arrow

सिन्धुपाल्चोकमा स्थानीय तह

एमालेलाई शाख जोगाउने पिरलो, माओवादी सभामुखको प्रभावमा टिक्दै, कांग्रेस एक्लै भिड्ने मनस्थितिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
local-level-election-everytime1.jpg

सिन्धुपाल्चोक। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरुका गतिविधि गाउँ गाउँमा केन्द्रित हुन थालेका छन् । नेपाली कांग्रेसले ‘घर–घर जाऔ कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ । 

एमालेले ‘म जिताउँछु मेरो वडा’ अभियान सुरु गरेको छ । नेकपा माओवादी र नेकपा (एकीकृत सामाजवादी) ले पनि स्थानीय निर्वाचन लक्षित अभियान गाउँपालिका र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सुरु गरेका छन् । 

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र जनता समाजवादी पार्टीबीच स्थानीय निर्वाचनमा गठबन्धन हुने भएको छ । महानगर र उपमहानगरमा केन्द्रबाटै गठबन्धन हुनेछ भने नगरपालिका र गाउँपालिकामा जिल्ला तहबाट हुने भएको छ ।

यसै क्रममा सिन्धुपाल्चोक जिल्लामा गठबन्धन गर्ने पक्षमा कांग्रेस छैन । ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ वटा पालिका रहेको सिन्धुपाल्चोकमा कांग्रेस एक्लै लडेर जित्न सकिने भएकाले गठबन्धन गर्न चाहिरहेको छैन । 

सिन्धुपाल्चोक सभामुख अग्निप्रसाद सापकोटाको जिल्ला भएकाले माओवादीले पनि आफ्नो सशक्त दाबी गर्ने भएकाले गठबन्धन हुने संभावना क्षीण नै देखिन्छ ।

इन्द्रावती गाउँपलिका, मेलम्ची नगरपालिका र भोटेकोशी गाउँपालिकामा नेकपा समाजवादीमा पनि एमालेबाट राम्रै संख्यामा नेता कार्यकर्ता गएकाले समाजवादीले पनि ३ वटै पालिका दाबी गर्ने अवस्था छ ।  

सिन्धुपाल्चोकमा कम्युनिष्टहरुमा विभाजन आएकाले कांग्रेसले सहजै जित्ने अवस्था छ । २०७४ को स्थानीय निर्वाचनमा एमाले सात तह जितेको थियो माओवादी केन्द्रले दुई स्थानीय तह जितेको थियो ।

कांग्रेसले ३ वटा स्थानीय तह जितेको थियो । तर यसपटक कम्युनिष्टहरु तीन चिरा भएको र यसअघि सातवटा पालिका जितेको एमाले सिन्धुपाल्चोकमा दुई चिरा भएकाले पनि कांग्रेसले एक्लै जित्ने अवस्था छ। 

कांग्रेसले त्रिपुरासुन्दरी गाउँपालिकामा ३ सय हाराहारी मतले पराजय बेहोर्नुपरेको थियो । सुवास कर्माचार्यहरु समाजवादीमै प्रवेश गरेको र अरुण नेपाल, झम्क नेपाल जस्ता नेताहरुका समर्थक पनि एमालेभित्रै अपहेलित भएकाले सिन्धुपाल्चोकमा यो पटक कांग्रेसलाई स्थानीय तह जित्न सहज छ । बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री त चुनावको सम्मुखमा कांग्रेसमा प्रवेश गरेकाले एमालेलाई थप क्षति हुने भएको छ । 

सिन्धुपाल्चोकको हिमाली भेगमा रहेको भोटेकोशी गाउँपालिकाको अध्यक्षमा कमलकुमार श्रेष्ठ र दोर्जे लामा हाउडेको नाम चर्चामा छ । जिल्ला सभापतिमा पराजीत बंशलाल तामाङको समूहबाट हाउडेले मात्रै उपाध्यक्षमा जितेकाले उनले नै अध्यक्षमा उम्मेदवारी पाउने संभावना छ ।

एमालेबाट भोटेकोशीमा अमृत खड्काको नाम तय भइसकेको छ । माओवादी केन्द्रले यसअघिकै अध्यक्ष राजकुमार पौडेललाई दोहो-याउने वा उनले नमानेमा आङछिरिङ शेर्पालाई अगाडि सार्ने संभावना छ । समाजवादीले छिरिङ शेर्पालाई अगाडि सार्ने भएको छ ।

बाह्रबीसे नगरपालिकामा नेपाली कांग्रेसले बालकृष्ण बस्नेतलाई मेयरमा उम्मेदवार बनाउने छ । उनी २०७४ को निर्वाचनमा एमालेका निमफुन्जो शेर्पासँग पराजीत भएका थिए । बाह्रबीसे नगरपालिकामा एमालेले निमफुञ्जो शेर्पालाई नै अगाडि सार्ने भएको छ । माओवादीले बुद्धराज बस्नेतलाई मेयरमा उम्मेदवार बनाउँदैछ । बाह्रबीसे नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतको गाउँ हो । 

त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसले भक्तध्वज बोहरालाई अध्यक्षको उम्मेदवार बनाउने पक्कापक्की छ । उनी भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा सचिवमा निर्वाचित भइसकेकाले उनलाई नै गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निश्चित जस्तै छ । उनी यसअघिको स्थानीय तहको निर्वाचनमा थोरै मतले पराजीत भएका थिए । 

त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपा एमालेले मेघनाथ पौडेल र भूपेन्द्र श्रेष्ठमध्ये एकलाई अध्यक्षका रुपमा अगाडि सार्दैछ । श्रेष्ठ अहिलेका गाउँपालिका अध्यक्ष हुन् । उनी आर्थिक अनियमिततामा मुछिएको बारेमा धेरै नै विवाद भएकाले विकल्प खोजीमा एमालेको नेतृत्व रहेको छ । 

श्रेष्ठ चारित्रिक मामिलामा पनि विवादमा परेको भन्ने बिषयले एमालेभित्र उनको बिकल्प खोज्न दबाब परेको छ । त्रिपुरासुन्दरीमा माओवादीले अनन्तप्रकाश श्रेष्ठ र बिर्खबहादुर श्रेष्ठमध्ये एकलाई अध्यक्षको उम्मेदवार बनाउने संभावना छ । 

लिसंखुपाखर गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार जोगलाल तामाङ हुन् । नेकपा एमालेले सूर्य लामा, हेमगंगा मोक्तान, प्रदिप भण्डारीमध्येबाट एकलाई उम्मेदवार बनाउने संभावना छ । 

माओवादी केन्द्रले राजु लामा र पूर्णबहादुर तामाङमध्ये अध्यक्षका उम्मेदवारका रुपमा चर्चामा छन् । सुनकोशी गाउँपालिकामा कांग्रेसबाट हालकै पालिका अध्यक्ष श्रवणकुमार जीसीलाई नै उम्मेदवार बनाउने संभावना प्रबल छ । अध्यक्षमा दाबी भने रामकुमार थापा र रुपकाजी लामाले पनि गरेका छन् ।  

नेकपा एमालेबाट चीनको ब्यापार गर्ने टपेन्द्र तिमिल्सिनादेखि प्रेमलाल लामा र पुरुषोतम प्याकुरेलले दाबी गरेका छन् । बलेफी गाउँपालिकामा नेपाली कांग्रेसबाट कृष्ण क्षेत्री, कृष्ण आचार्य, सुवास तिमिल्सिना, रामकुमार लामासहित ४ उम्मेदवार चर्चामा छन् । 

तर दाजु केदार क्षेत्रीलाई एमालेबाट कांग्रेसमा ल्याउन भूमिका खेलेकाले कृष्ण क्षेत्रीले अध्यक्षमा टिकट पाउने संभावना छ । नेकपा एमालेबाट नारायणकाजी श्रेष्ठ, कार्केल लामा र कमला श्रेष्ठले दाबी गरेका छन् । 

माओवादी केन्द्रबाट गंगाबहादुर तामाङ र प्रताप तामाङ अध्यक्षका उम्मेदवारका रुपमा चर्चामा छन् । जुगल गाउँपालिकामा कांग्रेसले जयबहादुर तामाङ र हिमाल श्रेष्ठमध्येबाट एकलाई अध्यक्षमा खडा गर्दैछ । 

नेकपा एमालेले हालकै अध्यक्ष होमनारायण श्रेष्ठलाई नै दिने संभावना छ । उनी गाउँपालिका महासंघका पनि अध्यक्ष हुन् । जुगलमा एमालेबाट जेपी सिलवाल र लक्ष्मण दोङले पनि अध्यक्षमा दाबी गरेका छन् । होमनारायणको सम्पर्क सिधै एमालेका अध्यक्ष केपी ओलीसँग भएकाले उनैले पाउने प्रबल संभावना छ । माओवादी केन्द्रबाटः रेशम स्याङ्बो र ईश्वर गुभाजुको नाम अध्यक्षमा चर्चामा छ । 

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट तीन जनाको दाबी छ । झलक नेपाल, केशवराज गिरी, इन्द्रलोचन धितालले कांग्रेसबाट अध्यक्षमा दाबी गरेका छन् । 

नेकपा एमालेबाट बादल तामाङ र इन्द्र नेपाल चर्चामा छन् । माओवादी केन्द्रबाट कृष्णप्रसाद सापकोटा र अमानसिंह तामाङको नाम अध्यक्षको उम्मेदवारका रुपमा चर्चामा छ । अमानसिंह वर्तमान मेयर हुन् । 

इन्द्रावती गाउँपालिकामा नेपाली कांग्रेसबाट जीवन थापा मगर, इच्छाराम दंगाल र बिलबहादुर तामाङ अध्यक्षका उम्मेदवारका रुपमा चर्चामा छन् । 

नेकपा एमालेबाट झम्क नेपाल, शशिनाथ आचार्य, शिवहरि सापकोटा अध्यक्षका दाबेदार हुन् । एमालेका पूर्व जिल्ला अध्यक्ष झम्क नेपाल यसअघि नेपाली कांग्रेसका बंशलाल तामाङसँग अध्यक्षमा पराजीत भएका थिए । 

इन्द्रावतीमा माओवादी केन्द्रबाट ठुलोबाबु श्रेष्ठ र वीरबहादुर तामाङको नाम अध्यक्षमा चर्चामा छ । मेलम्ची नगरपालिकाको मेयरमा कांग्रेसबाट आइतामान तामाङ, बसन्त गुरुङ, मधुसुधन सिग्देलले दाबी गरेका छन् । 

नेकपा एमालेबाट बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ, डम्बर अर्याल,  मित्रलाल चौलागाईहरु दाबी गरिरहेका छन् । अर्याल वर्तमान मेयर हुन् ।  

माओवादी केन्द्रबाट चन्द्रबहादुर थापा र सिपी दुलाल मेयरका लागि दाबेदार हुन् । पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट पासाङ दोङ र देवेन्द्र खत्रीको नाम अगाडि छ । 

नेकपा एमालेमा ४ जना देखिएका छन् । माधव पाण्डे, टासी लामा ह्योल्मो, निर्मल बन्जरा, माधव पाण्डे र सोमर बम्जनले दाबी गरेका छन् । माओवादी केन्द्रबाट दोर्जे तामाङ र गोपाल स्याङबोको अध्यक्षमा दाबी रहँदैआएको छ । 

हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेस निमाग्याल्जेन शेर्पाले नै अध्यक्षमा दाबी गरेका छन् । वर्तमान अध्यक्ष उनले राम्रो काम गरेकाले पुनः उनकै संभावना छ । नेकपा एमालेले अर्जुन भण्डारी र दावा ह्योल्मोमध्ये एकलाई अध्यक्षमा अगाडि सार्ने संभावना छ । माओवादी केन्द्रले भरत थापाको नाम चर्चामा ल्याएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ