नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ यतिबेला ऐतिहासिक संघारमा छ। निरंकुशता विरुद्ध र लोकतान्त्रिक आन्दोलन स्थापित गराउने उदेश्यले जन्मिएको यो संगठन स्थापना पछिको नेतृत्वहरु मध्ये कमसल देखियो। प्रत्येक दुई बर्षमा हुनुपर्ने महाधिवेशन विवादकै कारण नौं बर्षसम्म हुन नसकेर ४६ बर्षे इतिहासकै निरिह बन्न पुग्यो। एसियाकै लोकतान्त्रिक भनिने पार्टीको संगठन भित्र यस्तो कायरपनाले लाजमर्दो र घृणित भन्न सुहाउने बनायो। नयाँ जोश, नयाँ उर्जा, नयाँ क्षमता, योग्यता र युग सुहाउँदो बैचारिक क्षमता बोकेका युवाहरु यहि नौं बर्षको अवधिमा संगठन त्याग्ने देखि खाडी मुलुकमा पुगेर रगत पसिना बगाउन बाध्य भए।
वि.स २०२७ साल बैशाखमा स्थापना भएको नेवि संघको पहिलो कार्यसमितिमा जुन किसिमको लोकतान्त्रिक अभ्यास वा विधिसंवत अधिवेशन गरेर इतिहास रचियो त्यसपछिका नेतृत्वहरु भने प्रक्रियागत तरिकाले आउनै सकेनन्। आएकाले पनि उत्कृष्ट भूमिका निर्वाह गर्न सकेनन्। पहिलो महाधिवेशनमा मार्शसजुलुस शाक्य र विपिन कोइराला बीच भएको स्वच्छ प्रतिस्पार्धाबाट ११ औं महाधिवेशनमा होमिएका हामीले धेरै कुरा सिक्नु पर्नेछ। लोकतान्त्रिक पद्धती अर्थात चुनावी प्रक्रियाबाट कुशल र सक्षम नेतृत्व चुनिनु पर्ने यतिबेलाको अत्यन्तै ठूलो आवश्यकता हो।
निरकुंश पंचायती व्यवस्था, दमनकारी राजसंस्था विरुद्ध लडेर सडकबाट लोकतान्त्रिक गणतन्त्रको स्थापनामा नेविसंघको नेतृत्वदायी भूमिका छ। नेपालको शैक्षिक प्रणाली युग सुहाउँदो परिवर्तन, व्यवहारिक र बैज्ञानिक शैक्षिक प्रणालीको विकासमा नेवि संघले सँधै अग्रणी भूमिका निर्वाह गरिरहेको छ। यतिबेला नेपाल संघीय ढाँचामा अघि बढीसकेको छ यस्तो अवस्थामा शैक्षिक प्रणालीलाई सोही अनुरुप परिमार्जन गरिनु अतिनै आवश्यक भइसकेको छ। ११ औं महाधिवेशनबाट संघीय ढाँचा अनुरुपको शैक्षिक विकासको खाका प्रष्ट रुपमा तयार पारिनु पर्छ। नौं बर्षको अवधिमा नेविसंघ जति शसक्त भएर प्रस्तुत हुनु पर्दथ्यो सो अनुसार हुन सकेन्। राष्ट्रिय ऐजेण्डा मात्र होइन विद्यार्थीका सामान्य समस्याहरुमा पनि संघको भूमिका तारिफयोग्य भएन्। संगठन भित्रै दनदनी बलेको विवादको आगोले संगठनलाई विलखबन्दको भूमरीमा राख्यो। यो अत्यन्तै विडम्बना पूर्ण छ।
११ औं महाधिवेशनले संगठन भित्र दन्किएको विवादको आगो निभाउन सक्ने नेतृत्व चाहिएको छ। विहानै नेताको घरदैलोमा ‘प्रभातफेरि’मा पुग्ने नेतृत्व होइन सर्वसाधारण बिद्यार्थीका समस्यादेखि शैक्षिक प्रणालीलाई विश्व बजारमा सुहाउने बनाउन सक्ने नेतृत्व यतिबेलाको आवश्यक्ता बनेको छ। सिमित नेताको आर्शिवादमा चल्ने नेतृत्व अहिलेको पुस्ताले खोजेको छैन्। मतदाताहरुले पनि यसमा विवेक पुर्याउनु पर्ने बेला आएको छ। संगठनभित्र मरिमेटेका, सधैं विद्यार्थीकै माझ संघर्ष गरेका, सक्षम र कुशल नेतृत्व अवको आवश्यकता हो। विद्यार्थी नेताले माउ पार्टीका नेताको भावना होइन विद्यार्थीकै भावना बुझ्न सक्ने हुनुपर्छ। ‘टुरिष्ट नेता’लाई यहीबेला हो पाखा लगाउने। त्यसैले जिल्लाबाट आएका प्रतिनिधीहरुले आफ्नो नेता छनौटमा विवेक पुर्याउनु पर्ने बेला आएको छ।
यहाँ बुझ्नु पर्ने कुरा अर्को पनि छ। संगठनको महाधिवेशन विधिसंवत हुनुपर्छ भनेर सत्याग्रहमा होमिएका विद्यार्थीहरुलाई जुन किसिमले अपमान र व्यवास्ता गरियो यो लोकतान्त्रिक संगठन भित्रको सुहाउँदिलो प्रबृत्ती होइन्। यस्तो प्रबृत्ती कम्यूनिष्ट देशमा शासकहरुले गर्ने शैलीसँग मेल खान्छ। आम विद्यार्थीले सत्याग्रहका बारेमा बुझेको पनि यही हो। कतिपय विद्यार्थीहरु भनिरहेका छन् ‘कांग्रेस भित्र सत्याग्रह मरिसकेछ’। यस्तो अवस्था आउन दिनु भनेको संगठन र लोकतान्त्रिक र समाजवादी विचार बोकेको नेपाली कांग्रेसको धज्जी उढाउनु मात्र हो। त्यसैले नेवि संघको११ औं महाधिवेशन मार्फत विधि सम्मत, लोकतान्त्रिक पद्धतीमार्फत सबैले सम्मान गर्ने र संगठनलाई सम्मानित बनाएर लैजान सक्ने नेतृत्व चाहिएको छ।
(लेखकः नेविसंघ ११ महाधिवेशनमा केन्द्रीय सदस्यका प्रत्यासी हुन्।)