काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ।
२१७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १९३ रन बनाउन सक्यो। बेंगलोरका शहबाज अहमदले सर्वाधिक ४१ रन बनाए। सुयश प्रभुदेशाईंले ३४ रनको योगदान गरे।
बेंगलोरलाई सस्तैमा समेट्न चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। रवीन्द्र जडेजाले तीन विकेट हात पारे।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेको थियो। चेन्नईका रोबिन उथप्पाले आक्रामक ब्याटिङ गर्दै ८८ रन बनाए। ब्याटर शिवम दुबेले समेत आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९५ रन बनाए।