arrow

डोटीमा पनि सत्ता गठबन्धनबीच चुनावी तालमेल, सम्भव कति ? 

logo
प्रकाश बम, 
प्रकाशित २०७८ चैत २२ मंगलबार
local-level-election-12345.jpg

डोटी । डोटीमा सत्तारूढ गठबन्धन दलहरूबीच आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । केन्द्रीय सर्कुलरअनुसार नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहको अध्यक्षतामा मंगलबार बसेको दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आवश्यकता र आपसी सहमतिका आधारमा तालमेल गर्ने गरी निर्णय भएको कांग्रेस उपसभापति बाजीसिंह खड्काले बताए ।

निर्णयमा तालमेल गर्ने बाहेकको अन्य ठोस निर्णय भने केही भएको छैन । निर्णयमा आपसी समझदारीका आधारमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने भनी उल्लेख गरिएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू सहभागी थिए । कांग्रेसका सभापति सिंहसहित उपसभापति बाजीसिंह खड्का (वजय) एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी र नेता नारद मलासी र माओवादी केन्द्रका खगेन्द्र साउँद सहभागी थिए ।

डोटीमा सत्तारूढ गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) को प्रभाव निकै फितलो छ भने राष्ट्रिय जनमोर्चासँग केही मत छ । तर उसलाई छलफलमा बोलाएको भने देखिँदैन ।

डोटीमा दल बीचमा छलफल र यस्तो निर्णय भए पनि अन्तमा सबै स्थानीय तहमा गठबन्धन हुने सम्भावना भने न्युन छ । यस अघिको स्थानीय चुनावमा डोटीका ९ वटा पालिकाहरु मध्ये तीन पालिकामा कांग्रेसले जितेको थियो भने एक पालिकामा माओवादीले जितेको थियो । बाँकी ५ पालिकामा एमालेले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ