arrow

विचार विहिन नेविसंघ स्वत: ध्वस्त हुने बाटोमा !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ १ बुधबार
npu-flag.jpg.jpeg
आफूलाई प्रजातन्त्रको हिमायती मान्ने व्यवस्थापिका संसद्को पहिलो दल नेपाली काँग्रेसको भातृसंस्था हो नेपाल विद्यार्थी संघ । कसैले नेपाली काँग्रेसको नर्सरी त कसैले भातृ संस्था र कतिले यसलाई पार्टीको दाहिने हात समेत पनि भन्ने गरेका छन् । 
 
शाब्दिक रूपमा जतिसुकै महत्वपूर्ण शब्द दिएपनि अबको युग शब्दको पछाडि हिँड्न छाडिसेको छ, तर आफूलाई इतिहासमा सत्ता पल्टाएको र जेल जीवन भोगेको सुनाएर परिवर्तनकारी भन्न रूचाउनेहरूकै कारण नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा मुख्य शक्तिले आफ्नो बाटो भुलिसकेको छ । 
 
प्रजातान्त्रिक आन्दोलनमा आफ्नो निस्वार्थ योगदान दिएकाहरूको अवसानसँगै नेपाली काँग्रेस आफैं पनि लगाम विनाको घोडाजस्तो बनेको कुरा कसैले नकार्न नसक्ला । किनभने यो विगतका केही वर्षलाई नियाल्ने हो भने सर्वत्र छताछुल्ल भईसकेको विषय बनेको छ । 
 
अझ तिनै काँग्रेसीहरूले नर्सरी भनेर मानेको नेविसंघको हविगत हेर्ने हो भने अबको नेविसंघ स्वतः अवसानको बाटोमा हिँड्न सुरू गरेको छ । जुन स्वयं नेविसंघलाई त घाटाको कुरा अवश्य नै भयो । यस बाहेक पनि नेपाली काँग्रेस र समग्र प्रजातान्त्रिक विचारधारा बोक्ने बुद्धिजीवी नेपालीहरूको लागि समेत दुखद् विषय हो । 
 
वि सं २०२८ सालमा नेपालमा पार्टी पद्धतिलाई बन्देज लगाईएको बेलामा विद्यार्थीहरूको माध्यमबाट प्रजातन्त्रको वकालत गर्नको लागि खुलेको नेपाल विद्यार्थी संघको इतिहास यसैपनि स्वर्णीम छ र ऐतिहासिक पनि । तर यो विद्यार्थी संघठन अहिलेको समयसम्म आईपुग्दा यहि ऐतिहासिकताको आडमा मात्रै पहिचानमा रहेको कुरा स्पष्ट हुन सकेको छ । जुन टेको मेटिने वित्तिकै ढल्नेमा कुनै द्विविधा रहँदैन । 
 
विद्यार्थी संगठन नेतृत्व र कार्यकर्ताले मात्रै चल्ने संस्था होइन । अध्ययन अध्यापनमा लागेकाहरूको चिन्तन मननबाट नयाँ सिद्धान्तको प्रतिपादन गर्दै आफैंले बोकेका सिद्धान्ताहरूलाई पनि मन्थन गरेर विकारका पदार्थको पहिचान गर्दै त्यसलाई सुधारको बाटो तर्फ लैजानु पर्ने हो । तर, नेविसंघको अहिलेको बाटो हेर्ने हो भने नेविसंघ जानुपर्ने भन्दा भिन्न बाटोबाट आफ्नो गन्तब्य खोजी रहेको छ । 
 
नेविसंघ जानु पर्ने र जान खोजीरहेको सिद्धान्तले भरिएको बाटो तर्फ किनभने ऊ विश्वसनीयताका हिसावले पनि पुरानो विद्यार्थी संगठन भएकोले ऊ माथि अन्य संगठनका बैचारिक मार्गदर्शनलाई समेत सँगै लिएर विद्यार्थी राजनीतिको धरातललाई साँच्चिकै माउ पार्टीको नर्सरीको रूपमाा विकास गर्नुपर्ने अभिभारा रहेको छ । तर नेविसंघको नेतृत्व सिद्धान्तकारीहरूको हातमा होईन डन, धन र जनको आधारमा चलिरहेको छ भन्नेकुरा काठमाडौंका जारी ११ औं महाधिवेशनले देखाएको छ । 
 
११ औं महाधिवेशनमा नेविसंघले बन्दशत्र गर्न सकेन । यो नेविसंघको लागि एउटा ऐतिहासिक कमजोरी या त संगठन स्वतः अवशानको एउटा खुड्किलो झरेको छ । किनभने कुनैपनि महाधिवेशनमा गरिने बन्दशत्र बैचारिक बहसमार्फत् आफूभित्र रहेका कलुषितताको बिरेचन गर्ने ठाउँ हो । यहीँबाट नै नयाँ सिद्धान्तको अनुशरण हुन्छ र नराम्रा सिद्धान्तको परिमार्जन हुन्छ । 
 
तर नेविसंघले यो सोचेन कि बन्दसत्र विनाको महाधिवेशनले नेविसंघलाई विचार विनाको नेविसंघ बनाउने छ भनेर । यदी अहिलेका विद्यार्थी नेताहरू सिद्धान्तप्रति निष्ठ थिए भने १० दिन थपेर निर्वाचनको कार्यतालिका जुराउन सक्दा बढीमा दुईदिन बन्दशत्रमा बस्न किन सकेनन् ? यो प्रश्न अन्य विद्यार्थी संगठन र सामान्य नागरिकले पनि नेविसंघ नेताहरूमाथि तेस्र्याउने महंगो प्रश्न हुनेछ । 
 
बैचारिक मान्यताबाट विचलित भएका अहिलेका नेविसंघ नेताहरू माउ पार्टीको गुलामी गर्न र अन्तिममा धेरै प्रजातान्त्रिक देखिँदा नेतृत्व चयन गर्दा विद्यार्थीको मतदानबाट चुनिएकालाई छान्ने सोचाई भन्दा माथि उठ्न सकेनन् । यो प्रवृत्तिले नेविसंघ अरू कसैको कारणले नभएर आफ्नै कारणले ध्वस्तः हुने बाटोमा लागिरहेको छ । 
 
संगठनमा वैचारिक बहस सिद्धान्त प्रतिपादनको लागि मात्रै नभएर अन्य विद्यार्थी संगठनका विद्यार्थीहरूलाई आकर्षण दिन पनि आवश्यक हुने गर्दछ । तर, वर्षौंसम्म महाधिवेशन हुन नसक्ने र महाधिवेशन हुँदा पनि बैचारिक बहसमा शुन्य रहने र उम्मेदवारहरू माउ पार्टीका शीर्ष नेताको भक्तिमा मात्रै लिप्त रहने प्रबृत्तिले गर्दा पनि यो संगठनप्रति मानिसको मोह विस्तारै कम हुँदै जाने र यसमा आवद्ध भएकाहरूमा पनि विस्तारै वितृष्णाको भाव जागृत हुने निश्चित छ । जस्ले गर्दा पनि यो संगठन बेलैमा नसुध्रने हो भने यो इतिहासमा सीमित हुन पनि समय नलाग्ला । 
 
त्यस्तै, माउ पार्टीको शिकार हुनु पनि नेविसंघको लागि एउटा ठूलो दूर्भाग्यको कुरा हो । नेविसंघको विवाद मिलाउनको लागि आ–आफू सक्षम नभएपछि पार्टी सभापति र वरिष्ठ नेताबीच सहमति हुनुले पनि विद्यार्थी नेता पाटीको चाल्ने गोटी सरह रहेको पुष्टि गराएको छ ।
 
 त्यसबाहेक पनि माउ पार्टीको भागबण्डाको शिकार हुनु, बिद्यार्थी हकहितको भन्दा नेताका लागि राजनीति गर्नु नेविसंघ पतनको लागि ११ हौं महाधिवेशनमा देखिएका संकेतहरू हुन् । त्यस्तैगरी, काँग्रेस नेताका स्वार्थकालगि परिचालित हुनु, प्रतिस्पर्धा भन्दा टिके प्रथामा विश्वास गर्नु, फर्जी भोटरकालागि लडाइ गर्नु लगायतका प्रवृत्तिहरूले पनि नेविसंघलाई अघोगतितिर लगिरहेको छ । यसलाई समयमा नै रोक्न नसक्ने हो भने पछि सारालाई पछुताउने बाहेकको कुनै विकल्प रहने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ