जिल्लाकै एक मात्र नगरपालिकामा मेयरको उम्मेदवार बन्न दर्जन कांग्रेसी नेता दौडमा
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
896
Shares
मुगु । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै मुगु जिल्लाको एक मात्र नगरपालिकाको मेयरको उम्मेदवार बन्न कांग्रेसबाट दर्जन नेताले आकाङ्क्षा देखाएका छन् । नगरप्रमुखको उम्मेदवार बन्नका लागी दावी गर्नेहरूमा वर्तमान बहालवाल जनप्रतिनिधि, निजामती, कर्मचारी, पार्टीका विभिन्न पदमा रहेका नेता कार्यकर्ता देखि कांग्रेसमा आस्थावान् समाजसेवी, सामाजिक अभियन्ता समेत रहेका छन् ।
मुगु जिल्लामा रहेका चार वटा स्थानीय तहहरू मध्ये २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा एक नगपालिका सहित २ गाउँपालिका प्रमुख कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए । विगतमा कांग्रेसले जितेको, केन्द्रमा कांग्रेस कै नेतृत्वमा सरकार भएको, सशक्त विपक्ष पार्टी एमाले टुक्रिएको र यही बेला कांग्रेस, माओवादी केन्द्र , एकीकृत समाजवादीवीच गठबन्धन भएकाले करिब करिब गठबन्धनका उम्मेदवार जित्ने सम्भावना प्रबल देखिएकाले छायाँनाथ रारा नगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा दावी गर्नेहरूको सङ्ख्या बढेको सहजै अनुमान गर्न सकिन्छ ।
जबकि २०७४ को निर्वाचनमा नगरप्रमुखको उम्मेदवार बन्न कांग्रेसबाट ३ जना मात्र आकाङ्क्षी थिए । त्यो बेला मुगुमा एमाले सशक्त प्रतिस्पर्धी थियो । हाल बहाल बाला नगरप्रमुख हरिजंग शाही दोस्रो पटक नगरप्रमुखको उम्मेदवार बन्न आफू इच्छुक रहेको बताउँछन् । उनी भन्छन्.'असहज परिस्थितिमा म नगरप्रमुख भएको हु । नगर सभामा बहुमत नहुँदा सधैँ अवरोधका वीच काम गर्नु पर्यो । मलाई मार्न अज्ञात समूहले निवासमै बम हाने, सबै नगर सभामा विपक्षहरूले सभा हलमा ताला लगाउने, सभामा खुर्सानी छर्ने, कुर्ची भाँच्ने सम्म हर्कत गरे यतीसम्मकी एमालेबाट निर्वाचित प्रदेश सांसद दानसिंह परियार समेत नगर सभामा ढुङ्गा हान्न र अवरोध गर्न आए । त्यसैले मैले गरेका विकासका काम सबै पुरा भएका छैनन्, अहिले सहज वातावरणमा दर्जनौँ उम्मेदवार हुनु भन्दा पुन मलाई नै नगरप्रमुखको उम्मेदवार बनाएर अधुरा रहेका विकासका मेरा काम अघि बढाउन पार्टीले सहयोग गरोस् भन्ने म पार्टीलाई आग्रह गर्दछु ।'
नगरप्रमुखको उम्मेदवार बन्न नगरपालिकाको वडा नं ४ मा हाल बहालवाला वडा अध्यक्ष वडा अध्यक्ष विष्णु कुमार भामले पनि इच्छा देखाएका छन् । जिल्लामा रहेका ४५ वडाहरू मध्य भाम तिनै वडाध्यक्ष हुन जसले आफ्नो कार्यकालमा सरकारबाट प्राप्त सेवा सुविधा सबै आफ्नो व्यक्तिगत काममा खर्च नगरेर सामाजिक काममा खर्च गरे । भामले आफ्नो सेवाको वानी देखेर जनताले यो चोटि नगरप्रमुख हुनुपर्ने दबाब समेत दिएका छन् ।
कांग्रेस महासमिति सदस्य तथा महिला नेतृ सूर्यदेवी मल्ल, नेपाली कांग्रेस मुगु निवर्तमान उपसभापति तथा जनआन्दोलन २ का घाइते नेता खगेन्द्र बहादुर मल्ल, कांग्रेस प्रदेश 'क' उपसभापति सिंह बहादुर मल्ल, महासमिति प्रतिनिधि ऐन बहादुर हमाल, जय बहादुर हितानले पनि नगरप्रमुखको उम्मेदवार बन्न बलियो दावी रहेको छ ।
यस्तै नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण बहादुर सेजुवालले पनि नगरप्रमुखको उम्मेदवारका लागी नगर समितिमा आफ्नो दावी पेस गरेका छन् । उनी भन्छन्,'नगरपालिका चलाउनु भनेको विगतमा गाविस, जिविस चलाए जस्तो छैन यो तिन तहका सरकारहरू मध्यको एक सरकार हो । सरकार चलाउनु चानचुने कुरा छैन त्यसमा पनि नगरपालिका, नगरपालिका चलाउनु प्रशासनिक, प्राविधिक, लेखा, कानुन, सुरक्षा सम्बन्धी ज्ञान भएको हुनुपर्छ त्यो सबै हेर्दा आफू कांग्रेसबाट उपयुक्त उम्मेदवार भएको ठान्छु ।'
मुगु जिल्लाका विकट बस्तीहरू सहकारी मार्फत पुगी वित्तीय साक्षरताका साथै गरिब, निमुखा जनतालाई आर्थिक अधिकार र पहुँचमा पुर्याउन सफल सहकारी अभियन्ता भूपेन्द्र बहादुर मल्ल आफू पनि कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बन्ने दौडमा रहेको बताउँछन् । नगर क्षेत्र भित्रका ८० प्रतिशत युवा आफ्नो साथमा रहेको दावी गर्ने मल्ल पार्टीले आफूलाई उम्मेदवार बनाएमा नगरवासीलाई वित्तीय सक्षम बनाउन कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती र व्यापारमा जोड दिने, वित्तीय अनुशासन कायम गर्ने योजनाका साथै कार्यक्षमता भएको बताउँछन् ।
महासमिति प्रतिनिधि एवं पूर्व पार्टी उपसभापति पदम रावल, नेपाल निजामती कर्मचारी युनियन मुगुका वर्तमान अध्यक्ष पशुपति शाहीले पनि नगरप्रमुखमा उम्मेदवार बन्न दावी गरेका छन्। उम्मेदवार बन्न दावी पेस गर्नेहरूको नामावली सुची, उनीहरूको अवस्था र सम्भावना बारे उल्लेख गरेर कांग्रेसको विधानले दिएको अधिकार क्षेत्र भित्र रहेर प्रदेश समितिमा सिफारिस पेस गर्ने नेपाली कांग्रेस छायाँनाथ रारा नगरपालिका कार्य समितिका सचिव अङ्क बहादुर बुढा बताउँछन् ।
कांग्रेस मुगु सभापति ऐन बहादुर शाही विशाल, पुरानो पार्टीमा नेतृत्वका लागी आकाङ्क्षी बढ्नु स्वाभाविकै भएको बताए । सबै सक्षम व्यक्ति भएकाले सक्षम मध्यबाट एक जना उम्मेदवार हुने भएकाले पार्टीले नगरपालिका चलाउन सक्ने, पार्टीको साख बढाउने, सर्वमान्य नेतृत्व, जनताले रुचाएको, कांग्रेसमा विगत देखि वर्तमानसम्म कर्मठ रूपमा खटिएको सबै हेरेर कणाली प्रदेशमा समितिमा सिफारिस गरिने बताउँछन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था तथा लोकतन्त्र प्रति आस्थावान् पत्रकारहरूको छाता सङ्गठन नेपाल प्रेस युनियन मुगुका अध्यक्ष विनोद कुमार मल्ल पार्टीले निश्चित मापदण्ड बनाएर उम्मेदवार छनौट गर्नुपर्ने सुझाव दिन्छन् । पार्टीमा क्रियाशीलता, पार्टी, भातृ सङ्गठन, शुभेच्छुक संस्थामा रहेर पार्टीको हित हुने काम गरेको, पार्टीलाई आर्थिक, भौतिक, सामाजिक रूपमा सहयोग गरेको, प्रशासनिक, प्राविधिक, कानुन र लेखा सम्बन्धी ज्ञान भएको, पार्टीबाट विगतमा उम्मेदवार भई लाभको पद नलिएको, विपक्षसँग तर्क सङ्गत यथार्थ बहस गर्न सक्ने क्षमता भएको, निडर, स्पष्ट स्वभाव भएको, विगतका विभिन्न चुनावमा कांग्रेसलाई जिताउन लागी परेको, विपक्ष उम्मेदवारसँग साठगाँठ नगरेको, चन्दा नदिएको हुनुपर्ने र विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएका जस्ता विषय मापदण्डमा समेट्नु पर्ने पनि अध्यक्ष मल्ल भन्छन् ।
यस्तै नगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्न ४ जना महिला नेतृले दावी गरेका छन्। दावी गर्नेहरूमा जिल्ला कार्य समितिकी सदस्य ऐश्वर्या मल्ल, खुम्यानी विक, रमाइली रावल र ईश्वरमती रावल रहेको पनि नगर समितिले जनाएको छ ।