arrow

चुनावमा सहकार्यको तिकडमबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
congress-uml-maobadi-as-jasapa.jpg
तस्बिर– फाइल

काठमाडौं । यतिबेला सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । खासगरी एमालेले सत्ता गठबन्धनलाई हराउन विभिन्न तिकडमबाजी गरिरहेको छ भने सत्ता गठबन्धनले त्यसलाई चिर्न अनेकन रणनीति बनाएको छ । 

कहीँ माओवादीलाई छाडेर राप्रपालाई साथ लिएको देखिन्छ भने कहीँ एमाले र कांग्रेसको पनि सहकार्य भएको देखिन्छ । रोल्पा र रुकुममा कांग्रेस एमालेको सहकार्य देखिएको छ । रोल्पा रुकुममा माओवादीले आफ्नो दम्भ त्याग्न नसक्दा कांग्रेस एमाले सहकार्य हुन पुगेको हो भने माओवादीले भने धेरै स्थानीय तहमा कांग्रेसको साथ छाडेर एमालेसँग सहकार्य गर्न पुगेको छ । 

उता अछाममा एमाले र नेकपा समाजवादीबीच सहकार्य चलिरहेको छ । सिन्धुपाल्चोकमा अघोषित रुपमा एमाले र माओवादीबीच सहकार्य चलिरहेको छ । त्यस्तै गण्डकी प्रदेशका अधिकांश जिल्लामा एमाले र माओवादीबीच सहकार्य चलिरहेको छ । 

गठबन्धन नभएको अधिकांश स्थानमा एमाले र माओवादीबीच घोषित, अघोषित तालेमेल भैरहेको स्रोतले जनाएको छ । उता सत्ता गठबन्धन र एमालेलेबाट दोहोरो फाइदा लिने गरी राप्रपाले आफूलाई उभ्याएको छ । 

आवश्यकताअनुसार दुवै पक्षसँग तालमेल गरेर लाभ लिने नीति राप्रपाले अपनाएको हो । अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा एमालेलाई हराउन सत्तागठबन्धनका कांग्रेस र माओवादीसँग राप्रपाले तालमेल गरेको छ । 

उता भरतपुर महानगरलाई केन्द्रमा राखेर एमालेले चितवनमा राप्रपासँग तालमेल गरेको छ । सत्तागठबन्धन र विपक्षी गठबन्धनमा राप्रपाको सहभागिताले झापा र चितवनमा निर्वाचन पेचिलो हुने भएको छ ।

दमक नगरपालिकामा पहिलो शक्ति रहेको एमालेलाई हराउन तीन दलले तालमेल गरेका छन् । २०७४ को परिणामअनुसार दमकमा राप्रपा दोस्रो, माओवादी तेस्रो र कांग्रेस चौथो शक्ति हो । 

सो निर्वाचनमा एमालेका रोमनाथ ओली १० हजार ८०६ मत ल्याई मेयर भएका थिए । राप्रपाका राम थापा सात हजार ६५५ मतसहित प्रमुख प्रतिस्पर्धी थिए । माओवादीका रेवतराज पुरीले ६ हजार ८९८ र कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मत ल्याएका थिए ।

यसपटक दमकमा तीन दलका तर्फबाट राप्रपाका राम थापा र एमालेबाट गीता अधिकारी मेयरका उम्मेदवार छन् । उपप्रमुखमा तीनदलीय गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई प्रसाईं र एमालेबाट अम्बिका खनाल उम्मेदवार छन् । 

त्यस्तै चितवनको भरतपुर महानगर र माडी नगरपालिकामा एमाले–राप्रपाबीच चुनावी तालमेल भएको छ । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाकी हिमला गुरुङलाई एमालेले सहयोग गर्ने सहमति बनेको छ । 

महानगरको वडा नम्बर १५ र २६ को अध्यक्ष पनि राप्रपाले पाएको छ । केही राप्रपाले एमालेलाई छोडेको छ । २०७४ मा तालमेल गरी लडेका माओवादीले मेयर र कांग्रेसले उपमेयर जितेका थिए । 

सो समीकरणमा अहिले एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी थपिएको छ भने एमाले र राप्रपा तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तागठबन्धनका तर्फबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । 

नेपालगन्जमा पनि एमाले र राप्रपाबीच तालमेल भएको छ । राप्रपाका धवलशमशेर राणा आफैं सो तालमेलमा खुलेर लागेका थिए । एमालेबाट पशुपति मिश्रलाई उम्मेदवार बनाइएको छ । त्यहाँ एमाले कमजोर रहेका कारण राप्रपासँग तालमेल गरेको हो । 

यसैगरी रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ । कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपाको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो । 

नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो । नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाकै कारण त्यहाँ सहमति भएको हो । 

२०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो । यसपटक माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । 

तर गुल्मीको धुर्कोट गाउँपालिका (जुन एमाले नेता गोकर्ण विष्टको क्षेत्र) मा भने एमाले र माओवादी केन्द्रबीच चुनावी एकता भएको छ । जहाँ माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवार खडा गरेका छन् । 

त्यहाँ कांग्रेससँग उनीहरुको प्रतिस्पर्धा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ