arrow

‘महाभारतमा के छ ?’ लाई लेखक कृति पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
Mati Prasad Dhakal.jpg

पोखरा । नेपाली लेखक संघ कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार-२०७७’ नवलपरासीका श्रष्टा सहप्राध्यापक डा. मतिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘महाभारतमा के छ ?’ लाई प्रदान गरिने भएको छ । 

पहिलो चरणमा केही उत्कृष्ट कृतिहरू छनोट गरिएको र दोस्रो चरणमा छनोट समितिलाई जिम्मा लगाइएका कृतिहरूको गहन अध्ययन गरी ‘महाभारतमा के छ ?’ कृतिलाई छनोट गरिएको हो । 

पुरस्कार छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीका अनुसार निवन्धात्मकरूपमा महाभारतका गहन विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको सो कृतिमा विशेषतः नीतिपरक निवन्धहरू समेटिएका छन् ।

वि.सं. २०७७ सालभरिमा गण्डकी प्रदेशभित्रका श्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिमध्येबाट सर्वोत्कृष्ट कृति छनोट गरी उक्त पुरस्कार प्रदान गरिएको हो । यही चैत्र ५ गते एक समारोहका बिच सो पुरस्कार अर्पण गरिने संस्थाका अध्यक्ष सञ्जीव पौडेलले जानकारी दिए ।

वि.सं. २०७६ सालमा स्थापित यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा साहित्यकार दीपक समीप, लेखक रीतादेवी कँडेल, संस्थाका निवर्तमान अध्यक्ष गणेश शर्मा, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ सदस्य रहेका छन् ।

हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यस अगाडि स्याङ्जाली श्रष्टा सरोज अर्यालद्वारा लिखित उपन्यास कृति ‘दीपाञ्जली’ लाई प्रदान गरिएको थियो । 

साथै संस्थाले अर्को वर्षको पुरस्कारका लागि गण्डकी प्रदेशभित्रका श्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिहरू सङ्कलन गर्ने कार्यको जिम्मेवारी संस्थाका सहसचिव प्राञ्जललाई प्रदान गरेको छ ।

कार्यक्रममा विगत लामो समयदेखि पोखरामा रहेर साहित्य, दर्शन, राजनीति र पत्रकारितामा विशिष्ट योगदान पुर्याउने प्रजातान्त्रिक आन्दोलनका एक अगुवा केशवराज पराजुलीलाई विशिष्ट सम्मान अर्पण गरिने सचिव कमल पौडेल अथकले जानकारी दिए । 

सह-प्राध्यापक डा. मतिप्रसाद ढकाल को हुन् ?

नेपाल संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक ढकाल विगत लामो समयदेखि लेखनमा सक्रिय छन् । पूर्वीय साहित्य र दर्शनमा विशेष रुचि राख्ने उनी भाषा सम्पादकका रूपमा पनि विभिन्न ठाउँमा आवद्ध छन् । 

उनले २०७६ सालदेखि पठन संस्कृति अभियानसमेत सञ्चालन गर्दै आएका छन् । ढकाल नेपाली भाषाको शुद्धिकरण अभियानमा पनि निकै सक्रियतापूर्वक संलग्न रहँदै आएका छन् ।

संस्कृत विश्वविद्यालयबाट शास्त्री, व्याकरणाचार्य र विद्यावारिधि गरेका ढकाल त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुन् । बागलुङमा जन्मिएका डा. ढकाल हाल नवलपुरका स्थायी वासिन्दा हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ