड्दै उनले पर्यटन व्यवसायमा भविष्य देखिन् । भरिया बनेरै भए पनि अवसर लिनसक्नु पर्छ भन्ने लाग्यो । उमेर र समयसँगै भरियाबाट माथि उठ्नुपर्छ भन्ने सोच पलायो । विस्तारै टुर्स र ट्रेकिङ व्यवसायतिर हात फैलाइन् । पर्यटनसँग जोडिएका अन्य व्यवसायमा हात लम्काइन् । करिब ४० वर्ष पर्यटन व्यवसायमा बिताइन् । नेपालको लोकप्रिय मानिने ‘लक्जरी ट्रेकिंग एजेन्सी’ को  संस्थापक बनिन् । थोरै थोरै दाम, धेरै मान कमाइन् । 

लाक्पा फुटी कुनै बेला पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्दा उनको आरोहण दलको सहायक थिइन् । त्यो सन् १९९३ सालको कुरो हो । त्यसबेला पासाङसँग नन्द राई पनि थिए । लाक्पा उनीहरुसँगै आरोहणमा उक्लिएकी थिइन् । तर पासाङसँगको यात्रा सुखद् रहेन । पासाङको सगरमाथाको चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार सातसय मिटरमा रहेको साउथ समिटमा निधन भयो । ‘म पनि आठ हजार मिटरसम्म पुगेको थिएँ तर पासाङलाई हिउँले लग्यो । उहाँ हामीमाझ रहनुभएन । त्यसपछि फर्कें’, उनले सगरमाथा आरोहणको क्षण सुनाइन् । पासाङलाई राष्ट्रिय विभूति भनेर सम्मान दिएकोमा भने उनलाई खुशी लागेको छ । प्रेरणा मिलेको छ ।

भरियाबाट उठेको लाक्पाको जीवन हिमाल आरोही र पर्यटन व्यवसायीका रुपमा फैलदै गयो । कालान्तरमा उनले युरोपका केही उच्च शिखरहरुको उचाइ नाप्न पनि पुगिन् । हिमालमा वा हिउँमा खेलिने साहसिक खेल स्कीमा उनले खुबै मजा लिइन् । स्की खेलको मज्जा लिने पहिलो नेपाली महिलाको रेकर्ड उनकै नाममा दर्ज छ । 

उनी भन्छन्, ‘स्की खेल मात्र होइन । यसको र अन्य साहसिक खेलको पढाइ नेपालमा हुनुपर्छ । नेपालमा साहसिक खेल र शिक्षाको विकास हुनुपर्छ । पर्वतारोहणबारे बुझ्न र पढ्न विश्वभरका विद्यार्थीहरु नेपाल आउने अवस्था सिर्जना गर्नुपर्छ ।’ उनले पर्वतारोहणलाई शिक्षाको विषय बनाएर अर्को अभियान शुरु गरिसकिन् । त्यतिमात्र होइन विश्वका विद्यार्थीहरुलाई आकर्षित गर्न नेपालमा पर्वतारोहण सम्बन्धी विश्वविद्यालय स्थापना गर्ने अभियान उनले प्रारम्भ गरिसकेकी छिन् । 

शिक्षामा विश्वमै नौलो प्रयास
पर्यटन व्यवसायबाट स्थापित बनेकी लाक्पा हात हालिसकेको काममा कहिल्यै असफल बनेकी छैनिन् । किनकि उनी आफूलाई लागिसकेको वा मनले खाएको काम निरन्तर प्रयास गरेर सफल पारेरै छाड्ने आदतकी छिन् । सीमित तालिमको भरमा चलेको नेपालको पर्वतारोहण क्षेत्रमा उनले विश्वविद्यालय स्तरको वार्षिक शैक्षिक कार्यक्रम नै भित्र्याइन् । विश्वका देशहरुमा बिरलैमात्र पढाइ हुने पर्वतारोहण सम्बन्धी शिक्षा नेपालमा शुरु गराइन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान’ (नेपाल माउन्टेन एकेडेमी) स्थापना गरिन् । 

उनकै पहलमा नेपालमा नौलो कोर्ष शुरु भयो । हिमालै हिमाल भएको देश नेपालमा यस्तो शिक्षा अत्ति आवश्यक ठानेर भित्राएको उनको भनाइ छ । ‘नेपालका हिमालहरु पढ्न । यसको महत्व बुझ्न । हिमाली क्षेत्रको रहनसहन, रीतिरिवाज, हिमनदी, हिमाली बनस्पति, शेर्पा समुदायको कला र संस्कृति बुझन् कक्षाहरु आवश्यक छ,’ उनले भनिन्, ‘हामी हिमालमैत्री र पर्वतारोहणमैत्री बन्न यस्तो शिक्षाले ठूलो भूमिका खेल्छ । पर्यटकलाई सत्कार गर्न सिकाउँछ । पर्वतारोहण सम्बन्धी शिक्षा हासिल गरेपछि रोजगारीका लागि विश्वभर अवसर पाउन सकिन्छ ।’

नेपालको अर्थतन्त्रको पहिलो खम्बाको रुपमा हेरिएको पर्यटन क्षेत्रको विकास र वृद्धि गर्न शैक्षिक जनशक्ति आवश्यक पर्ने भएकाले नौलो विषय भित्र्याएको उनको भनाइ छ । प्रतिष्ठानमा २०१७ देखि स्नातक तहको पढाइ भइरहेको छ भने २०२० जनवरीदेखि साहसिक पर्यटन विषयमा मास्टर डिग्री अध्यापन शुरु भएको छ । विश्वकै महंगो र धेरैको रोजाइमा पर्ने ‘माउन्टेन टुरिज्म’ का लागि यी कोर्षहरु उपयोगी हुनेमा उनी विश्वस्त छिन् ।

लाक्पालाई एउटा कुराले सँधै पोल्ने गर्छ । ‘हिमालमा भारी बोकेर जानेहरु अनपढ हुन्छन् । शेर्पाहरु अनपढ भएकै कारण भरिया बन्नुपर्यो । विदेशीहरुले पनि पर्वतारोहण बुझेकै छैनन् ।’ तर उनले अब यस्तो सोचाइलाई चिर्न सक्ने हुनु भएको छ । उनको प्रतिष्ठानबाट शैक्षिक जनशक्ति उत्पादन गरेर हिमाल र पर्वतारोहण बुझाउने अभियानले सार्थकता पाउन थालेको छ । विदेशी विद्यार्थीले पर्वतारोहण कोर्ष पढ्न नेपाल आउने चासो दिन थालेका छन् । हो, यही कारणले लाक्पा खुशी छिन् र उत्साहित हुँदै भन्छिन्,‘ हिमाल चढ्नेहरु पनि पढेका, जानेका र बुझेका हुन्छन् भन्ने सत्य स्थापना गर्न सकिएको छ । यस्तो कुरा सरकार र आम नागरिकले बुझ्नुपर्छ ।’

हन्डर र ठक्कर
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न र यसको शैक्षिक पाठ्यक्रम तयार गर्ने शिलशिलामा लाक्पाले थुप्रै ठक्कर खानुपर्यो । सन् २००९ मा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान नेपालको पहिलो महिला कार्यकारी निर्देशक नियुक्त भएदेखि एक दशकमा उनले ठूलै संघर्ष गर्नुपरेको छ । हाल प्रतिष्ठानको अध्यक्ष जिम्मेवारी सम्हाल्दा उनमा झनै जिम्मेवारी बढेको छ । 

शुरुवातीे चरणको स्मरण गर्दै उनी भन्छिन्, ‘शुरुमा यो विषयमा असंभव भनियो । लाक्पा फुटीले असंभव ठाउँमा हात हाल्यो भनेर खिसीटिउरी गरियो । सम्बन्धन लिन र सहयोग लिने क्रममा त कति दुःख पाइयो पाइयो भनीसाध्य छैन’, उनले भनिन्, ‘अझ सरकारी ढोका चहार्दा सरकारका मान्छेहरुलाई यो विषय बुझाउँदा झनै हैरानी भइयो ।’
शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालय धाउँदाका उनीसँग बेग्लै घटना छन् । पवित्र काम लिएर जाँदा पनि सरकारी निकायका अधिकारीहरुले दुःख दिएको उनले बिर्सिन सकेकी छैनन् । ‘उनीहरुको व्यवहार, बचन र कार्यशैलीका कारण कति पटक एक्लै बसेर रोएको छु । काम हुन्न भनेर फर्काइदिँदा ढोका बाहिर निस्किएर आँशु बगाउँदै हिंडेको छु’ उनले विगत स्मरण गर्दै भनिन्, ‘तर त्यो आँशु अब खुशीमा परिणत हुने तरखरमा छ । उत्साहित छु ।’ 

काठमाडौंको थापागाउँमा रहेको प्रतिष्ठानमा दर्जनौं विद्यार्थीहरु उत्साहित भएर पढिरहेको देख्दा र प्रतिष्ठानका लागि भनेर सहयोग गर्ने दाताहरु स्वतस्फूर्त रुपमा आइदिंदा खुशी लागेको उनले सुनाइन् ।

विश्वविद्यालयको सपना
प्रतिष्ठानले नेपालमै पहिलो पटक विभिन्न त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘ब्याचलर अफ माउन्टेरिङ स्टडिज’ र ‘मास्टर अफ एडभेन्चर टुरिज्म’ को अध्ययन गराइरहेको छ । नेपाल माउन्टेन एकेडेमीकै अगुवाइमा अब भविष्यमा पर्वतारोहण सम्बन्धी विश्वविद्यालय स्थापना गराइछाड्ने लाक्पाको सपना छ । शुरुमा पर्यटन विश्वविद्यालयको अवधारणा अघि बढाइए पनि नेपालमा पर्वतारोहण सम्बन्धी विश्वविद्यालय आवश्यक भएको अध्यक्ष उनको भनाइ छ । 

पर्यटन र साहसिक पर्वतारोहणका लागि हबका रुपमा विकसित भइरहेको नेपालमा पर्वतारोहण र पर्यटन सम्बन्धी अध्ययन गर्न स्वदेशी मात्र होइन विदेशी विद्यार्थीहरुका लागि पनि आकर्षक मानिने भएकाले विश्वविद्यालय आवश्यक रहेको उनको बुझाइ छ ।

हिमाल आरोहीहरुलाई सामान्य तालिम मात्रै दिने परिपाटीलाई अन्त्य गर्दै सैद्धान्तिक, रचनात्मक ज्ञान र सीपको विकास गर्न विश्वमै पहिलोपटक पर्वतारोहण सम्बन्धी पढाइ शुरु गरिएको भएपनि अब अनुसन्धानलाई पनि अघि बढाउन विश्वविद्यालय आवश्यक रहेको उनको भनाइ छ । ‘पर्वतारोहण सम्बन्धी विश्वविद्यालय स्थापना गर्न पहिलो चरणमा आवश्यक मापदण्ड र प्रक्रियाको प्रारम्भिक तयारी गरिरहेका छौं । आवश्यक पूर्वाधारहरुको निर्माणका लागि काम अघि बढाएका छौं । केही स्थानमा जग्गा प्राप्त भइसकेको छ । अब क्रमशः विश्वविद्यालयका लागि तयारी गछौं,’ उनले भनिन्, ‘विश्वविद्यालय स्थापना गर्न विश्वका धेरै देशहरुले तयारी गरे पनि सफल हुन सकेका छैनन् । तर नेपालमा सफल हुनेछौं ।’

विश्वविद्यालय बनाउने अभियान स्वरुप सोलुखुम्बुमा भौतिक संरचनाहरुको निर्माण भइरहेको छ । संखुवासभा र बन्दीपुरमा पनि जग्गा उपलब्ध गराउने दाताहरु तयारी अवस्थामा छन् । विदेश अध्ययन गर्न गइरहेका विद्यार्थीहरुलाई नेपालमै आकर्षित गर्न र हिमाल आरोहणबारे अध्ययन गर्न विदेशी विद्यार्थीलाई नेपाल भित्राउने यस्तो अभियान अघि सारिएको उनको भनाइ छ । हिमाल हेर्न र घुम्न मात्र नभइ शैक्षिक अध्ययनको विश्वकै गन्तब्यका रुपमा नेपालमा विश्वविद्यालयको अवधारणा अघि सारिएको उनले बताइन् । ‘यसका लागि नेपाल सरकारले पूर्ण साथ दिनुपर्छ । अन्य शिक्षासेवी, दाता र विदेशी निकायहरु स्वतस्फूर्त रुपमा सहयोग गर्न तयार छन्’, उनले भनिन् ।
 
कृतिको चर्चा
लाक्पा आफ्नो कर्मले सफल बने पनि पनि खासै चर्चामा थिइनन् । तर उनका दुईवटा कृतिले थप चर्चामा आइन् । आत्मकथारुपी उपन्यास ‘हिमालकी छोरी’ र ‘हिमालमा चालीस वर्ष’ आत्मकथाले उनलाई थप चर्चामा ल्याएको छ । उनी सेलिब्रेटी झैं बनेकी छिन् । अन्य सामाजिक संघ संस्थामा उनको आबद्धता बढ्दो छ ।

२०७२ सालमा ‘हिमालकी छोरी’ उपन्यास र २०७३ सालमा ‘हिमालमा चालीस वर्ष’ पुस्तक प्रकाशित भएपछि लाक्पालाई मानिसहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । आफ्नो जीवन भोगाइ बारे बुझ्न धेरै शुभेच्छुकले पुस्तक पढ्न भ्याइसकेका छन् । ‘हिमालमा चालिस वर्ष’ पुस्तक भने अंग्रेजीमासमेत अनुवाद भइसकेको छ । ‘फोर्टी इयर्स इन दि माउन्टेन’ पढेर धेरैलाई भावुक बनाएको प्रतिक्रिया उनले पाइरहेकी छन् । नेपालका बारेमा विदेशीले लेखेका पुस्तक पढेर नेपाल बुझिरहेकाहरुका लागि आफ्नो पुस्तक बढी सान्दर्भिक हुनेमा उनी ढुक्क छिन् ।

दुई हप्ता नेपालका हिमाल चढेका पर्यटकले लेखेका किताब भन्दा हिमालकै फेदीमा हुर्केका व्यक्तिले लेखेका पुस्तक बढी तथ्यपूर्ण हुन्छन् भन्ने मान्यतालाई उनले स्थापित गराइदिएकी छन्  । 

‘विदेशी लेखकहरु दुई हप्ता हिमाली भेग घुमेकै भरमा पुस्तक लेख्नुहुन्छ । उहाँहरुले विषयवस्तु, परिवेश राम्रोसँग बुझेकै हुँदैन । हामी त्यही ठाउँमा जन्मियौं । हुर्कियौं । भारी बोक्यौं । पर्यटन क्षेत्रमै होमियौं । हाम्रो बुझाइको दायरा फराकिलो हुन्छ । र, हामीले लेख्दा विस्तृतमा लेख्न सक्छौं । विदेशीहरूको लेखनमा वास्तविक अनुभूति भेटाइँदैन । तर हामीले लेख्दा हाम्रो भावना र भोगाइ पनि जोडिएर आउँछ’, उनले भनिन् । वास्तवमा लाक्पा फुटीको जीवन भोगाइ दुई पुस्तक भित्रका अक्षरहरुले स्पष्ट पारिसकेको छ । अब उनी अर्को कृति लेख्ने सोचमा छिन् ।


 



नयाँ