arrow

चन्द्रकान्तको ‘दर्पण’ आत्मवृत्तान्तको काव्यिक रूपान्तरण

logo
प्रा गोपीकृष्ण शर्मा,
प्रकाशित २०७८ चैत १२ शनिबार
chandrakanta-acharya-darpan.jpg

आख्यान विधाबाट साहित्यिक कृति प्रकाशनमा ल्याउँदै गरेका साहित्यकार चन्द्रकान्त आचार्यको अहिले कविताततर्फ ‘दर्पण’ महाकाव्य प्रकाशनमा आएको छ । विद्यार्थी अवस्थादेखि नै फुटकर कविता र कथा लेख्ने बानी छँदै थियो, बनारस अध्ययनकालमा र मास्कोमा प्राविधिक विषयको अध्ययनकालमा पनि यिनका केही फुटकर रचना रचिएकै थिए । 

बनारसबाट संस्कृत पूर्वमध्यमा र अङ्ग्रेजी शिक्षातर्फ आइ.एस्सी. परीक्षा पूरा गरेपछि चन्द्रकान्त आचार्यको ध्यान विज्ञान शिक्षातर्फ प्राविधिक क्षेत्रमा मोडियो । यिनले सोभियत सङ्घ, मास्कोबाट सन् १९७३ मा एम्.इ. (सर्भे इञ्जिनियरिङ्) पूरा गरेपछि बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सन् १९७८ मा पोष्ट ग्रेजुएट् कोर्स (जियोडेसी) पनि पूरा गरे ।

यसरी प्राविधिक शिक्षा हासिल गरेपछि इञ्जिनियर चन्द्रकान्त आचार्य दश वर्ष (२०३० देखि २०४० सम्म) नेपालमा सरकारी सेवामा रहेको देखिन्छ । नापी अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका इञ्जिनियर चन्द्रकान्त आचार्य एक दशकको सेवा अवधिमा नै खगोल तथा भूमापन महाशाखा, नापी विभागअन्तर्गत प्रमुख नापी अधिकृतबाट २०४० सालमा राजीनामा दिई  स्वतन्त्र प्राविधिक सेवामा संलग्न भएको पाइन्छ । कन्सल्टिङ् इञ्जिनियर्स कम्पनीमा प्रबन्ध निर्देशक भएर पनि यिनले सेवा दिएका छन् र मित्रकुञ्जका आजीवज सदस्य हुनुका साथै त्यस संस्थाको एक कार्य काल अध्यक्ष भएर काम गरेका छन् । 

साहित्यकार चन्द्रकान्त आचार्यको इञ्जिनियरका हैसियतले अनुसन्धान क्षेत्रमा समेत संलग्नता देखिन्छ । यिनले सन् १९७८ मा अक्स्फोर्ड विश्वविद्यालयमा अध्ययनरत छँदा काठमाडौं नजिकै नगरकोटमा मूल बिन्दु भएको ‘एभरेष्ट स्फेरोइड’ परिभाषित गरेका थिए भने यसभन्दा पहिल्यै सन् १९७४ मा यिनले ‘ट्रियाङ्गुलेशन सर्भे एड्जष्टमेण्ट’ सम्बन्धी फर्मुला तयार पारेका थिए । त्यो फर्मुला खगोल तथा भूमापन महाशाखामा प्रयोगमा ल्याइएको थियो ।

साहित्यकार चन्द्रकान्त आचार्य प्राविधिक क्षेत्रमा कार्यरत रहँदा पनि साहित्यिक गतिविधिमा अभिरुचि राख्ने व्यक्तित्व हुन् । खास गरी चालीसको दशकदेखि आख्यान लेखनमा र नियात्रा रचनामा सक्रिय देखिन्छन् र अहिलेसम्म यिनका पाँच उपन्यासहरू प्रकाशित छन् —ज्वाला, मित्रता, दासतामुक्ति, न्यूयोर्क सुन्दरी र हरित भूमि । यात्रा संस्मरण ‘सम्झनाको क्षितिजबाट’ र नियात्रासङ्ग्रह ‘सपनाको देशमा’ पनि प्रकाशित छन् । यिनले कथा, पत्रसाहित्य र अनुवाद साहित्यमा आप्mनो रचनाकौशल प्रस्तुत गरेका छन् । अहिले भने साहित्यकार चन्द्रकान्त आचार्य कविताको बृहत् रूप ‘दर्पण’ महाकाव्य लिएर देखा परेका छन् ।

‘दर्पण’ महाकाव्य सत्र सर्गमा विस्तारित बृहत् काव्य कृति हो । कवि चन्द्रकान्त आचार्यले विविध शास्त्रीय छन्दहरूको संयोजन गरेर यस काव्यको रचना गरेका छन् । यस महाकाव्यमा अनुष्टुप्, मालिनी, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, इन्द्रवज्रा, उपजाति प्रभृति विविध छन्दहरूको प्रयोग गरिएको छ । वस्तुलाई प्रबन्धात्मक कथ्यकथनको रूप दिएर आख्यान तहमा कुुतूहलताका साथ प्रयोग गर्ने सीप छँदै थियो, त्यही रचना कौशललाई कवि चन्द्रकान्तले यहाँ महाकाव्यमा समेत प्रयोगमा ल्याएका छन् र यो काव्य कृति रोचक र आकर्षक बन्न पुगेको छ । 

साहित्यमा विषयवस्तु सामान्य नै किन नहोस् त्यसलाई प्रस्तुति शैलीले विेशेष रुचिकर बनाइदिन्छ र यो क्षमता कवि चन्द्रकान्तमा रहेको छ । वस्तुलाई प्रबन्धात्मक शैलीमा सजाउने यिनको आप्mनै शैली छ जसद्वारा उपन्यास र काव्य पनि हृदय छुने आकर्षक बन्न पुगेका छन् ।

कवि चन्द्रकान्तले यस काव्यमा आफ्नो जीवन—यात्रालाई मूल विषयवस्तु बनाएका छन् र त्यसैसँग सम्बन्धित भएर आउने कुलपरम्परा, पारिवारिक जीवनशैली, बाबु—आमा, दाजु—भाइ, दिदी—बहिनी, छरछिमेकी र पढ्दादेखिका महिला साथीसँगका प्रणय—सम्बन्धलाई समेत रुचिकर शैलीले चर्चामा ल्याएर सामाजिक सहयात्रालाई समेत परिचित तुल्याएका छन् । 

आफ्नो कुल—वंशको गरिमापूर्ण प्रतिष्ठाका पृष्ठभूमिमा कविले जीवनको उषाकालदेखि वर्तमान बिन्दुसम्मको यात्रामा सुख—दुःखका भन्ज्याङ्—चौतारी हुँदै यस बिसौनीसम्म आइपुगेको रोचक विवरण दिएका छन् र ठाउँ—ठाउँमा आप्mना मृदु—कठोर गहन संवेदनाहरूलाई मर्मस्पर्शी रूपमा व्यक्त गरेका छन् । घर खाएकी छोरी भद्र सुशील बनेझैं मास्कोसम्म पुगेर परदेश खाएका छोरा चन्द्रकान्तले पनि आफ्नो जीवनलाई शिष्ट—संयत रूपमा अगाडि बढाएका छन् र छोरा—छोरी र श्रीमतीसहितको वर्तमान जीवन सुखको चौतारीमा पुगेकोले मङ्गलमय अवस्था आइपुगेको उल्लेख गरेका छन् ।

काव्यनायकको सुखमय अवस्थामा पुगेर काव्यलाई विश्रान्ति दिइएकोले शास्त्रीय मान्यताअनुरूप काव्यिक न्याय पनि यहाँ प्रदर्शित भएको छ । जीवनीलाई कविता ढाँचामा प्रस्तुत गरिएको यस काव्यले एकातिर कविता कथनको मिठास दिएको छ भने अर्कातिर मानव जीवनले भोग्नुपर्ने विभिन्न गौंडा—गल्छेंडाहरूको पनि चर्चा गरेको छ ।

सत्र सर्गमा ‘दर्पण’ महाकाव्यको रचना गरिएको छ । प्रत्येक सर्गमा समयक्रम अनुसारका घटना सन्दर्भ र गतिविधिका परिचायक शीर्षकहरूपनि दिइएका छन् । श्लोकगत वितरणमा शास्त्रीय छन्दका कम्तीमा ५१ श्लोक (सर्ग १ ः प्रारम्भ) र बढीमा १४७ श्लोक (सर्ग ९ः रुस पर्व —२) गरी सर्ग अनुसारका श्लोकहरू रहेका छन् । सत्र सर्गकै गरेर जम्माजम्मी श्लोक संख्या १३८३ रहेको छ । विविध लयका सङ्गीतधर्मी शास्त्रीय छन्दको प्रयोगले एकातिर सस्वर पठनमा मिठास ल्याएको छ भने अर्कातिर जीवन—यात्राका विविध मोड र घुम्तीले कौतूहलपूर्ण आकर्षण पनि थपेको छ । सर्गगत विषय वस्तुका केही श्लोकहरू उदाहरणका रूपमा यहाँ उल्लेख गर्नु सान्दर्भिक नै हुनेछ ।

सर्ग १ः प्रारम्भ
मूलतः मङ्गलाचरणको रूपमा रहेको प्रथम सर्गमा प्रारम्भ शीर्षक दिइएको छ । यस सर्गमा भगवान् पशुपतिनाथ र जनकनन्दिनी सीताप्रति नतमस्तक हुँदै नेपालको सगरमाथा, बुद्धको जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, रिडी, काली गण्डकी, शालग्राम शिला र स्थान विशेषको सम्झना गर्दै कविले आफ्नो जन्मथलो अर्घाखाँचीको पनि श्रद्धापूर्ण स्मरण गरेका छन् । केही उदाहरणहरू हुन् —
(क)   पशुपति शिव हाम्रा देवमा गर्व गर्छौँ
            सकलजन स्वदेशी साधनासाथ रम्छौँ
        अतिथिगण छिमेकीसाथ पूजा गरिन्छ
     शिव पशुपति  ढोग्दै काव्य आरम्भ हुन्छ ।      १–१

    (ख)  अन्तरिक्ष पुगेका ती झानिवेकव भन्दछन्
        तल हेर्दा त्यहाँबाट नेपाल झट्ट देख्तछन्
        विन्दु विन्दु जलै मात्र छैन स्पष्ट कतै पनि
        यौटै सगरमाथा जो बताउँछ धरा धनी ।        १–३

    (ग)  त्यस्ता राम्रा हरित कणझैं लाम लागी बसेका
        डाँडा पाखा अति चहकिला दृश्य ज्यादै खुलेका
        भञ्ज्याङ्बाटै तल तल भने मूल पानी रहेका
        छङ्छङ् गर्दै हिमकण लिई चम्कदै गर्जिएका ।  १–१०
    
(घ)  ती खोला तल गै मिलेर सँगमा ठूलो नदी गण्डकी
हाम्रो क्षेत्र भयो पवित्र अति नै त्यै हो रुरूको रिडी
काली पावन गण्डकी जगतमा पानी लिई बग्दछिन्
शालिग्राम फिँजाउँदै सतहमा मुस्ताङ् हुँदै आउँछिन् । १–११
    
सर्ग २ः  आचार्य वंश
गर्ग गोत्रीय आचार्य वंशका पुर्खाहरू जुम्लाबाट विभिन्न स्थान हुँदै अर्घाखाँची वाङ्लामा आएको सन्दर्भसँगै डिठ्ठा पुनारामको सन्ततिमा प्रेमनारायण देखा परेका र उनका साहिंला छोरा मुखिया केशवबाट काव्यनायकका पिता पोमनारायण जन्मेसम्मको संक्षिप्त वंश परंपरालाई यस दोश्रो सर्गमा सविस्तार वर्णन गरिएको छ । यस क्रममा आएका केही उदाहरणहरू तल दिइएका छन् —    
(क)   मान्छे हुन्थे प्रतापी युगयुग पहिल्यै वीर पुर्खा भनिन्थे
    यात्रा गर्दै जगैको रमणथल पुगी वंश विस्तार गर्थे
    त्यस्तै यौटा घुमन्ते चतुर कुल बडा भित्रिए वाङ्गलामा
    त्यस्तो राम्रो थलैमा मन अति बसिगो सिर्जिए वंशमाला । २–१
                    
(ख)   वाङ्लाको महिमा बुझे अति छिटो डिठ्ठा पुनारामले 
गर्गै गोत्र अचार्ज वंश बढिगो वाङ्ला त्यसै चम्कियो
छोरा प्रेम र नाति केशव जसै मुख्ये भएका थिए 
वाङ्ला उत्तम जो भनिन्छ जगमा आचार्य नामी भए ।    २–६२

यसै क्रममा वाङ्लाका मुखिया पोमनारायणका तीन छोरा यज्ञप्रसाद (१९९२), ज्ञानहरि (१९९७) र जनार्दन (१९९९) जन्मेका र संवत् २००० सालभित्रका घर परिवार र देशका कुरा वर्णन गर्ने क्रममा १९९० सालमा नेपालमा गएको महाभूकम्प र १९९७ सालमा राणाशाहीद्वारा मारिएका चार शहीदहरूका सम्बन्धमा यस सर्गमा वर्णन गरिएको छ ।

(ग)  सन्तानब्बे थियो साल अनर्थ देशमा भयो
    देशवासी सबैमा नै दुःख र शोक फैलियो
    राणा शासनको द्रोह गरेको अभियोगमा
    जनताका गुणी छोरा मारिए काठमाण्डुमा ।    २–५६

सर्ग ३ः बाल्यकाल

मुखिया पोमनारायणका काहिंला छोराको रूपमा २००३ साल माघ १४ गते श्रीपञ्चमीको दिन जन्मेका काव्यनायक चन्द्रको बाल्यकाल र त्यस समयमा भए—गरेका गतिविधिहरूको वर्णन यस सर्गमा गरिएको छ । श्रीपञ्चमी त्यसै पनि महत्वपूर्ण दिन, एक त विद्याकी देवी सरस्वतीको पूजा—आराधना गर्ने दिन अर्कोतर्पm तत्कालीन गाउँ—समाजमा प्रचलन कायम रहेको साहू र ऋणिको वार्षिक लेनदेन हरहिसाब गर्ने र ऋण तिर्न नसके व्याज बुझाएर तमसुक नवीकरण गर्ने साथै वस्तुभाउ किन्ने बेच्ने हरहिसाब मिलाउने दिन हुनाले पनि यस दिनलाई विशेष महत्वका रूपमा लिइन्छ । यस शुभ दिनको चर्चासँगै यसै समयमा भारत स्वतन्त्र भएको र भारतमा विश्वेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा नेपाली काङ्ग्रेस पार्टी स्थापना भएका कुरा पनि यस सर्गमा विस्तृत गरिएको छ ।

त्यसै शुभ दिनमा काहिंला छोराको जन्म भएपछि पिताले अरु बढेका छोराहरू र गाउँका किशोरहरूलाई पढाउने उद्देश्यले डिभर्नाका गुरु पं. रुद्रनाथ आचार्यलाई घरमा राखेर घरमा नै पाठशाला चलाउन शुरु गरे । यस क्रममा काव्यनायक चन्द्र हुर्कदै गरेर समवयस्क दिदी, दाइहरुसँग खेलवाड गर्दै जाँदा सँगै खेल्ने शान्ता दिदीको सानैमा विवाह र दुःखद पतिवियोग, महिनाअनुसारका चाँडवाड, तीजको रमाइलो, दशैँको खुशियाली र तिहारका भाइटीका र खानपानसँगै उनको बाल्यकाल बितेको हुन्छ । घरमा कान्छो भाइ कृष्ण र दुई बहिनी मैञा र मीना जन्मेर रमाइलो थपिएको हुन्छ । देशमा भएको ठूलो घटना २००७ सालको क्रान्तिको पनि यस सर्गमा विस्तृत विवरण दिइएको छ । केही श्लोकहरू उदाहरणका रूपमा दिइएका छन् ।

(क)    युग फेर्ने कला जान्ने समयै हो ठुलो गुरु
    त्यसै समयको यात्रा गर्ने हौँ जनताहरू
    त्यही समयको चक्र घुम्दैथ्यो यस विश्वमा
    सतचालीस सन् भेट्यो उन्नाइस सयै लिदा ।  ३–२

(ख)  श्रीपञ्चमी परेको त्यो माघ चौध गते थियो
    सोमवार दिनै राम्रो प्रसिद्ध पञ्चमी प¥यो
    माताजी जमुनाबाट पुत्र चौथो भई गयो
    त्यही पुत्र म नै रैछु चन्द्र यो नाम राखियो ।    ३–१६

(ग)  राम्रा ती महिला रमाइरहने गाएर नाच्थे त्यहाँ
    नाच्थे ती अति नै जमेर तरुणी गीतै नयाँ रन्किँदा
    ती हुन्थे महिला दिदी र बहिनी जो माइतै आउँथे
    त्यो हुन्थ्यो मिलनै अहो अति बडो ज्यादै तिनी रम्दथे । ३–७३

सर्ग ४ः राजनीति पर्व

२००७ सालमा राणाहरूको जहानिया शासन अन्त गरेर प्रजातन्त्र ल्याइए पनि देशले स्वतन्त्रताको अनुभूति गर्न पाएन । राजनेताहरूको ठूलो प्रयासले २०१५ सालमा दलीय आम चुनाव भयो । काङ्ग्रेस पार्टी अत्यधिक मतले विजयी भयो । जननेता विश्वेश्वरप्रसाद कोइराला देशमा प्रधान मन्त्री बने । सर्वोच्च बाग्डोर भने राजाकै हातमा रह्यो । काङ्ग्रेसको नेतृत्वमा राज्यशासन चल्दै थियो । यस्तैमा देशको अवस्था बुभ्mन भनेर २०१६ सालमा राजा महेन्द्रले देश भ्रमण गरे । गुल्मी भेगमा राजाको सवारी चलाउँदा किशोर चन्द्र पनि घरबाट भागेर एक जना साथीसँग सवारीको तामझाम हेर्न पुगेका थिए । 

यता देशदर्शनपछि राजा महेन्द्रले २०१७ साल पौष १ गतेको दिन शाही घोषणा गरेर बहुदलीय व्यवस्थाको अन्तसँगै संसद विघटन गरे । बि.पी. लगायत नेताहरू बन्दी बनाइए । चन्द्रका दाजु यज्ञप्रसाद नेपाली काङ्ग्रेसले चलाएको सशस्त्र क्रान्तिमा लागे भने त्यसैको बहानामा बडा हाकिमले पिता पोमनारायणलाई बन्दी बनाएर पाल्पा जेल पठाए ।  पछि क्रान्ति स्थगन भै नेताहरू भारतको बनारसतिर लागे । पिता थुनिएको समयमा गरेको चन्द्रको पाल्पा तानसेन यात्रा नियात्राजस्तै रोचक छ । यो चौथो सर्ग राजनीति पर्वमा आएका केही श्लोकहरू तल दिइएका छन्—

(क)  कांग्रेसी सरकारमा सहज नै बीपी भए नायक
    गार्खा त्यो दलका विपक्ष प्रमुखै राम्रो भयो संसद
    राजा ती अभिभावकै हुन गए चित्तै सबैको बुझ्यो
    बस्तीमा अब ता स्कुलै पनि हुने आश्वासनै पाइयो । ४–५

(ख)  भैगो नौलो अनुभव त्यहाँ तानसेनै खडा छ
    ओहो कस्तो अति छ रसिलो त्यो त स्वर्गै रहेछ !
    हेर्दा आँखा झिमिक नगरी हेरिरौँझैँ भएछन्
    कस्ता राम्रा युवति रसिला भर्न पानी हिँडेछन् ।  ४–४७ 

सर्ग ५ः वाराणसी पर्व

यो पाँचौँ सर्गमा दाजुकासाथ पढाइका लागि किशोर चन्द्र वाराणसी जाने क्रममा घरबाट प्रस्थान गर्छन् । रिडी, हाडथोक र मस्याम हुँदै उनीहरू तीन दिन लगाएर बटौली पुगेका हुन्छन् । त्यहाँको थोत्रो बस चढेर दाजुभाइकोयात्रा  नौतनवातर्पm मोडिन्छ । त्यहाँबाट पनि रेलगाडी चढेर गोरखपुरहुँदै वाराणसी पुगेको र त्यहाँको झिलिमिली र विकसित रूप देखेर उनी चकित हुन पुगेको विवरण नियात्रा लेखनको शैलीमा रोचक ढङ्गले दिइएको छ । गङ्गातीर ब्रह्माघाटमा बसेर संस्कृत पूर्वमध्यमा अध्ययन गर्दै रहेका चन्द्रलाई विज्ञ गुरु गुल्मीका टीकाराम पन्थीले संस्कृतको न्याय दर्शन र हिन्दी विषयमा थप मद्दत गरेका हुन्छन् । त्यसपछि दाइ ज्ञानहरि आचार्यको निर्देशनमा उनको अध्ययनको दिशा अङ्ग्रेजीतिर मोडिन्छ र पहिले हाइस्कूल प्रथम श्रेणीमा उत्तीर्ण भै दाइकै निर्देशनमा विज्ञान र गणित विषय लिई आइ.एस्सी.तिर अगाडि बढ्दछन् । केही उदाहरणहरू पाठकीय आस्वादकालागि तल दिइएका छन् —

(क)  त्यो बेला भनिने बटौलि शहरै मध्यान्हमा पो पुग्यौँ
    त्यो देख्ता अति नै अचम्म परियो हामी सबै पो रम्यौँ
    ठुल्ठूला घर थे र त्यैँ किसिमकै बाटा पनि देख्तथ्यौँ
    यात्राका बस चल्दछन् सडकमा भन्ने कुरा सुन्दथ्यौँ ।   ५–२४

(ख)   राम्रो बनारस भनी यसको महत्व
    उद्योग, शिक्षण तथा व्यवसाय तत्व
    संसारमा परिचितै गतिलो यही हो
    यै नै बसी अब पढौँ अति भाग्य राम्रो ।     ५–३५

सर्ग ६ः किशोर काल

बनारसमा आइ.एस्सी. परिक्षामा सामेल भएर घर वाङ्ला आएका किशोर वयका चन्द्र आचार्यमा आफ्नो थात थलोको मोह, वन—पाखा र लता—वनस्पति प्रतिको आकर्षण र सुन्दरी पर्वतीय नारीप्रति प्रणय भावको अङ्कुरण, भित्रभित्रै सन्तोष र तृप्तिका साथै एक वृद्धाप्रति उपेक्षा भावजस्ता संवेदनाहरू जागृत हुन थाल्छन् । वृद्धाले भनेको छिटै बूढो हुने अनुभवको कुरामा कविले लामो तर्क गरेर जीवनसम्बन्धी राम्रा  कविता लेखेका छन् । यसरी आफ्नै सेरोफेरोमा, आफ्नै खुशियालीमा रम्दारम्दै उनलाई बनारसबाट विशेष खुशी र सफलताको पत्र आइपुग्छ —आइ.एस्सी. तहमा प्रथम श्रेणीमा उत्तीर्णता प्राप्त भयो भनेर ।

इञ्जिनियरिङ् पढ्न प्लानमा विदेश जाने प्रयास हुनथाल्छ । प्लानमा रुस जाने स्वीकृति प्राप्त हुन्छ । यसै समयमा काव्यनायकको मनमा आएको उथलपुथलले कवि कालिदासको मेघदूतको स्मरण गरेर मेघमार्फत नेपालबाट साइबेरिया फर्केका चराहरूमा खबर पठाएको र मेघले वाङ्ला पुगेर त्यहाँ जनसेवामा लागेकी आमाको आशिर्वाद साइबेरिया पु-याएको बिम्बात्मक सुन्दर प्रस्तुतिले यस सर्गलाई अत्यन्त रोचक बनाएको छ । कृतिबाट केही उदाहरण—

(क)  डाँडा जङ्गल ती सबै जति हिँड्यौँ बालै त बेला हुँदा
    ऐले फेरि मनै फुरुङ्ग हुन गै ती ठाउँ जाऔं हुँदा
    गाई गोरु लिई बनै हिँडिगयो संझी पुराना थला
    साना ती सब नै मिले अति खुशी रम्ने तिनै साथमा । ६–२

(ख)  गोरो वर्ण मुहार सुन्दर थियो आँखा थिए तिक्खर
    पुष्टै त्यो रसिलो शरीर सहितै आकर्षकै झल्मल
    त्यस्ती ती कलिली पहाडरमणी एक्लै बसेकी थिइन्
    सुन्सानै परिवेशमा त्यस जगै नैराश्यमा देखिइन् ।     ६–६

(ग)    यो हो जीवन सागरै हरघडी आनन्दका छाल छन्
    त्यस्मा तैरनु औ खुशी टिपिदिनू छालै खुशी रूप हुन्
    यस्तो यो अति नै निरन्तर हुने धन्दा सबै धन्य छ 
त्यस्तो सोच सधैं रहन्छ जन ती हुर्की रहेका सित ।  ६–४९

सर्ग ७: रुसपर्व—१

प्लानमा इञ्जिनियरिङ् पढ्नको लागि चन्द्रकान्त आचार्य सन् १९६७ सितम्बरमा साथीहरू आमोदमणि दीक्षित र भेषराज कडेंलसँग काठमाडौंबाट दिल्ली हुँदै रुसतर्फ प्रस्थान गरेका हुन्छन् । दिल्लीबाट एरोप्mलोट विमानमा यात्रा गर्दै अरु विद्यार्थी साथीहरुसँग चिनजान गर्दै उनीहरू रमाइलोसँग मास्को विमानस्थल पुग्दछन् । त्यहाँ उनीहरूलाई लिन आएका पुराना नेपाली साथीहरुसँगै मास्को शहर र रमाइला मास्कोका नरनारीहरूलाई हेर्दै उनीहरू मास्को स्टेट युनिभर्सिटीका होस्टलमा पुुग्दछन् र रातको बसाइ त्यही हुन्छ । अर्को दिन बिहानैदेखि मास्को सहर घुमाइन्छ, प्लेनमा र मास्कोमा पनि रुसी सुन्दरी युवतीहरूका मुस्कानपूर्ण व्यवहारले तिनीहरूलाई आकर्षित गरेको हुन्छ । 

यसरी मास्को शहरमा मन बसेको बेलामा बेलुकीतिर रुसी अधिकारीहरूद्वारा विभिन्न शहरमा पढ्ने गरी पठाउनका लागि नाम किटान गरिन्छ । तिनीहरूमध्ये धेरैले मास्को बाहिर खटाइदा नरमाइलो मान्दछन् । केही मात्र साथीहरू मास्कोमा बस्ने हुन्छन् भने धेरै मेडिसिन पढ्ने साथीहरूलाई युक्रेनको खार्कोभ र सिभिल इञ्जिनियरिङ्तिरका देवेन्द्र गङ्गोल, टङ्क उप्रेती र बलराम पन्तसहित काव्य नायक चन्द्रलाई युक्रेनको राजधानी किभ खटाइन्छ । मास्को छाडेर किभ जान रुचि नभए पनि त्यता जाने रेल चढेपछि रुसी यात्रीहरूका स्नेहपूर्ण व्यवहारले तिनीहरू पुलकित हुन्छन् । काव्यनायकले आत्मालाप शैलीमा यस रमाइलो यात्राको विवरण दिएकाछन् । कविकै शब्दमा केही श्लोकहरू—

(क)  कस्ता ती रसिला र धेर हसिला मायालु मान्छे थिए
    गोरा ती महिला सुरम्य तरुणी हेर्दै रहूँ लाग्दथे 
    त्यस्ताका अघि भै प्रतीक्षित हुँदा हामी प्रसन्नै थियौँ
    पास्पोर्टै दिइयो सस्नेह तिनले हेर्दा त मुग्धै भयौँ ।    ७–२०

(ख) त्यो सानो मठमा धुरन्धर महान् लेनीन उस्तै थिए
    त्यै नै बाहिर ता निरन्तर हुने पाले सिपाही थिए
    अर्को त्यै पछिपट्टि स्मारक थलो जो देशभक्तै थिए
    त्यस्ता ती जन नायकै सरह थे निर्माण औ क्रान्तिले ।  ७–३०

(ग)  मायालु ती गजबकी बुिझछन् म भाग्थेँ
    नास्ता गरून् अरु भनी तब जान खोज्थेँ
    छोपिन् नि हात तिनले म त जिल्ल पर्दो 
    मुस्कानले भनिदिइनर्् अब मित्र हाम्रो’ ।      ७–५६

सर्ग ८ः युक्रेन पर्व

काव्यनायक चन्द्रकान्त साथीहरुसँग युक्रेनको राजधानी शहर किभ पुगेका हुन्छन् । हरित नगरी किभको सौन्दर्यले उनीहरूलाई आकर्षित गरेको हुन्छ । हुलाकबाट टिकट किनेर घरतिर चिठी लेख्छन् । टिकट बिक्री गर्ने युक्रेनी सुन्दरीका मुस्कानपूर्ण हावभावको यस सर्गमा तारिफ गरिएको छ । पुराना नेपाली साथीहरूबाट सहयोग पाएका हुन्छन् र रुसी तथा युक्रेनी साथीहरुसँग मिलेर कोठामा बस्ने व्यवस्था हुन्छ । सर्वप्रथम रुसी भाषाको पढाइ शुरु हुन्छ । गोरो वर्ण, मोहनी स्वरूप, मखमली आँखा र मुस्कानयुक्त आकर्षण भएकी गुरुमा नतालियाले रुसी भाषा पढाएकी हुन्छिन् । शदभण्डार र व्याकरणको पढाइ हुन्छ । 

यस युक्रेन पर्वमा धेरैजसो सन्दर्भहरू रुसी–युक्रेनी नारीहरूको सौन्दयर्, उनीहरुसँग विशेष अवसरमा नाचगान र रमाइलो वातावरणसँग सम्बन्धित छन् । जाडोको बिदामा कीभ नजीकै एकान्त वनमा रहेको आरामगृहमा यौटी सुन्दरीसँग नाचेको रमाइलो वर्णन र तिनको सुन्दरताका बारेमा लेखिएका कविता उत्कृष्ट छन् । यो घटना चिरस्मरणीय भएको छ र पछि पनि प्रथम वनबास भनेर सन्दर्भ जोडिने गरेका छन् । केही उदाहरणहरू— 

(क)   केटी थिइन् हँसमुखी प्रिय शब्द बोलिन्
    के बुझ्नुथ्यो तर त्यहाँ मधु नै त घोलिन्
    प्रत्येक शब्द तिनका प्रिय धेर लाग्छन्
    बोल्दै रहुन् प्रिय तिनी मन सुन्न माग्छन् ।  ८–२०

(ख)  लेख्नै ता अझथ्यो विचित्र रसिला मास्कोतिरैका कुरा ।
    आगो त्यो कसरी निरन्तर रह्यो भन्दै सुनाऊँ पुरा
    नेपाली जति छन् विदेश भरिमा चिन्ता त आफ्नै धरा
    भन्ने यो गतिलो रहस्य बुझियो हामी त छैनौं बरा !  ८–३०

(ग)  कस्तो हो कमलो शरीर तिनको नौनी हुँदो हो कडा
    ओँठै ती कति लाल मस्त रसिला पीयूषका ती घडा !
    आँखा जुध्न पुगे भयो रमरमै आनन्द वर्षा भयो
    सासै त्यो नजिकै हुँदा मन भने डुब्द्यौं त्यहीं झैं भयो ।  ८–८१ 

सर्ग ९ः रुस पर्व—२
युक्रेनको किभमा रुसी भाषा सिकेर सर्भे इञ्जिनियरिङ् पढाइको लागि चन्द्रकान्तलाई त्यस विषयमा राम्रो पढाइ हुने मास्को सर्भे इञ्जिनियरिङ् इन्स्टिच्युट पठाइयो । एक वर्षको किभ बसाइमा त्यहाँको माटोले बिर्सिनसक्नु माया बसालिदियो र मास्को जानुपर्दा यिनी दुःखी हुन्छन् । मास्कोमा पुगेर तिनी शुरुको सैद्धान्तिक कक्षामा अबोध जस्तै भएर सामेल हुन्छन् । तर प्राक्टिकलमा आप्mनो कक्षाका छात्राहरुसँग चिनजान हुन्छ र रुसी छात्रा नीनासँग तिनकै अनुरोधमा जोडी भएर काम गर्न लाग्छन् । 

पछि आफ्नो इन्स्टिच्युटमा अत्यन्त रमाएर सैद्धान्तिक र प्राक्टिकल कक्षामा सक्रिय रूपले सरिक भएर पाँच वर्षको अध्ययन पनि लगभग पूरा हुन्छ । समय—समय ब्ल्याक सी आदिमा रुसी युवतीसँगका नाचगान, प्रेमास्पद साहचर्य भ्रमण, नेपाली छात्र संघ सोभियत संघमा सक्रियता, किरण पत्रिकामा कथा—कविताहरू प्रकाशन, ठाउँठाउँ भेट भएका युवतीहरूका प्रेमपत्रहरू, चार वर्षको पढाइपछि पाँचौ वर्षमा फिल्डसम्बन्धी क्रियाकलाप, युरोप भ्रमणको सन्दर्भमा फ्रान्सको पेरिस र जर्मनीका शहरहरूको सुखद भ्रमण, यात्रामा भेट भएका युवतीहरुसँगको प्रणय सम्बन्ध र अन्तमा पाँच वर्ष पूरा भएपछि इञ्जिनियर बनेर नेपाल देश फर्कने तयारी र उत्सुकता जस्ता विविध सन्दर्भहरू यहाँ दिइएका छन् । 

वास्तवमा यो नवौं सर्ग (रुस पर्व—२) यस महाकाव्यको आत्मा हो । कविले जनाउन चाहेको मूल सन्देश पनि आप्mनो विशेष अध्ययन नै हो । सर्गभरिमा बृहत् सर्ग पुगनपुग डेढ सय श्लोकले यो सर्ग निर्मित भएको छ । यस सर्गलाई मात्रै लिएर भन्ने हो भने यो रुस पर्व—२ लघु खण्डकाव्य नै हुन पुगेको छ । यस सर्गबाट केही उल्लेख्य उदाहरण दिन उपयुक्त लागेको छ, ती हुन् —

(क)    प्रश्विस्येनिय त्यो गली जुन थियो त्यै थे मिलेका सबै
    जो जो थे जतिसाथ मित्र भइयो या स्नेह छोंटो कतै
    त्यो कस्तो रमणीय नृत्य जुन थ्यो सम्झन्छु मैले सधै
    ती स्नेही प्रिय बन्धु जो जति थिए आत्मीय जस्ता सबै ।  ९–५

(ख)  थ्यौरी कक्षा अति कठिन थ्यो भौतिकी त्यो परेछ
    मैले भाषा जतिसिकिसकेँ त्यो त थोरै रहेछ
    लाटो जस्तो भइकन म ता कीभ नै संझिहालेँ
    कोही छैनन् यस मुलुकमा पीर पो गर्नथालेँ ।     ९–२४

(ग)   मेरा सामु पुगेर एक रुपसी मुस्कान छर्दी भइन्
    तिम्रोसाथ म हुन्छु है प्रिय सखा, भन्दै रमाईरहिन्
    ‘नीना हूँ म’ भनेर हात तिनले सस्नेह तेस्र्याइदिन्
    मैले हात त्यसैगरी दिनुप-यो जोडी सकार्दै रह्यौँ ।  ९–३२    

(घ)  मुसारिन् तिनले खाम सके ओँठ पु-याइदिन्
    कति तल्लीन भै यस्ता राम्रा अक्षर लेख्दिइन्
    कसरी झटपट् खोल्ने च्यातिएलान् कि अक्षर
    त्यस्तो केही हुने हो कि हात काम्छन् नि थर्थर !   ९–७०

सर्ग १०ः नेपाल पर्व
मास्कोबाट सर्भे इञ्जिनियर बनेर आमोदमणि दीक्षितसँगै नेपाल फर्केका चन्द्रकान्त आचार्य आमोदकै घर कालिकास्थानमा पहिलो वास बस्छन् र पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितसँग पनि भेटघाट र आत्मीयता हुन्छ । देशमा सर्भेको कामको लागि संयुक्त राष्ट्रसंघबाट खटिइ आएका विज्ञहरुसँग काम गर्न सर्भे विज्ञका रूपमा चन्द्रकान्त आचार्य भर्ना हुन्छन् र आप्mनो सीप र क्षमता प्रदर्शन गरेर सम्बन्धिित क्षेत्रमा विशेष प्रभाव पार्छन् । यस्तैमा संस्थाप्रमुख भै काम गरिरहेका चेकोस्लाभाकियाका विड्नर हेलिकोप्टरमा पश्चिमतर्पm काम गर्न जाँदै गर्दा चन्द्रकान्त पनि टोलीमा समावेश हुन्छन् र काम सकेर फर्कदा आप्mनो जन्मथलो वाङ्लामा अ‍ोर्लने अवसर पाउँछन् । त्यहाँ आप्mना आमाबुबा र आफन्तहरुसँग भेटघाट हुन्छ । केही दिनमै उनी सर्भेको काम गर्न तोकिएको पाल्पा जिल्लको मस्यामतिर जादै गर्दा नेपाल भारत सिमाना सर्भेमा विशेज्ञको रूपमा खटिएको खबर आउँछ र सिमाना सर्भेमा जान्छन् । नेपाल प्रत्यागमनपछि  काममा सक्रिय भएर लागेको रमाइलो वर्णन यस पर्वमा गरिएको छ । । कविकै शब्दमा केही उदाहरणहरू— 

(क)    पालुवा हुर्किदै जाने हुर्केका पूर्णतातिर
    नया पल्लव जाग्ने हुन् दुनिया छ निरन्तर
    यही नियम लागेको भेटियो नि घरैतिर
    गति जीवनको मान्दै अब जाने परैतिर ।    १०–२६

(ख)    विदेशी सहयोगै थ्यो नेपाली कार्य क्षेत्रमा
    संयुक्त राष्ट्रसंघैका कर्मचारी विभागमा
    सर्भे विभाग यौटामा विदेशी विज्ञमा थिए
    काम गर्न तिनैसाथ मैले नियुक्ति नै लिएँ ।   १०–२७

(ग)    अहो कस्तो राम्रो प्रकृति बढिया ठाउँ रसिलो
    यहाँका मान्छेमा अति मृदुलता स्नेह दरिलो
    यहाँ मिल्छिन् राम्री कुसुम कलिली दिव्य तनकी 
    मनैमा त्यस्तो थ्यो अनि तब मिलिन् ती गजबकी ।   १०–६२
             
सर्ग ११ः निर्मला पर्व
यो सर्ग यौटा लघु खण्ड काव्य जस्तो छ । तानसेन नारानटोलका प्रसिद्ध पाल्पाली कवि छविलाल नेपालका नाति वैकुण्ठकी सुपुत्री निर्मला यस काव्यकी नायिका हुन् । उनको मनमा रुसमा पढ्ने चन्द्र बसेको हुन्छ भने त्यहाँ पढिरहेको नायक चन्द्रको मनमा कुनै परीको प्रतिबिम्ब बसेको हुन्छ । त्यस्तो बिम्ब मनमा राखेर नेपाल फर्केपछि धेरै लामो समय बित्दा पनि उसले मनको बिम्ब भेटाउँदैन । धेरै समयपछि खोजेजस्तो भेटिने आशा मरेकाले विवाह गर्न प्रस्तुत अर्कै कन्याको बारेमा निर्णय गर्न ऊ आप्mनो दाइका साथी बूढानीलकण्ठ स्कूलका शिक्षक रमेश शर्माको निवासमा पुगेर त्यहाँको ढोकामा घण्टी बजाउँछ । त्यसपछिको कुरा कृतिबाट— 

(क)   अहो ढोका खुल्दा सररर मनै हर्षित भयो
    प्रकाशै आयो है अब त नयनै चम्कनु थियो
    त्यता हेर्दा हेर्दै अब मुटु यसो ढक्क फुलिगो
    अहो त्यस्तो जादू तब मन यसै मक्ख परिगो ।   ११–४७

(ख)    म ता सोच्तै गर्दा प्रथम बनबासै पुगिसकेँ
    त्यही बल्दो ज्वाला चहक मुख यैंँ दर्शन गरेंँ
    यता बोल्ने सोच्ने मन मुटु कता डुल्न दरिने
    अचम्मै जस्तो भो अब त मन यो मस्त रहने ।   ११–४९

(ग)    उड्दैथे कति त्यैँ चरी भरररै जाने उतै हो जसो
    त्यै साथै बससङ्ग नै उडिरहून् भेटेर आऊन् यसो
    ‘भन्देऊ गतिली चरी अब यता कुर्दैछ कोही भनी’
    पैले नै मनका कुरा कति गरे सैबेरियाका चरी !  ११–५७

(घ)    परैदेखि तिनी ऐले मुस्कुराइन् मजैसित
   सम्झेँ मैले उही नृत्य मुस्कुराहट तीसित
    नजीकै म भएँ ऐले छम्छम् नाँचौं भयो त्यही
    हिड्दैछौं अब सङ्गै नै रम्दो यो मन सर्सरी ।       ११–१००

सर्ग १२: बेलायत पर्व

सर्भे इञ्जिनियरिङ सम्बन्धी सरकारी कामकाज गर्दै रहेका इञ्जिनियर चन्द्रकान्त आचार्यलाई बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा सर्भे अनुसन्धान विशेषज्ञता सम्बन्धी उच्च अध्ययन गर्न जाने अवसर मिल्यो, सीट प्राप्त भयो । भर्खरैजसो विवाह भएको घरपरिवारसँग अलग्गिन कठिन भयो नै, तर पनि यो सुविधा नगुमाउने सोँचाइले उनी बेलायत पुगे र अनुसन्धान तालीममा संलग्न भए । नेपालबाट श्रीमतीसँग बिदा हुदा ‘मुना मदन’को संझना भएको, बेलायतमा विभिन्न विदेशी र नेपाली मित्रहरुसँगको बसाउठी आदि र यता सन्तान जन्मने समय भएकोमा चिठी नपुग्दा अत्यास लागेको र छोरी जन्मेको खबर पाएपछि उनमा देखिएको खुशियालीआदि गतिविधिलाई कृतिकै शब्दमा हेरौं —

(क)र्    मुना मदन’ पो सम्झ्यौँ हामी दुई परस्पर
    आफ्नै किसिमका यस्ता बाध्यता छन् निरन्तर
    न गएको भए हुन्थ्यो भोट ती मदनै तब
    निर्मला मनमै राख्छिन् पुरानो विषयै अब ।      १२–११

(ख)   मुना ती किन रोई हुन् गरीबी बाध्यता थियो
    घटना नहुनै पर्ने पीडा त्यो अति नै भयो
    अब त्यस्तो हुने छैन कथा अर्कै बनाउँला 
    सपना विपना बन्लान् पैल्र्यै  मदन’ आउला ।   १२–१२  

(ग)    मेरी प्यारी, अब त कसरी रात काट्ने गरौली ?
    धोबीधारा घर बसिबसी पत्र लेख्तै रहूली
    उड्थे त्यस्ता चिरिबिरि चरी देह तिम्रो रमेथ्यो
    सम्झी त्यस्तो युवक भरिलो नाम आफै फिरेथ्यो । १२–१७

(घ)  हाँस्यो केन्द्रै त्यहाँको सकल जनसितै घाम हाँस्यो त्यहाँको 
    हाँस्यो अक्स्फोर्ड मेरो अति चमकसितै ब्यान्बरी रोड हाँस्यो
    हाँस्यो मेरो अनौठो मन कति दिन यसै तर्सिई फर्किएको 
    हाँस्यो भूमण्डलै यो अति चहकसितै घामले रन्किएको । १२–८७

सर्ग १३ः बहुदल पर्व

बेलायतमा विशेष अध्ययन गरी नेपाल फर्केको समयमा नेपालमा निर्दलीय पञ्चायत व्यवस्था हटाएर बहुदलीय व्यवस्था ल्याउन आन्दोलन चर्कदै थियो । २०३६ सालमा विद्यार्थी आन्दोलनबाट बाध्य भएर राजा वीरेन्द्रले निर्दल कि बहुदल भन्ने विषयमा जनमत सङ्ग्रह घोषणा गरे । २०३७ सालमा जनमत सङ्ग्रह भयो तर षड्यन्त्र गरेर निर्दललाई जिताइयो । बहुदलवादी प्रजातान्त्रिक र साम्यवादी नेता कार्यकर्तामाथि दमन, धरपकड र जेल हाल्न रोकिएन । इञ्जिनियर चन्द्रकान्तले पनि सरकारी सेवामा राजीनामा दिएर स्वतन्त्र पेशा अगाल्नुप-यो । २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको आन्दोलन चर्कदै गयो । बाध्य भएर राजा वीरेन्द्रले बहुदलीय शासन व्यवस्थाको घोषणा गरे । २०४७ सालमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको संविधान बनेको विवरण यस सर्गमा दिइएको छ । कृतिबाट नै केही उदाहरण लिइएका छन् —  

(क)  छत्तीस जुन थ्यो साल विद्यार्थी उर्लदै रहे
    मत्थरै गर्नको लागि राजाले घोषणा गरे
    चुनाव अब गर्नेछन् जन आपैm परस्पर
    व्यवस्था अब फेर्ने कि यसैलाई निरन्तर ?   १३–४

(ख)   यस्तोमा सुनियो ऐले समाचार भयङ्कर
    पञ्चायत विरोधीको निकाल्नैपर्छ जागिर
    मन्त्री प्रधान आफैले नाम मेरो किटीदिए
    कम्युनिष्ट बढाएको भन्दै पर्चा खडा गरे ।   १३–८

(ग)   सिर्जिने अब कामै हो आफै यन्त्र चलाउने
    डाँडा पाखा र मैदान यात्रा गर्दै रमाउने
    पहाड कति राम्रो छ मधेश सुगमै अति
    यन्त्र बोकी हिडे मात्र देखिन्छ देशको गति ।  १३–३०

सर्ग १४ः ज्ञान पर्व

इञ्जिनियर चन्द्रकान्त आचार्यले जीवनको यथार्थ बोध गर्दै आफ्नै पारिवारिक थितिबारे चर्चा गर्न थालेका हुन्छन् । अत्यन्त असमयमा ममतामयी आमा र त्यसको पाँच वर्षपछि पिताजीको निधनले घरमा पीडा थपिएको थियो । तर पाँच भाइ र दुई बहिनी सकुशल र सक्रिय रहेको अवस्थामा २०५५ सालमा अचानक सबभन्दा कान्छो भाइ कृष्णचन्द्र आचार्यको ४२ वर्षको उमेरमा निधन हुन्छ । 

त्यसले परिवारमा थपेको पीडा सेलाउन नपाउँदै देशमा र परिवारमा थप पीडा थपिदै जान्छन् । देशमा माअ‍ोवादी जनयुद्ध चलिरहेको अवस्थामा २०५८ सालको दरबार हत्याकाण्डले राजा वीरेन्द्रको वंशनाश हुन्छ । राजा ज्ञानेन्द्रले देशको वागडोर सभाल्छन् । लोकतन्त्रका लागि आन्दोलन चर्किदै जान्छ । २०६२–६३ सालमा माओवादीसहितका साम्यवादी र प्रजातन्त्रवादीको संयुक्त आन्देलनले गर्दा राजा ज्ञानेन्द्रले राज्यसत्ता छोड्न बाध्य हुनुपर्छ । राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्रको स्थापना हुन्छ ।

यसै अवधिभित्र २०६३ सालमा चन्द्रकान्तका  ठुल्दाइ यज्ञप्रसाद र २०६७ सालमा माइल्दाइ ज्ञानहरि आचार्यको निधन हुन्छ । उता गुल्मीमा शिक्षा सेवा गरेर रेसुङ्गा क्याम्पसको  स्थापनासमेत गरेका त्यहाँको जनताका श्रद्धेय गुरुको  सम्झनामा क्याम्पस प्राङ्गणमा ज्ञानहरि आचार्यको सालिक स्थापना हुन्छ । यिनै विविध पक्षलाई यस सर्गले सविस्तार वर्णन गरेको छ । केही उदाहरणहरू—
  
(क)   विश्वेश्वर सही भन्थे सुकिला भइ बिग्रने
    क्रान्तिकारी उनै नेता आफ्ना घर बनाउने
    आफ्नो मात्र गरे चिन्ता देशको दुर्दशा भयो 
    जनयुद्ध गरौँ भन्दै माओवादी उठी गयो ।      १४–३९

(ख) अन्ठाउन्न थियो साल यस्तै यस्तै चलीरह्यो
    जेठको एक रात्रि थ्यो कालरात्रि भई गयो 
    राजा वीरेन्द्रको मृत्यु वंश नै पूर्णनाश भो
    दरबार भयो ध्वस्त परिवार सखाप भो ।        १४–४५

(ग)  त्रिसट्ठीको शुरूमा नै राजसत्ता ढलीगयो
    गणतान्त्रिक नेपाल सङ्घीयता थपीदियो
    सबै पार्टी मिलीजाँदा क्रान्ति त्यो त्यसरी फु-यो
    तर चिन्ता थियो ज्यादै संख्या शहीदको ठुलो        १४–५३

(घ)  गुल्मीका जनले अत्यन्त गहिरो श्रद्धा र माया दिए
    रेसुङ्गा जुन क्याम्पसै प्रिय रह्यो भेला सबै त्यैँ भए
    शिक्षाको जगपूर्तिका गुरु तिनी बाँचून् सधै त्यैँ भने
    निर्माणै गरिएछ सालिक त्यहाँ दाज्यै त्यही बस्दिए । १४–५९

सर्ग १५ : दुर्घटना पर्व

२०७१ साल वैशाख महिना, वराह क्षेत्रको तीर्थ भ्रमणका लागि चन्द्रकान्तका दाजु जनार्दन श्रीमती मीना, छोरा डाक्टर विष्णु र काकी शान्तासहित अर्घाखाँची सन्धिखर्कबाट बसमा चढ्छन् , खचाखच यात्रु रहेको बस प्रस्थान गर्छ । सन्धिखर्कबाट छुटेको बस केही समयमा नै जगत भन्ने ठाउमा दुर्घटना हुन्छ । २० जनाको ज्यान जान्छ । आचार्य परिवारका तीन पुस्ता शान्ता, जनार्दन–मीना र डा. विष्णु आचार्यको निधन हुन्छ । चन्द्रकान्तसहित आफन्तहरू रुँदै चिच्याउँदै ठाउँठाउँबाट सन्धिखर्क पुग्छन्, कोलाहल मच्चिन्छ । सन्धिखर्क अस्पतालमा काम गर्ने अत्यन्त सामाजिक खालको डाक्टर विष्णु अचार्यको निधनमा जिल्ला नै शोकग्रस्त हुन्छ । शोकसभा हुन्छ र चार शव वाङ्लाको घरमा पु¥याइन्छन् । कवि चन्द्रकान्त विलाप गर्छन्—

(क)  भान्सा त्यो अब दूरको स्मृति भयो बस्थिन् सदा भाउजू
    पूजाको थल त्यो कठै अब रुने दाज्यै, म के पो भनूँ ?
    छोरा डाक्टर आइ जाँचिरहने मान्छे सबै भित्रिने
    त्यस्तो त्यो घरका कुना अब सबै रोई विदा गर्दिने !  १५–३८

(ख)  ज्येष्ठ पुत्र तिनैको हो विष्णु अब्बल डाक्टर
    वंशमा अति राम्रो त्यो गर्ने सेवा निरन्तर
    शिक्षा जापानमा भैगो काम त्यैँ गर्न मिल्दथ्यो    
    तर विष्णु अचम्मैको गाउँमा बस्न खोज्दथ्यो ।     १५–१०
 
(ग)   गरीब निमुखा जो छन् तिनैका हितमा बस्यो
    परित्यक्त सबैबाट एक व्यक्ति त्यहाँ मिल्यो
    कुष्ठ रोगी भनी हेला अचम्मको परिस्थिति
    मिलायो विष्ण्ुले हात सुझायो नि त्यहाँ थिति ।   १५–११

(घ)  यस्तो दुःख र पीडाको संयोग भोग्नु नै प-यो
    न परोस् है कसैलाई यस्तो संयोग कष्टको
    कामना मनमा गर्दै जे भयो सहनै प-यो
    लेख्तै यो दुःखको गाथा स्मारिका रचिने भयो ।  १५–५३

अर्को वर्ष २०७२ सालको वैशाखमा नेपालमा ठूलो भूकम्प जान्छ, धेरै हताहत हुन्छन् यिनै पारिवारिक र देशमा परेका विपत्तिको बारेमा यस सर्गमा वर्णन गरिएको छ ।

(ङ)  यस्ता रीतसितै सहन्छ जनले अर्को दिनै कुर्दछ
    अर्को त्यो दिन फेरि झट्ट सुकिलो केही नयाँ भन्दछ
    पातै ती हरिया फिरे सब जगै जाग्दो नयाँ जीवन
    विर्सीद्यौँ सब ती कुरा विगतका सोचौँ नयाँ उद्यम । १५–५९

सर्ग १६ः मानवी पर्व

साहित्यकार चन्द्रकान्त आचार्यले आप्mना दिवङ्गत बाबु—आमाको शतवार्षिकी स्मारिका निकालेका र त्यसको विमोचन २०७२ साल चैतमा तत्कालीन मन्त्री शान्ता मानवी दिदीबाट गराइने कार्यक्रम रहेको हुन्छ । बालवयमा शान्ता दिदीसँग साथै हुर्के—बढेको र खेलेको आत्मीयताले पनि उनमा यस्तो चाहना भएको हो । यस प्रसङ्गले शान्ता मानवीको संघर्षमय जीवनलाई सम्झाउन पुग्छ । 

शान्ता बालविधवा, पीडित नारी हुन् । वैधव्य जीवनमा घरबाट उपेक्षा हुने नै भयो र माइतीमा पनि सधै अटाउने कुरा रहेन । त्यसैले दिदी शान्ताले २०२६ साल फागुनमा मध्य रातमा अज्ञात कामका लागि घर छाडिन्, एक मनले रिडी पुगेर गण्डकीमा हेलिने विचार पनि नभएको होइन । तर दह्रो मन गराएर अगाडि बढिन् र पढ्ने चाहनाले एक्लै दिल्ली पुगिन् । भाँडा माझ्ने काम गरेर पनि पढ्न थालिन् । 

शान्ता दिदीको रूप सौन्दर्य र जवानी देखेर आएको विवाह प्रस्ताव उनले ठाडै अस्वीकार गरिन् । त्यसपछि ज्यादै असहज परिस्थिति सिर्जना भएकोले धेरै टाढा गएर हराउने मन भएको बेलामा उनलाई खोज्दै मीत दाइ मोदनाथ प्रश्रित दिल्ली आइपुग्छन् र तिनलाई भेटाउछन् । त्यसपछि शान्ता दिदी मोदनाथसँग बनारस जान्छिन् । बनारस आएपछि उनी शान्ता मानवी बनिन् र पढ्न शुरु गरिन् । त्यहाँ नेताहरूको सम्पर्क र राजनीतिक किताबहरूको अध्ययनले तिनी वामपन्थी राजनीतिमा आकर्षित भइन् । बनारसमा मोदनाथ प्रश्रितले उनको संघर्षमय जीवनमा आधारित ‘नारी बन्धन र मुक्ति’ किताब लेखे । त्यो किताब शान्ता मानवीले प्रकाशित गरिन् । यसरी उनमा आत्म गौरव बढ्नुका साथै जुझारु शक्तिको विकाश भयो । २०३२ सालदेखि शान्ता मानवी गोप्य रूपले नेपाल प्रवेश गरिन् र तराइमा भूमिगत रहेर कम्युनिष्ट संगठन बढाउन लागिन् । २०४६ सालको संयुक्त जन आन्दोलन सफल भएर बहुदलीय व्यवस्था आएपछि उनी सांसद पनि भइन् र २०७२ सालमा मन्त्री बनेकी हुन् । यही मौका छोपेर चन्द्रकान्तले शान्ता मानवी दिदीबाट स्मारिका विमोचन गराउन चाहेका हुन् ।

ऐन मौकामा अस्वस्थ भए पनि दवाइ खाएर उनी स्मारिका विमोचन गर्न वाङ्ला पुगिन् । सन्धिखर्कबाट वाङ्लातिर लागेको मन्त्रिको गाडीसँगै प्रजिअ, प्रहरी र सेनाका प्रमुख तथा अन्य सरकारी तथा सामाजिक व्यक्तिहरूको लस्कर देखेपछि कवि चन्द्रकान्तले पूर्वस्मृतिको माध्यमबाट पचास वर्ष पहिले जिल्लामा दौडाहा आएको बेलामा बस्न खान सम्पत्ति दिलाइदिन्छन् कि भनेर घोडामा चढेका दौडाहा हाकिमहरूको पछि धुलो बाटोमा शान्ता दिदी दौड्नु परेको र कैयौँ दिन तिनका पछि लाग्दा पनि न्याय नपाएको मार्मिक प्रसङ्ग जोडेका छन् । केही उदाहरण काव्यबाट उद्धृत छन् — 

(क)  गतिलो हुनको लागि कठिनै काम गर्नु छ
    गुलाफ गतिलो पूmल काँढामा मात्र फुल्दछ 
    काँढादेखि डराएका जीवनै रनभुल्ल छन्
    तिनै काँढा समाएर अघि बढ्दै दिदी उठिन् । १६–९

(ख)  रूप यौवनले युक्त नारीको तहमा तिनी
    आँखा पुरुषका झुम्थे जतातिर गए पनि
    दिल्लीका जनले देखे ती यौटी कलिली मुना
    षड्यन्त्र हुन पो थाले गरेथे कतिले टुना ।    १६–२०

(ग)   सजिलो कसरी हुन्थ्यो संघर्षमय जीवन
    यात्रा कठिन बाटोमा काँढा बिभ्mछन् निरन्तर
    निकालेर तिनै काँढा सधै अगाडि बढ्नु छ
    चौतारी अब त्यैँ भेट्ता सही सडक चुन्नु छ ।  १६–३५

(घ)   न आत्तेऊ तिमी बैनी संघर्ष अझ धेर छ
    भाग्ने हैन कतै टाढा देशले आस गर्दछ
    पलायनै हुने हैन नजिकैतिर बस्नुछ 
    देशमै गर्न धेरै छ तयार हुनुपर्दछ ।          १६–३८

(ङ).    ‘नारी बन्धन मुक्ति’ नै किताब तिनले दिए
    सिर्जना तिनका त्यस्ता जनका प्रिय ती थिए
    कृतिकी नायिका शान्ता मानवी अघि बढ्दिइन्
    साङ्लो दमनको चुँड्न अब देश तिनी पसिन् ।  १६–४५ 

सर्ग १७ः लेना पर्व

काव्यनायक चन्द्रकान्तकी छोरी डा. मोनिका ज्वाइँ विपुलसँगै उच्च अध्ययन सकेर अमेरिकामा बसेकी हुन्छिन् । तिनकै छोरी हुन् लेना । लेना रुसी नाम हो जसलाई चन्द्रकान्तलरुसबसाइको उपन्यास ‘ज्वाला’ लेख्ता भद्र र शालीन केटी साथीका रूपमा प्रयोग गरेका पनि छन् । त्यसै परिवेशले पनि मोनिकालाई छोरीको नाम ‘लेना’ राख्ने साइत जुर्यो । २०७४ साल लेनाको जन्मने अवसर समेत मिलाएर चन्द्रकान्त र निर्मला अमेरिका पुगेका हुन्छन् । लेनाको पास्नीसम्म पाँच महिना जति उतै बस्छन् । 

अर्की छोरी मृदु र छोरा मोहित पनि उतै बस्ने गरेका छन् । त्यसो हुनाले चन्द्रकान्त दम्पती उता जाने गरेका हुन् । यस्तै अमेरिका भ्रमणको उपलब्धिस्वरूप चन्द्रकान्तले ‘न्यूयोर्क सुन्दरी’ उपन्यास र ‘सपनाको देशमा’ नियात्रासङ्ग्रह रचना गरेर प्रकाशनमा ल्याएका छन् । यता चन्द्रकान्तलाई सोभियत संघको विद्यार्थी जीवन, त्यहाँ बस्ता देखे भोगेका र जानकारीमा आएका विश्वका दुई महाशक्ति सोभियत संघर र अमेरिका बीचको शीतयुद्ध र प्रतिस्पर्धा, त्यही प्रतिस्पर्धाको उपलब्धिको रूपमा पहिलो पटक अन्तरिक्षमा पाइला टेक्ने रुसका युरी गागारिन र पहिलो पटक चन्द्रमामा पुग्ने अमेरिकाका नील आर्मस्ट्रङ्ग, अमेरिकाको निकट छिमेकी देश क्युबामा रुसी उपस्थिति, केनेडी र ख्रूश्चेव जस्ता विश्वका महान् राजनीतिक हस्तीहरूका डर लाग्दा अभिव्यक्ति, भियतनाम युद्ध आदि विषयको स्मरण हुन्छ र यी अन्तर्राष्ट्रिय विषयले लेना पर्वमा प्रशस्त ठाउँ पाएका छन् ।

अन्तमा, कवि चन्द्रकान्तको भावुक हृदयले विश्वलाई नै यौटा मैत्री सन्देश दिन खोजेको आभास हुन्छ । उनकी छोरी मृदु अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अनुसन्धान कार्यमा लागेको समयमा युक्रेनकी साथी आनासँग केम्ब्रिज सहरमा बसेकी हुन्छिन् । आनाकी आमा रुसी भएको र युक्रेनको कीभमा आप्mनो घरमा बस्तै गर्दा रुस र युक्रेनमा शत्रुता बढेर तिनी त्यहाँ बस्न नसकेर माइती सेन्टपीटर्स्बर्ग आएर बस्नु परेको कुरा अवगत हुन्छ । यस्तो कुरा थाहा पाएर कवि चन्द्रकान्त व्यथित हुन्छन्, तिनलाई मास्कोको आप्mनो इन्स्टिच्युटमा पहिलो दिन भेट भएका छात्रा साथीहरू रुसी नीना पतापवा र युक्रेनी नाद्या फिनाश्कोको स्मरण हुन्छ, पहिलो मास्को—कीभ यात्राको रमाइलो स्मरण हुन्छ र ज्वाला उपन्यासकी युक्रेन सुन्दरी लेनाको स्मरण हुन्छ । भावुक कविकल्पनामा उनी आना, आमा र आप्mनी छोरी मृदुसँगै सेन्टपिटसर््बर्गबाट मास्को हुदै कीभ पुग्ने रमाइलो यात्रा गर्न पाउने आशा गर्दै कलम विसाउँछन् । कृतिबाट नै केही उदाहरण प्रस्तुत छन्—

(क)  समयै त्यो अनौठो थ्यो दुई नेता अचम्मका
    ख्रुश्चेव रुसका टाठा केनेडी ती अमेरिका
    गर्जन्थे कहिले साथै सिंह जस्ता भयङ्कर
    तर बुद्धि विवेकैले गर्थे निर्णय मत्थर ।          १७–२७

(ख)  अहो मेरो त्यस्तो कति प्रिय थलो कीभ नगरी
    बसेको नाचेको सब प्रिय तिनीसाथ कसरी !
    गरेको यात्रा त्यो प्रथम जुन थ्यो कीभतिरको
    मलाई कस्तो भो सरस दिन त्यो थ्यो नि रसिलो ।  १७–५३

(ग)  पुराना मीठा ती सब स्मृति फिरे यै मनभरी
    भयो मेरो इच्छा अब सब मिलून् यी सजिलरी
    गरौँ यात्रा राम्रो सबतिर हुँदै कीभ पुगिने  
    चढी रेलै उस्तै सब जनसितै स्नेह गरिने ।        १७–५५

(घ)    त्यस्तो भै रमणीय कीभ पुगिने यात्रा हुने कल्पना
    प्रश्विश्येनिय त्यो जगै पुगिदिदा कस्तो हुँदो हो मजा !
    त्यस्तो स्वर्ग समान विश्व बनिद्यौ आशा म गर्ने सदा
    यात्रा यो जुन कल्पियो मगजमा पुग्नेछ क्वै कालमा !  १७–५८

उपसंहार

‘दर्पण’ महाकाव्यको मूल कथ्यगत पक्ष काव्यनायक चन्द्रकान्तको सङ्घर्षपूर्ण जीवनयात्राको सिलसिलेवार काव्यिक वर्णन हो भने त्योसँगै अर्को साङ्केतिक पक्षचाहिँ काव्यनायक बाँचेको युगमा नेपालको राजनीतिक तथा शासन व्यवस्थामा देखिएको रूपान्तरण र त्यसले समाजमा पारेको प्रभावको सूचनात्मक अभिलेखन पनि हो । अथवा यसो भनौँ, जीवन यात्रा बहिरहेको छ र सँगसँगै देशको सामाजिक घटनाक्रमले पनि काँचुली फेर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको छ । 

यस कोणबाट हेर्दा प्रस्तुत ‘दर्पण’ महाकाव्य खास सङ्घर्षशील व्यक्तिको साधारणीकृत आत्मवृत्तान्त हो र त्योसँगै देशको वर्तमान समयसम्मको यात्रागत परिदृश्य पनि हो । यस काव्यको मूल धाराका रूपमा काव्यनायकको साहसपूर्ण जीवनकथा आएको छ भने त्यस वस्तुसँगै छाया रूपमा दाश्रो धाराको प्रवाहस्वरूप २००७ सालको प्रजातन्त्रकालदेखि पञ्चायतकाल र बहुदलीयकाल हुँदै वर्तमान गणतन्त्रयुगसम्मको देशगत इतिहास पनि गाँसिन पुगेको छ । 

यसप्रकार प्रस्तुत काव्यले सात सालदेखि सत्र साल, छत्तीस साल, छयालीस साल र बैसठ्ठी—त्रिसठ्ठी सालसम्मका राजनीतिक फेरबदलको साक्ष्य हुँदै संविधानसभा चुनाव (२०६४) सम्मको देशको अवस्थालाई समेत प्रक्षेपण गरेको छ । यस किसिमबाट खास कालखण्डको नेपालको राजनीतिक परिदृश्यको इतिहास समेत यस काव्यले प्रस्तुत गरेको छ । त्यस कालखण्डका महाशक्तिराष्ट्र संयुक्त राज्य अमेरिका र सोभियतसङ्घ बीचको शीतयुद्ध र अन्य समसामयिक अन्तर्राष्ट्रिय परिदृश्यहरू पनि यसमा समावेश गरिएका छन् ।

साहित्य समाजको दर्पण हो । त्यही ‘दर्पण’ शब्दलाई यहा पनि महाकाव्यको शीर्षक बनाइएको छ । यो काव्य पनि दर्पण हो एक पौरखी व्यक्ति विशेषको जीवनयात्राको । यो आत्मवृत्तान्त हो साहित्यकार चन्द्रकान्त आचार्यले आप्mनो जीवनी आपैm कविताको माध्यमबाट भनिएको । उपन्यास र नियात्रा लेखनमा साहित्यिक वर्चस्वका साथ विशेष स्थान बनाइसकेका  चन्द्रकान्त आचार्यले ठूलै आँट गरेर कविताको बृहत् स्वरूप महाकाव्य रचनामा कलम चलाएका छन् । साहित्यमा खेल्ने बानी भएकाले उनका लागि महाकाव्य लेख्न पनि सहज हुन पुगेको छ । जीवनीपरक आलेखन हुनाले यो काव्य बढी मात्रामा वर्णनात्मक हुन पुगेको छ, ठाउँ ठाउँम भने कवितात्मक बान्की धेरै नै जोडिएका छन् । केही उदाहरण काव्यबाट—

(क)    विधाताको त्यस्तो अति मृदु अहो दिव्य रचना
    कुँदेझैं लाग्ने त्यो मन, मुटु मिली उच्च सपना
    बनाए होलान् त्यो अति असल भन्दै रुचि लिई
    भयो त्यस्तो राम्रो कुसुम कलिकाझैं मगमगी ।   ८–५२

(ख)    मनै वास्ना पस्दो मगमग यसो पूmल मिलिगो
    भने सुँघ्ने हो त्यो यदि समयमा साथ भइयो
    त्यसैमा हो रम्ने समय जति नै मिल्छ थलमा
    सबै यात्री हामी गरिकन बसौँ स्नेह अरुमा ।    ९–१३१

(ग)    जननी धरती हाम्री सबै सन्तति एक छन्
    सुखी दुःखी सबैमाथि स्नेह भर्न सिकाउँछिन्
    तिनैले नै दिने अन्न साथमा जल वायु छ
    समान हक लाग्ने हो स्नेह सद्भाव राख्नु छ ।   १५–१२ 

रस, अलङ्कार सम्बन्धमा काव्यबाट केही उदाहरण —
श्रृङ्गार रसः

(क)    कस्ता कस्ता युवती रसिला रङ्विरङ्गी लुगामा
    अग्ला गोरा पुरुष जन थे हात लिन्थे नि बाला
    प्रौढा जस्ता कति त महिला त्यत्तिकै ठाँट्टिएका
    भिर्दै झोला गतिमय थिए कामले आत्तिएका । ८–५

(ख)    देख्तामा रुपसी अबोध कलिली कस्तो शरीरै मिल्यो
    खेल्दै फिल्म रमाइला प्रकृतिका राम्रो हुनेझैं छ त्यो
    त्यस्तोमा परिबन्द यो छ कि त्यहाँ बाख्रा लिई हिँड्नुछ 
    खुर्पेटोसहितै चिटिक्क रमणी स्यास्या गरी दौड्नु छ ।  ८–६४

(ग)    सम्झेँ त्यो मिलनै अहो कति खुशी विल्नूसको साँझमा
    छात्रा थ्यौ कति मस्त रङ्गभरिली मायालु राम्री अहा !
    तिम्रो साथ रह्यो पुरै समय त्यो नाच्ता मनै सर्सियो
    त्यस्तो त्यो मदमस्त साँझ रसिलो बिर्सन्न कैल्यै अहो !  ९–७८

(घ)    हातै छोपि अहो प्रसन्न मनले साथै म ता उत्रिएँ
    त्यस्तीसाथ हुँदै भ¥याङ पुगियो जाने कुरा बिर्सिएँ
    तत्कालै अब छट्टिने समय भो भन्दै अँगालो कँसिन्
    आँखाको त्यति बेरको मृदुलता ओँठै दिई पोख्दिइन् ।  ९–१२४

करुण रसः
(क)    प्रातःकाल कठै उठेर सहजै एर्पोर्ट दौड्ने हुनन्
    त्यो छोरी कलिली लिएर सँगमा कुर्दै बसेकी हुनन्
    त्यस्तोमा सब निस्कदै गरिसकुन् आप्mनो त आउन्न है !
    के होला तब ती सुकोमल परी सोच्नै म के सक्नु खै ? १२–११०

(ख)    सुनेँ मैले त्यस्तो खबर कसरी हो बुझिदिने ?
    अहो आप्mनो प्यारो अनुज त्यसरी पो गइदिने !
    म ता सुन्दै कस्तो अचल मन यो थर्थर भयो 
    खसे आँसू वर्षा धरधर रुने पो समय भो ।      १४–३०

(ग)    मिलाई राम्रो यैँ सब घर जुटाई प्रिय, गयौ
    कठै संझी संझी मकन सब यो दर्द भरिद्यौ
    सबैलाई गर्ने प्रिय अनुज कस्ता तब रह्यौ
    सबै मान्छे रुन्छन् मन सकलका हर्दम जित्यौ ।  १४–३२

उपमा अलङ्कारः
(क)    थिए मीठा बाजा अनि सकल नाच्ने जन थिए
    रमाएकै ती थे अति चमकिला ती सब थिए
    तिनै साथीमध्ये फरक सुकिली कान्तिमय ती
    अनेकौंमा एक्ली रविकिरण झल्केसरि तिनी ।   ८–५८

रूपक अलङ्कारः
(क)  कस्तो हो कमलो शरीर तिनको नौनी हुँदो हो कडा
    ओँठै ती कति लाल मस्त रसिला पीयूषका ती घडा !
    आँखा जुध्न पुगे भयो रमरमै आनन्द वर्षा भयो
    सासै त्यो नजिकै हुँदा मन भने डुब्द्यौं त्यहीं झैं भयो । ८–८१

आख्यानको रोचकता र नियात्राको कुतूहलता यस काव्यले आत्मसात् गरेको छ । विभिन्न घुम्ती र मोड हुँदै जीवन यात्राको कथातन्तु काव्यनायकको जन्मदेखि लिएर छोरीतर्पmकी नातिनी लेनाको शुभ जन्म र पास्नीसम्मको खुशियालीको बिसौनीसम्म लम्बिएको छ र बीच—बीचमा कतै पारिवारिक गतिविधि र कतै राजनैतिक घटनाक्रमहरू गाँसिएर आएका छन् । यसरी ‘दर्पण’ महाकाव्य काव्यकारका जीवनको समसामयिक समाज व्यवस्थाको दर्पण भएर आएको छ । यति महत्वपूर्ण महाकाव्य रचना गर्ने काव्यकार चन्द्रकान्त आचार्यको काव्यकारिताको प्रशंसा गर्दछु । (दर्पणको भूमिकाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ