arrow

दशरथको श्रद्धा

सन्दर्भ राम नवमी

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ चैत २४ बिहिबार
king-dasarath.jpg

श्री शिवपुरी बाबासँग कसैले हामीले ग्रन्थहरूमा वशिष्ठ आदि महापुरुषहरू दशरथको सभामा गएको चर्चा पढेका छौं, हजुर किन यसरी  जङ्गलको एक कुनामा मात्र बसिरहनु भएको, कुनै राजसभामा गएर या प्रवचनहरू गरेर ज्ञान प्रदान किन नगर्नु भएको भन्ने प्रश्न गरेका थिए । 

त्यस्ता प्रश्न गर्नेलाई उहाँको जवाफ थियो,  'हेर्नुस्, अहिलेका शासकहरूलाई दशरथ जस्ता राजासँग तुलना गर्नु ठिक हुन्न । अर्को कुरा आध्यात्मिकता हामी कसैलाई सिकाउन सक्तैनौं । मानिसमा भित्री हृदय देखि नै यस बारेमा चाहना हुनुपर्छ ।  जस्तो पानी तिर्खा लागेको मानिस पानी खोज्दै जान्छ, त्यसरी नै म पनि आउने, इच्छा गर्नेहरूलाई सिकाइदिन्छु ” । आज यस छोटो लेखमा राजा दशरथ बारे केही चर्चा गर्न लागिएको छ ।

अयोध्याका राजा दशरथको जीवन अति साधारण थियो । उनलाई राजोचित सम्मानको पनि पर्बाह थिएन । उनी अरूलाई वस्त्र, दक्षिणा, गहना आदि दिन्थे । उनी यति सम्म साधा थिए कि उनका नोकरहरूलाई समेत उनी श्रृंगार्दथे । जसले गर्दा उनी सबैको आशीर्वादका पात्र थिए । 

श्री रामचन्द्र दशरथको पुत्र रूपमा अवतरित हुनु भएको खुसीयालीमा अयोध्यामा जताततै उत्सव भइरहेको थियो । एक दासीले राजा दशरथ कहाँ आएर राम जन्मको कुरा सुनाइन् । उनले दासीलाई वालक कस्तो छन् भनेर सोधे । दासीसँग वर्णन गर्ने शब्द नै थिएन र भनिन्, ”वालक यस्तो छ भनेर वर्णन गर्न सकिँदैन, यस्ता वालक न अघि जन्मेका थिए, न पछि जन्मन्छन् ” भनिन् । आँखाले त देख्ने काम गर्छ तर बोल्न सक्तैन । जिब्रो बोल्न सक्छ, तर अन्धो छ भनेर परम ज्ञानको कुरा गरिन् ।

यता एउटी दासी आएर कौशल्यालाई भेट गरिन् । कौशल्या खुशी भएर उसलाई आफूले लगाएको सुनको हार उपहार दिइन् तर उनले लिन मानिनन् । उनले कौशल्यालाई आफूले मागेको वर पाउनुपर्ने वाचा गराइन् र कौशल्याले पनि स्वीकार गरिन् । दासीले वालक राम आफूले काखमा राख्न पाउनु पर्ने माग गरिन् । उनको माग अनुसार कौशल्याले वालक रूपमा अवतरित राम काखमा राखिदिइन् । दासी खुशी भइन् र भनिन् हजारौँ वर्षदेखि जीव ईश्वर सँग बिछोड भइरहेको थियो, आज जीव र ईश्वरको मिलन भयो भनेर समाधिमा लिन भइन् । 

उता रामको दर्शन गर्न भनेर अनेक ऋषि मुनि, ब्राह्मण तथा सर्व साधारण आए । भीडले गर्दा नोकरहरू सबैलाई बाटोबाट हट भन्दै थिए । दशरथ सबैलाई रामको दर्शन गर्दिनु भन्दै अह्राउँदै थिए । उनी सबैप्रति श्रद्धा राखेर यी सब रामलाई आशीर्वाद दिन पाल्नु भएको हो, सबैले दर्शन गरेर आशीर्वाद दिनु हुन्छ भनेर नोकरहरूलाई आश्वस्त पार्दै थिए । 

रामको अवतारबाट सूर्य लगायत सबै देवगण खुशी थिए तर चन्द्रमा भने खुशी थिएनन् । हुँदा हुँदा त सूर्य १२ घण्टामा पनि डेग चलेनन् । बाहिर भीड भएको देखेर दशरथले कौशल्यालाई बाहिर आएर सबैले देख्ने गरि बस्न अह्राए किनभने पुरुष जातिलाई भित्र प्रसूति कक्षमा जाने अनुमति थिएन । सबैको आग्रह मुताबिक राजाको आज्ञा शिरोधार्य गरेर कौशल्या बाहिर आइन् र सबैको आँखा राम दर्शनले तृप्त हुन गयो ।  

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com    



नयाँ