arrow

एमालेमा ‘साइलेन्ट’ विद्रोहको खतरा, १० बुँदे वालाको ‘कत्लेआम’   

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
uml-flag.png

काठमाडौं । आउँदो स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस तथा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिए पनि एमालेभित्र भने ‘साइलेन्ट’ विद्रोहको खतरा बढेको छ । एमालेमा १० बुँदे सहमति गरी बसेका पार्टी निकट रहेका नेता कार्यकर्तालाई कत्लेआम हुने गरी टिकट वितरण गरेपछि साइलेन्ट विद्रोहको खतरा बढेको हो । 

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको अवस्था हेर्दा दुई पार्टीबीच प्रतिस्पर्धा हुने देखिए पनि साइलेन्ट विद्रोहले एमालेलाई घाटा हुने अवस्था देखिएको छ । देशभर एमालेका नेता कार्यकर्ताहरुबीच असन्तुष्टि देखिएको छ । 

‘केन्द्रीय कमाण्ड बलियो हुँदा बाहिर कसैले बोल्न सकेका छैनन् । तर भित्रभित्रै असन्तुष्टि बढेको छ’, एमालेका एक उच्च नेताले भने । उनका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा यसको असर देखिएको छ ।

पूर्वमा उदयपुर, ओखलढुंगा, सुनसरी, मोरङ, ईलाम, ताप्लेजुङ लगायतका जिल्लाका १० बुँदेलाई पाखा लगाइएको छ । त्यसैगरी डा. भीमबहादुर रावलको क्षेत्रमा पनि यसैगरी टिकट वितरणमा असमानता भएको भन्दै चरम असन्तुष्टि देखिएको छ । 

साथै बागमती प्रदेशमा पनि यसको असर देखिएको छ । मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन दल मध्येको कांग्रेस  र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

त्यहाँ पनि १० बुँदेलाई कत्लेआम गरिएको छ । कोही कसैलाई टिकट दिइएको छैन । अर्को पार्टीबाट प्रवेश गरेका नेताहरुलाई टिकट दिएर संगठनमा काम गरेका नेताहरुलाई बेवास्ता गरिएको छ । काठमाडौंंको १४ नम्बर वडामा स्थानीय कार्यकर्ताले विरोध गरेको अवस्था छ भने, ३ नम्बर वडाका वर्तमान वडाध्यक्षले पार्टी नै परिवर्तन गरेका छन् । त्यसैगरी १० बुँदे सहमति गरेर एमालेका क्रियाशील रहेका उदयपुरका पार्टी अध्यक्ष इश्वरमणी राउतलाई बाहिर राखिएको छ ।

एमालेबाट ललितपुर महानगरपालिकाको वडाध्यक्ष जितेका पुरूषोत्तम खड्काले असन्तुष्टि व्यक्त मात्रै गरेनन् नेकपा माओवादी केन्द्र प्रवेश गरेलगत्तै उम्मेदवार बने । नेकपा माओवादी केन्द्रका तर्फबाट उनी ललितपुर महानगर वडा नं १८ को उम्मेदवार बनेका छन् ।

सोलुखुम्बूमा पार्टीका कार्यकर्तालाई वेवास्ता गरेर भर्खरै नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका विवादास्पद छविका आङकाजी शेर्पालाई टिकट दिएपछि जिल्ला कमिटीका सचिवालय सदस्य विरुदास श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरी पोखराका दीपक पौडेलले पनि असन्तुष्टि व्यक्त गरेका छन् । सोलुमा पूर्व उपमेयर कल्पना राई पनि ‘साइलेन्ट’ बसेकी छिन् । खोटाङमा मझुवागढी नगरपालिकाकी वर्तमान उपमेयर विणा राईले पनि असन्तुष्टि व्यक्त गरेकी छिन् । 

त्यसैगरी एमालेका केन्द्रीय सदस्य रहेका व्यक्तिले समेत टिकट नपाएपछि विद्रोह गरेका छन् । एमालेका केन्द्रिय सदस्य हरिनारायण महतोले पार्टी परित्याग गरेका छन । मिथिला नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका उनले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिँदै मिथिला नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिए । 

पार्टीले स्थानीय नेता कार्यकर्ता र जनभावना विपरीत जग्गा व्यापारीलाई टिकट दिएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको  बताएका छन् । त्यसैगरी एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन् । 

सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको थियो । राईले सोमबार मनोनयन दर्ता गराएका हुन् । गाउँपालिकाको निर्वातमान अध्यक्ष समेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

महानगरमा गठबन्धन र एमालेबीच भिडन्त 
काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रावेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । एमालेबाट काठमाडौँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन् । 

सिंह र स्थापित दुवै ‘हेभि वेट’ उम्मेदवार हुन् । स्थापित यसअघि काठमाडौं महानगरका मेयर भैसकेका छन् भने सिर्जना भने प्रकाशमान सिंहकी श्रीमती हुन् । विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

विराटनगरमा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिएका छन् । कोइराला र थापा दुवै युवा तथा विद्यार्थी राजनीतिबाट उदाएका कारण त्यहाँ पनि कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा जसपा नेपालका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् । वीरगञ्ज महानगरमा एमाले र लोसपा नेपालले तालमेल गरेका छन् । जसअनुसार मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपाका पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् । 

यस्तै ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन् । ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य ‘आस्था’ले उम्मेदवारी दिएका छन् । व्यञ्जनकार यसअघि चिरिबाबुसँग पराजित भएका थिए ।

यसैगरी भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको छ । जसअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन् । 

रेणु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुनुका साथै बहालवाला मेयर हुन् । सुवेदी प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा होमिएका छन् । पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् । 

पोखरामा नेकपा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ