arrow

स्थानीय तह निर्वाचन घाेषणापत्र : शिक्षामा कुन पार्टीको के छ प्रतिबद्धता ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
parties-education-manifesto.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सबैजसो दलहरुले आफ्नो घोषणापत्र जारी गरेका छन् । घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा उल्लेख्य सुधार र विकास गर्ने प्रतिवद्धता सबै दलहरुले गरेका छन् ।

एक्काईसौं शताब्दीमा शिक्षाले प्रविधिका क्षेत्रमा ल्याएको उल्लेख्य परिवर्तनले अहिलेको शिक्षा पद्धतिलाई झनै गुणस्तरीय बनाउनु पर्नेमा एेक्यबद्ध गराएको छ । शिक्षा क्षेत्रलाई थप व्यवस्थितस्थीत, गुणस्तरीय, सहज र निशुल्क बनाउनु आजको आवश्यकता देखिन्छ ।

यसको अर्को मुख्य बिषय भनेको शिक्षा लिन सक्ने स्थितिमा हरेक बालबालिका पुग्नुपर्ने वातावरण बनाउनसमेत स्थानीय सरकारले जोड दिनुपर्ने देखिन्छ । यसको अर्थ के भने हामीले हजारौं बालश्रमिकहरु देखिरहेका हुन्छौं । हो, ती बालबालिकाहरुलाई श्रम गर्नेुपर्ने परिस्थितिबाटमुक्त गराएर शिक्षा लिने स्थितिमा पुर्याउनु पर्ने पहिलो आवश्यकता देखिन्छ ।

यतिले मात्र पुग्दैन उक्त शिक्षा लिइसकेपछि ती बालबालिकाले आम्दानीका लागि विदेश जानुपर्ने अथवा बेरोजगार रहनुपर्ने स्थिति आउन नदिने अर्को आवश्यकता हो । त्यसका लागि उनीहरुले उचित सीप र सो अनुसारको रोजगारी एवं उद्यमशीलता गर्नसक्ने हुनुपर्छ ।

दलहरुले स्थानीय तहको चुनावलाई लक्षित गर्दै शिक्षा क्षेत्रमा विभिन्न किसिमका प्रतिबद्धताहरु गरेका छन् । तथापि वस्तुगत किसिमले आमुल परिवर्तन ल्याउने प्रतिबद्धताहरु भने सायदै छन् ।

शिक्षामा नेकपा एमालेको के छ प्रतिबद्धता?

एमालेले शिक्षा क्षेत्रमा बीचमै पढाई छोड्नु पर्ने समस्या समाधान गर्ने र स्कुल जान नसक्ने बालबालिकाका लागि बिशेष व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ । पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने र प्रौढ तथा अभिभावक शिक्षा सञ्चालन गर्ने र पुस्तकालय स्थापना गर्ने प्रतिबद्धता गरेको छ ।

पर्याप्त कक्षा कोठा, शिक्षक, खेलमैदान एवं यातायातको सुविधा र बालिकामैत्री शौचालय, स्यानिटरी प्याड, नर्स सेवा, दिवा खाजालगायतका कुराहरुलाई निरन्तरता, विस्तार एवं सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ ।

यस्तै एमालेले आफ्नो घोषणा पत्रमा प्रत्येक पालिकामा कम्तिमा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने र पढ्दै र कमाउँदै गर्न शिक्षालाई सिप र रोजगारीसँग आबद्ध गर्ने प्रतिबद्धता गरेको छ ।

विद्यालय व्यवस्थापन समितिलाई सक्षम, प्रभावकारी र जवाफदेही बनाउने, शिक्षकलाई प्रविधिमैत्री बनाउने, माध्यमिक शिक्षालाई क्रमशः निशुल्क र अनिवार्य बनाउने एवं उच्च शिक्षाका लागि सक्षम र प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्ने र सबैभन्दा सक्षमलाई शिक्षक पेशामा आवद्ध गर्न आवश्यक नीति र योजना तर्जुमा गर्ने प्रतिबद्धता गरेको छ ।

शिक्षामा कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले सिकाई केन्द्रीत विद्यालय स्थापना गर्ने, विद्यालयमा अभिभावकको उपस्थिति बढाएर अभिभावक जागरुक बनाउने, उत्प्रेरक शिक्षा एवं सबल नेतृत्व र व्यवस्थापन लगायतका प्रतिबद्धता गरेको छ ।

प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्दै जवाफदेही शिक्षा प्रणाली बनाउने, नीति, योजना र शासकीय सुधार गर्ने, शिक्षामा लगानी दोब्बर गर्ने, धार्मिक विद्यालय अर्थात् मदरसा, गुम्बा, गुरुकुल जस्ता शिक्षालयको निःशुल्क दर्ता गरी आधुनिक सीपमूलक शिक्षालाई समेत समावेश गर्न उत्प्रेरित गर्ने, संस्थागत विद्यालय र गैरसरकारी संस्थाको व्यवस्थापन गर्ने एवं संघीय तहबाट सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) को प्रतिबद्धता

जनता समाजवादी पार्टी जसपाले शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसका लागि श्रम, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न जोड गरिने छ । माध्यमिक विद्यालय तह सम्मको शिक्षालाई व्यवहारिक रूपमा नै निशुल्क र गुणस्तरीय बनाउने जसपाको प्रतिबद्धता छ ।

प्रारम्भमा “एक पालिका एक मोडल स्कुल” को अवधारणालाई कार्यान्वयन गर्ने र सबै विद्यालयहरूमा कम्प्युटर शिक्षा दिने प्रतिबद्धता जसपाको घोषणा पत्रमा उल्लेख छ ।  

विशेष शिक्षा (अपाङ्ग शिक्षा) लाई विस्तार गर्ने, आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गर्ने, आधारभूत भन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गर्ने, गणित, विज्ञान, स्वास्थ्य विज्ञानलगायतका आधुनिक विषयहरूको पढाई अंग्रेजी माध्यमबाट गर्ने, विद्यालय र घरवस्तीको दूरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गर्ने एवं स्थानीय तहहरूले शिक्षामा सुरूमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने प्रतिबद्धता जसपाको छ ।

एकीकृत समाजवादीको शिक्षामा प्रतिबद्धता

नेकपा एस (एकीकृत समाजवादी) ले  विद्यार्थीहरूले माध्यमिक तह (कक्षा १२) को शैक्षिकस्तर पूरा गरेपछि मध्यम स्तरको दक्ष नागरिक बन्ने गरी पाठ्यक्रममा सुधार गर्नका लागि संघीय तहबाट आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ ।

माध्यमिक तह उत्तीर्ण गरेको विद्यार्थी स्वरोजगार हुन सक्ने गरी पाठ्यक्रममा आवश्यक परिमार्जन गर्ने, सरकारी विद्यालयहरूमा माध्यमिक तहसम्मको शिक्षामा उच्च गुणस्तर कायम गर्दै निःशुल्क शिक्षा उपलब्ध गराउने, एकपालिका, एक प्राविधिक शिक्षालयको अवधारणा अघि सार्ने, स्थानीय सरकारद्वारा छात्रवृत्ति र सहयोगको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता गरेको छ ।

यसबाहेक पूर्ण साक्षर नभएका पालिकामा साक्षरता कार्यव्रmमहरु सञ्चालन गरी पूर्ण साक्षर पालिका घोषणा गर्ने, आफ्नो भूगोलभित्रका नागरिकले पालिकाले चाहेको विषयमा विद्यावारिधि गर्न चाहेमा सम्बन्धित शोधार्थीलाई एकपटकका लागि एकमुष्ठ दुई लाख रुपैयाँ छात्रवृत्ति दिएर सहयोग गर्ने, स्थानीय तहहरूमा किशोरी जनचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै छात्राहरूलाई स्वास्थ्य परामर्श दिने व्यवस्था गरिने एवं सेनिटरी प्याड निःशुल्क वितरण र्गे प्रतिबद्धता नेकपा एसको छ।

यस्तै प्रत्येक विद्यालयमा बालबालिकाको स्वास्थ्य उपचारका लागि नर्सिङ सेवा उपलब्ध गराउनेसमेत नेकपा एसको प्रतिबद्धता छ ।

राप्रपाको प्रतिबद्धता यस्तो छ

राप्रपाले १२ कक्षा सम्म पूर्ण निःशुल्क शिक्षाको प्रतिबद्धता गरेको छ । सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय बनाउने,  सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, प्रारम्भिक बालबिकास शिक्षा र कार्यक्रमलाई गुणस्तरीय बनाउने लगायतका प्रतिबद्धता गरेको छ ।

यस्तै विशेष किसिमको राप्रपाको प्रतिबद्धता भनेको गरिब र अल्पसंख्यक बर्गबाट प्रत्येक वर्ष एक स्थानीय तहबाट एक जनालाई छात्रवृत्तिमा एमबीबीएस र एक जनालाई इन्जिनियरिङ पढाउने प्रतिवद्धता रहेको छ।

छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, सबै विद्यालयमा छात्रा मैत्री वातावरण निर्माण अर्थात् छात्रा शौचालय बनाउने, लागुऔषध दुर्व्यसनविरुद्ध नियमित अभियान सञ्चालन गर्ने, प्रत्येक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने, बेरोजगार र सीपविहीन युवाका लागि सीपमुलक तालिम केन्द्र स्थापना गर्ने, प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा एवं फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षा कोठाको व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ