arrow

नेविसंघ महाधिवेशनः लोकतन्त्रमाथिको ब्यङ्ग्य

logo
राजीव रिमाल,
प्रकाशित २०७३ साउन २८ शुक्रबार
rajiv-rimal.jpg.jpeg
करिब १० बर्ष पछि सुरु भएको नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन काठमाण्डौको भृकुटिमण्डपमा जारी छ। २०६३ सालमा चितवनमा सम्पन्न महाधिवेशन मार्फत निर्वाचित प्रदिप पौडेल नेतृत्वको कार्यसमितीलाई भंग गरेर ६ महिनाका लागी निर्वाचन संयोजन कमिटीका रुपमा अहिलेको नेविसंघ केन्द्रिय कार्यसमिती आएको थियो। छोटो समयमा जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता सहित रञ्जित कर्ण नेविसंघ सभापति बनेका थिए। तर बिडम्बना आर्किटेक्टले नेतृत्व गरेको नेविसंघ उँट प्रकृतिको बन्दै गर्दा पनि हामी मुकदर्शक बन्न बाध्य छौँ। निरन्तर १० बर्ष सम्म निर्वाचन र प्रजातन्त्रको अभ्यास गर्न नपाँउदा हामी भित्रभित्रै कमजोर र निरिह बन्दै गएका छौँ। यो परिणामको जिम्मेवार को हुने? यो अवस्थामा नेविसंघले सम्पूर्ण विद्यार्थी आन्दोलनको नेतृत्व लिन सक्नेमा हामी आम कार्यकर्ता विश्वस्त हुने आधार शुन्य प्राय छ। लोकतन्त्रको नेता संगठन ठान्ने नेविसंघले अन्य प्रतिष्पर्धी संगठनले अभ्यास गरिरहेको लोकतन्त्रको पाठ सिक्न जरुरी देखिएको छ। 
 
गत साउन २३ गते उद्धघाटन भएको महाधिवेशनको बन्दसत्र आज ५ दिन बितिसक्दा सम्म पनि सुरु हुन सकेको छैन। देशभरबाट आएका करिब ५००० विद्यार्थी नेता कार्यकर्ताहरु आफु प्रतिनिधी छु कि छैन भन्नेमै अन्यौल छन्। प्रतिनिधी विवादको नाममा आम कार्यकर्तालाई अर्निणयको बन्दी बनाउनु कति न्यायसंगत हो? समयमै प्रतिनिधी विवाद टुङ्गाएर बन्दसत्रमा प्रवेश गराउन नसक्दा नेतृत्व प्रति झन आक्रोश बढिरहेको छ। थुप्रै प्राविधिक कमजोरी र त्रुटीका बिचमा घिस्रिएको महाधिवेशनले कस्तो नेतृत्व चयन गर्ने हो अझै आशंका छ। विधिसंगत ढङ्गले महाधिवेशन हुनेमा अझै विश्वस्त हुन सकिएको छैन। खल्तीबाट नेतृत्व चयन हुने विगतको रोग यसपाली पनि महामारी बनेर फैलिने हो कि भन्ने शंसय अझै जिवित छ। यो भय र आशंकाको बिचमा हामी झरी र हुरीको बेवास्ता गर्दै भृकुटीमण्डपमा बन्दसत्रको पर्खाइमा छौँ। नेपाली कांग्रेसको नेतृत्व र नेविसंघको बर्तमान केन्द्रिय कार्यसमितीले यसमा गम्भिर हुने कि सत्ता स्वार्थ र झिनाझम्टीमै आम विद्यार्थीको उत्साहमा कुठाराघात गरेर शक्तिकै गुलियोमा रमाउने? 
 
करिब १० बर्ष पछि भएको नेविसंघको कुम्भमेला अन्योल र निराशाका बिचमा अगाडि बढिरहेको छ। उद्धघाटन सत्रमा देखिएको उत्साह र रौनक विस्तारै सेलाउदै गएको छ। आम विद्यार्थी नेता कार्यकर्ताको जोश, जाँगर र हौसला निराशामा बदलिएको छ। महाधिवेशन उद्धघाटन सत्रमा नेपाली कांग्रेसका नेतृत्वबाट आएको प्रतिबद्धताले हामी आम कार्यकर्तामा नेविसंघको बिगतको कालो बादलमा चाँदिको घेरा देखिएको अनुभुत भएको थियो। तर बन्दसत्र स्थगित गरेर कोठे बैठकमा ब्यस्त नेविसंघका केहि ठेकेदार प्रबृतिका ब्यक्तिको रबैयाले हामीलाई थप निरुत्साहित गरेको छ। यस्तो अन्योलता र अर्निणयको परिस्थिती निर्माण भएको छ कि आम विद्यार्थी नेताहरु निराश बनेर घर फर्किने तयारी गर्न थालेका छन त कतिपय फर्किससकेका छन्। यो निकै दुर्भाग्यको बिषय हो। १० बर्ष यताको पर्खाइ र धैर्यता उपलब्धीबिहिन हुनेतर्फ उन्मुख छ। नेतृत्व विवाद माथि विवाद थोपरेर महाधिवेशन पछाडि धकेल्नमा उद्धत छ। हामी यसको फड्के किनारको साक्षिका रुपमा हेरेर बस्न बाध्य छौ। हामीलाई नै शक्तिहिन र निरिह बनाएर कस्तो संगठन बनाउने सोचमा छ नेविसंघ नेतृत्व?
 
यतिवेला देशका बिभिन्न भुगोलबाट मौसम र समयको प्रतिकुलतालाई प्रबाह नगरी आएका विद्यार्थी नेता कार्यकर्ता शुभेच्छुकहरुको भावना र मर्म माथि निकै कठोर र क्रुर प्रहार भइरहेको छ। लामो समय देखिको धैर्यता र प्रतिक्षालाई शक्तिमा बदलेर संगठित नेविसंघ बनाउनु पर्नेमा विभाजित र खण्डित मानसिकता निर्माण गरेर हामी आफैभित्र लडिरहेका छौ। नेपालको शैक्षिक आन्दोलन जसको प्रत्यक्ष सिकार भएको छ। संगठन कमजोर भए, लोकतन्त्र कमजोर हुन्छ। लोकतन्त्र कमजोर भए राष्ट्रीय स्वाधिनता, स्वाभिमान र आत्मसम्मान कमजोर भएर जान्छ। अन्ततः हामी सबै कोणबाट निरिह बन्छौ। हाम्रो बर्तमानको अर्कमण्यताले भावी पुस्ता माथि ठुलो अन्याय भएको छ। उनीहरको स्वर्णीम भविष्यमा प्रहार भएको छ। नेतृत्व निर्माणको नर्सरी मानिने संगठनका मुनाहरुलाई भाँचेर भोली कति हरीयाली राजनितीक समाज निर्माण गर्न सकिएला? नर्सरीमै डढेलो लगाउने कुचेष्टा हुनु सर्बथा निन्दनिय हर्कत हो। 
 
साउन २३,२४,२५ का लागी तोकिएको महाधिवेशनको बन्द सत्र सुरु नहुनुमा सतहमा आएका भन्दा धेरै गहिरा तथ्यहरु लुकेका छन्। प्रतिनिधी चयनमा निकै ठुलो अनियमितता भएको छ। फर्जि प्रतिनिधीहरुको भिड जम्मा गरेर निर्वाचनमा जाने हर्कत लोकतन्त्र माथिको ब्यङ्ग हो। क्याम्पस ईकाइ, क्षेत्र र जिल्लामा सक्रिय भन्दा पनि आफ्ना नजिकका भाई भारदारहरुलाई प्रतिनिधी ल्याएर निर्वाचनको नाटक मञ्चन हुँदैछ। पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शैलीको झल्को दिने किसिमको प्रतिनिधी छनोटबाट कोहि पनि सन्तुष्ट छैन। यो सर्बथा निन्दनिय र घृणित बिषय हो। यो त लोकतन्त्रको चिरहरण हो। हामी यसको सडकमा बसेरै बिरोध गरिरहेका छौ। विद्यार्थीको नेतृत्व गर्ने नेताहरुको उमेर र उनीहरुको विद्यार्थी परिचय निकै लाजमर्दो भएको छ। सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको भातृ संगठन भित्र आन्तरिक लोकतन्त्र कमजोर हुदाँ यस्तो बेथितीको परिणाम देखिएको छ। हिजो सिंगो राष्ट्रलाई लोकतन्त्रको पथमा डोर्या उन रत्नपार्कबाट नारायणहिटी फर्किएर गणतन्त्र जिन्दावाद भनेका हामीहरु आज भृकुटिमण्डपमा बसेर फेरी एकपटक आन्तरिक लोकतन्त्रका लागी लड्नुपर्ने भएको छ। हाम्रो दुर्भाग्यनै यहि हो, पटक पटक जितेर हामीमा हार्ने बानि लागेको छ। तर संकल्प गरौ यसपालि हामी नेविसंघलाई हार्न दिने छैनौ। नेपाली कांग्रेसलाई हार्न दिने छैनौ। सिंगो मुलुकलाई हार्न बाट जोगाउने प्रण सहितको नेतृत्व नेविसंघमा स्थापित गर्ने लडाइमा फेरी एकपटक हामीले जित्ने छौँ। 
 
(लेखक इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका सचिव एवम नेविसंघ केन्द्रिय सदस्य उम्मेदवार हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ