arrow

राजनीति र प्रशासनको बलमा कर्तुत लुकाउँदै रामजानकी अस्पताल

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत ८ मंगलबार
ramjanaki-hospital-.jpg

जनकपुरधाम ।  रामजानकी अस्पतालले राजनीति र प्रशासनको  बलमा अधा दर्जन भन्दा बढी  बिरामीको ज्यान लिएको आरोप लागेको छ । जनकपुरधामस्थित रामजानकी अस्पताल प्रशासनले प्रहरी लगाएर आफूहरुलाई कुट्न लगाएकोसमेत पीडितहरुले आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको रामजानकी अस्पतालमा शुक्रबार एक बालकको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण ज्यान गएको पीडित परिवारले आरोप लगाउँदै आएका हुन् । सोही घटनाको विषयमा सोमबार पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफलका लागि समय मिलाइएको भए पनि अस्पताल प्रशासनले कुनै चासो नदेखाउँदा अस्पतालमा तनाव उत्पन्न भएको छ ।

प्रहरी प्रशासन र बाउन्सर प्रयोग गरी उल्टै आफूहरुलाई कुटपिट गरिएको पीडितहरुको आरोप छ । जनकपुरधाम  वडा नम्बर ६ का अशरफ राइनका छोरा पाँच वर्षीय आरमिन राइनको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको परिवारजनको आरोप छ । एपेन्डिक्स भएको बालकलाई वास्तविक उपचार नै नगरी तीन दिनसम्म अस्पतालमा राखेका कारण बालकको मृत्यु भएको परिवारजनको आरोप लगाए । 

बालकलाई ज्वरो आएपछि अस्पताल ल्याएको र चिकित्सकले विस्तृत जाँच नै नगरी त्यहीँ भर्ना गरेर राखेको अशरफको आरोप छ । तीन दिनपछि बाहिर जाँच गराउँदा बालकलाई एपेन्डिक्स भएको पत्ता लागेपछि विराटनगर लगिए पनि बालकको मृत्यु भएको थियो । एपेन्डिक्स पत्ता नलाइ त्यतिकै राख्दा बालकको शरीरभर विष फैलिएको र मृत्यु भएको बताइएको छ । 

घटना भएको दिन अस्पताल प्रशासनले यो घटनाको विषयमा दुवै पक्षलाई राखेर सोमबार छलफल गर्ने भनेको थियो । तर सोमबार कुनै पनि छलफल नहुने बताएपछि तनाव भएको थियो ।

त्यस्तै गत माघ ८ गते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको अस्पतालको लापरबाहीले मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

गत माघ ८ गते शनिबार भैँसीले हानेर हात भाँचिएपछि कामतलाई थप उपचारका लागि रामजानकी अस्पतालमा भर्ना गरिएको थियो । डाक्टर सञ्जय साहले उनको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि कामतको स्वास्थ्य अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर चिकित्सकले अवस्था सामान्य भनेको ३ घण्टा बित्न नपाउँदै आफ्नो आमाको मृत्यु भएको मृतकका छोरा रामसकल कामतले बताए ।

यता हस्पिटल प्रशासनले भने मुटुको चाल कम हुँदा कामतको मृत्युको भएको दाबी गरेको छ । अस्पतालका प्रशासन प्रमुख विकासचन्द्र गुप्ताले बिरामीको मृत्युको कारण अप्रेशन नरहेको जिकिर गरेका छन् ।

मृतकका छोरा रामसकल कामतले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण आमाको मृत्यु भएको दाबी गरेका छन् ।

यो अस्पताल मा २२ साउन २०७७ मा सुत्केरी गराउन भर्ना भएकी महोत्तरीको गौशाला नगरपालिकाकी २३  वर्षिया गंगादेवी महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाउँदा उनको मृत्यु भएको थियो । 

सो घटना पनि अस्पतालले पीडतलाई ५ लाख रुपैयाँ दिएर ढाकछोप गरेको थियो । प्रहरीले यस घटनाको अनुसन्धान पनि शुरु गरेको थियो । तर आर्थिक चलखेलमा प्रहरीले हालसम्म कुनै कारबाही अगाडि बढाएको छैन ।

५ साउन २०७६ मा धेरै रकमको बिल बनाउन जनकपुरस्थित रामजानकी अस्पतालले अनावश्यक रुपमा अत्यधिक र कडा औषधि प्रयोग गर्दा धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको मृत्यु भयो । उक्त घटना सार्वजनिक भएपछि अस्पतालले मृतक परिवारसमक्ष गल्ती स्वीकार गर्दै ४ लाख रुपैयाँ दिएर घटना ढाकछोप गर्यो । 

बिरामीको ज्यानै लिने जस्तो जघन्य अपराध गरेको अस्पताल र पीडित परिवारलाई मिलापत्र गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धनुषासमेत साक्षी बस्यो । अस्पतालको चरम लापरबाहीले बेला बेलामा बिरामीको ज्यान जाने गरेको छ । 

तर आर्थिक चलखेल गरी घटनाहरुलाई प्रहरी प्रशासनको मिलेमतोमा ढाकछोप गर्ने गरिएको छ । पटक पटक लापरवाही गरी बिरामीको ज्यान लिए पनि प्रशासनले हालसम्म कुनै कारबाही गरेको छैन । 

प्रहरीहरुसमेत आर्थिक लेनदेन गरी घटना भएको बेला पीडित भन्दा अस्पताललाई सुरक्षा दिने, घटना मिलाउने काममा सक्रिय रहेको स्थायनीको आरोप छ ।
यो अस्पतालले एम्बुलेन्स चालक, गाउँघरका सीएमए, एचए र दलालाई मोटो कमिशन दिएर बिरामीलाई आफ्नोतिर तान्ने र बिरामीबाट चर्को शुल्क असुल्ने, चरम लापरबाही गरी ज्यान लिने गतिविधि स्थापनाकालदेखि नै गर्दै आएको आरोप लाग्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ