arrow

पार्टीमा युवा, विद्यार्थी पाका, महतलाई भयो फलामका च्युरा

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
nc-nsu-flag.jpg.jpeg
काठमाडौं। गएको फागुन महिनामा माउ पार्टी नेपाली काँग्रेसको महाधिवेशन ताका एउटा समाचारले निकै ठूलो चर्चा पायो, नेपाली काँग्रेसको महाधिवेशनमा युवाको प्रतिनिधित्व नाटकीय रुपमा बढ्यो। 
 
त्यस समयमा दिइएको तथ्यांकमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुमा ३० वर्ष मुनिका प्रतिनिधिको संख्या कम्तीमा पनि एक तिहाई छ, र यो संख्या यसअघिका महाधिवेशनेहरुको तुलनामा दोब्बर भन्दा बढी हो। 
 
त्यो प्रतिनिधित्व हुनुमा पार्टीले गरेको गल्तीलाई तर्कका रुपमा अघि सारिएको थियो। त्यो गल्ती थियो पार्टीले नेपाल विद्यार्थी संघको महाधिवेशन रोक्नु।
 
हुन पनि हो। पार्टीको महाधिवेशन दुई दुई पटकसम्म हुदा पनि नेविसंघको माउ पार्टीले गरिदिएन। त्यस ताकाका विश्लेषकहरुको तर्क थियो, यदि पार्टीले समयमै नेविसंघ, तरुण दल आदिको महाधिवेशन गरिदिएको भए ती युवाहरु त्यतै जान्थे।
 
कम्तीमा पनि एक दशकसम्म यो महाधिवेशन नगरिदिएको कारणले नै युवाले आफ्नो प्लेटफर्म पाएनन् र यसरी पार्टीमा प्रवेश गर्नुपर्यो । यो तर्कमा धेरै दम छ किनभने काँग्रेसका युवा, विद्यार्थी र तरुणले प्लेटफर्म नपाएकै हुन्। 
 
तर यतिबेला भने नेपाली काँग्रेस आवद्ध तिनै विद्यार्थीको महाधिवेशन चलिरहेको छ र यसलाई अहिलेको पार्टी नेतृत्वले सम्भव बनाइदिएको छ।  यसअघिको नेतृत्वले सम्भव नदेखेको यो महाधिवेशनलाई काँग्रेसीजनहरुमा मानौँ कि आठौं आश्चर्यजस्तो गरी लिएका छन् र आम रुपमा निर्वाचनमा होमिइसकेका छन् । तर यतिखेरको महाधिवेशनमा पनि एउटा अलग्गै चर्चाको विषय बनेको छ विद्यार्थी संगठनमा पाकाको दाबी भनेर। 
 
यसमा पनि पार्टीले दशवर्षसम्म महाधिवेशन नगरिदिँदा तिनै विद्यार्थीको उमेर दश वर्ष पुरानो भएको हो भन्दा गल्ती हुदैन। पार्टीमा जुन कारणले आकांक्षीको उमेर घट्दो थियो संगठनमा पनि त्यही कारणले विद्यार्थीको उमेर बढेको हो। जे होस, यो दुवै यथार्थ हो। 
 
प्रसंग यतिखेर जारी महाधिवेशनको सफलताको हो। यो सफलतासँग पार्टीको नयाँ नेतृत्वको सफलता जोडिएको छ। किनभने अघिल्ला नेतृत्वहरुले दशकसम्म पनि सम्भव नदेखेको महाधिवेशन वर्तमान शेरबहादुर देउवाको नेतृत्वले पाँच महिनाभित्रै सम्भव देख्यो र आँट्यो। 
 
यसलाई आट्ने काममात्र नेतृत्वले गरेको भएपनि सम्भव तुल्याउने मेरुदण्डको नाम डा प्रकाशशरण महत हो। सभापति देउवाले नेवि संघको महाधिवेशनको जिम्मेवारी दुई महिना अघि मात्र डा महतलाई दिएका थिए। 
 
नेता डा महत भन्छन्, काम त निकै अपजसिलो हो किनभने एक दशकदेखि गुम्सिएर रहेको जोसिलो विद्यार्थी भावनाको व्यवस्थापन गर्नु सजिलो काम होइन। तर पनि पार्टी सभापतिले दिएको जिम्मेबारीबाट म पछि हट्न सकिन र जिम्मेवारी पनि लिएँ।
 
उनले भनेजस्तै गएको करिब महिना दिनदेखि उनको घरमा ठूलो मेला लागेको छ। दिनहूँ सयौँ व्यक्ति टुट्दैनन् उनको निवासमा । कोही उम्मेदवारीको टिकट माग्न त कोही दिलाउन। अनि कोही दबाब दिन पनि । तर डा महतमाथिको अर्काे दबाब पार्टी नेतृत्वको पनि हुनसक्ला। यो वा त्यसको पक्षमा माहौल बनाउने वा टिकट दिने भन्ने निर्देशन पनि हुन्छ नै होला । यी सबै चुनौतीका बाबजुद पनि डा महत महाधिवेशनलाई सम्भव बनाउन जिम्मेवारी पाएको दिनदेखि नै लागि परेका छन्। 
 
उनले लागेजस्तै नै महाधिवेशनले सफलता पनि आर्जन गरेकै छ। तीन अलग्गै समूहका तीनवटा प्यानललाई मिलाएर यहाँसम्म ल्याउन पनि फलामका चिउरा चपाउनु सरह नै थियो। निर्वाचन भइसकेको छैन र अहिले पनि डा महतले चिउरा चपाइ नै रहेका छन्। त्यसैले यो पाका पुस्ता र विद्यार्थी पुस्ताबीचको अन्तर आगामी दिनमा हटाएर नेवि संघलाई पाकाहरुको संघ नभएर विद्यार्थी संगठन नै बनाउनका लागि उहाँले प्रस्ताव गरेको नयाँ विधानले असल संकेत गर्दछ। यसलाई विद्यार्थीले नै छलफलमा ल्याएर विधानकै रुपमा पारित गरिदिने हो भने यसले जिवन्त नेवि संघ निर्माणमा ठूलो फरक पार्ने छ। आगामी दिनमा विद्यार्थी संघलाई पार्टीको नयाँ पुस्ता उत्पादनको लागि वास्तवमै सशक्त बनाउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ