arrow

पहिलो कार्यकालका प्रतिवद्धता पूरा नगरेका नरुलालले फेरि जितेर जोगाए शंकर पोख्रेलको आँगनमा एमालेको साख

logo
नारायण वली,
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
20220520_143732.png

रुपन्देही । २०७४ सालको स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका नेता नरुलाल चौधरीले जित हात पारे । पाँच वर्षसम्म वहाल भएर उपमहानगर चलाए । ०७४ सालको चुनावमा मेयरमा ५ हजार मतान्तरले नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीलाई पराजित गरेका थिए । 

पुनः ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा उनै चौधरीले पाँच दलीय गठबन्धनबाट मेयर पदमा उठेका नेकपा माओवादी केन्द्रका नेता हेमराज शर्मा (डायमण्ड) लाई पनि पुरानै मतान्तरले पराजित गर्न पुगे ।

बैशाख ३० गते दोस्रो स्थानीय तहको चुनावमा नरुलाल फेरि चुनावी मैदानमा होमिए । कांग्रेसका भुपबहादुर भने दोस्रो चुनावी मैदानमा उत्रिए पनि । तर फरक पदमा दौडान लिए । यसपटक पनि डाँगी मेयरको आकांक्षी थिए । केन्द्रिय नेतृत्वले गरेको चुनावी गठबन्धनले गर्दा उनी उपमेयर र मेयरमा माओवादी केन्द्रलाई भाग पर्यो । 

पाँच दलिय गठबन्धनसँग प्रतिस्पर्धा गर्न पुगेको नेकपा एमालेले महानगर र उपमहानगरपालिकामा जित हात पार्न सकेको छैन । तर दाङको घोराही उपमहानगरपालिकाका लागि नरुलाल चौधरीले भने पाँच दलीय गठबन्धनलाई भारी मतान्तरले हराउँदै दोस्रो कार्यकाल सुरक्षित गर्न पुगेका छन् ।

०७४ को जनमतलाई आधार मान्ने हो भने ५ दलीय गठबन्धन भन्दा एमाले कमजोर मानिएको थियो । तर पनि एक्लै प्रतिस्पर्धा गरेको एमालेले गठबन्धनलाई हराएर उपमहानगरलाई एमालेमय बनाएको छ । एमाले उम्मेदवार चौधरीले ३१ हजार ७ सय २८ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डायमण्डले २६ हजार ३ सय ६८ मत पाएर हार ब्यहोरे ।

घोराही थारु समुदायको बाहुल्य रहेकाले उनीहरुको मत केन्द्रिय निर्वाचनमासमेत निर्णायक हुने गर्दछ । थारु समुदायको मत तान्न दलहरुले थारु नेताहरुलाई उम्मेदवारमा समेट्ने गर्दछन् । त्यसैअनुसार  एमालेले वहाल हुँदा नचल्ने गाडीमा तेल हालेर लाखौं रुपैयाँ अनियमितता गरेको बाहिप।एपछि आलोचित बनेका मेयर चौधरीलाई नै यसपालिको चुनावमा पार्टीले टिकट दिएर उम्मेदवार बनायो । फलतः चौधरी समुदायका नेता नरुलालले दोस्रो पटक पनि विजयीको बाजा बजाए ।

नरुलालले चुनाव जितेपछि नेकपा एमालेका महासचिव शंकर पोख्रेलको गृहजिल्ला भएकाले शंकरको आँगनीमा नरुलालको जितले महासचिव शंकर र एमाले पार्टीको साख जोगाएको छ । शुरुआती चरणमा मतगणनाका क्रममा पछाडि परेका नरुलालले चौधरी बस्ती भएका वडाको मतगणनाले रफ्तार लिँदै गए र अन्ततः जित हात पारे ।

दाङ कांग्रेसका बलिया नेता स्व. खुमबहादुर खड्काको पनि गृह जिल्ला हो । उनले दाङका लागि धेरै छाप छोडेकाले कुनैबेला कांग्रेसको बलियो पकड दाङलाई मानिन्थ्यो । 

तर पछिल्लो समय खड्काको अवसानपछि कांग्रेसको बलियो गढ मानिए पनि अहिले कमजोर हुँदै गएको कांग्रेसका नेता टेकबहादुर वलीले बताए । उनी भन्छन्, ‘कांग्रेसको संगठन अझै पनि बलियो देखिए पनि पार्टीभित्रका व्यक्ति विशेष नेताहरुले गरेको अन्तरघातका कारण हार्न पुगेको हो ।’

यसपटक कांग्रेसका नेता भुपबहादुर डाँगीले जित हात पार्ने विश्वास लिए पनि पराजय नै भागमा पर्यो । एमालेकी नेतृ हुमा डीसीले ३० हजार ४ सय ३ मत लिएर घोराहीको उपमेयरमा निर्वाचित हुँदा डाँगीले ३० हजार ३ सय ५४ मत ल्याएर झिनो मतामन्तरले हार खाए ।


गठबन्धनका बाबजुद डाँगीले हार्नुलाई कांग्रेस नेताहरुले पुनः अन्तरघात गरेको आरोप लगाएका छन् । जित सुनिश्चित जस्तै भएको बेला पनि हारेकोमा एक नेताले भने, ‘पार्टी भित्रका व्यक्तिले नै गद्दार गरेकाले नेतृत्व जमाउन पटक पटक हार खानु परेको हो ।’

तर दोस्रो पटक नगरप्रमुखको माला पहिरेका नरुलालले ०७४ सालमा गरेका लिखित चुनावी प्रतिवद्धताहरु अधुरै छाडेका थिए । उनले समय अभावका कारण पाँच वर्षमा प्रतिवद्धता पूरा गर्न नसकेको जवाफ दिन्छन् । 

उनले अधुरै छोडेका अघिल्ला प्रतिवद्धताले प्राथमिकता पाउँछन् कि के गर्छन् भन्ने विषय चासोको रुपमा हेरिएको छ । 
यस्ता छन् मेयर नरुलालका अघिल्ला अधुरा कामहरुः 
–एमाले घोराही उपमहानगरपालिकाको घोषणा पत्रमा उपमहानगरपालिका क्षेत्र भित्रका सबै खोलाहरुमा ड्याम निर्माण गरी सिंचाईको व्यवस्था मिलाइने बुँदा समावेश थियो । अहिलेसम्म खोलामा ड्याम निर्माण गरिएको छैन । 

–उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा खोलाको पानी संकलन गर्न सिंचाईको समस्या समाधान गर्नका निम्ति वर्षात्को पानी सञ्चय गरी हापुर, कटुवा र सिस्ने खोलामा पानीका ड्याम बनाउने काम हुन सकेन ।

–घोषणापत्रमा प्रतिवद्धता गरिएको एक घर एक रोजगारको नीति पनि कार्यान्वयन भएन । नगरपालिकामा रहेका १९ वटा वडाहरुमध्ये हरेक वडामा एक–एक वटा नमूना विकास गाउँ बनाउने संकल्प पूरा भएन । मजदूरको हित हुने नीति अवलम्बन गरिने, भूमिको वैज्ञानिक वर्गीकरण गरिने प्रतिवद्धता अधुरै रह्यो । 

खेतीयोग्य जमीनलाई कृषि क्षेत्रका रुपमा, ग्रामीण क्षेत्र, शहरी क्षेत्र, वन क्षेत्र, सीमसार क्षेत्र र औद्योगिक क्षेत्रका रुपमा वर्गीकरण गरेर काम गरिने प्रतिवद्धता किताबमै सीमित रह्यो  । 

–भूमिमा देखिएको दोहोरो स्वामित्वलाई पूर्ण रुपमा अन्त्य गरिने, जमीनको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने कामहरु पनि प्रभावकारी बन्न सकेनन् । 

कृषिमा व्यावसायिकरण, औद्योगिकीकरण, विविधिकरण र आधुनिकीकरण गरिने, माटो र हावापानी अनुकूल बाली छनौट गरी ‘एक गाउँ एक उत्पादन’ अवधारणाबाट व्यावसायिक कृषि उत्पादन गर्न प्रोत्साहन गरिने कुरा प्रतिवद्धता पत्रमा उल्लेख भए पनि । तर ती प्रतिवद्धता अनुसार काम नभएको कृषि शाखा दाङले जनाएको छ ।

–कृषिजन्य साना–मझौला–ठूला उद्योगहरुको प्रवद्र्धन गरिने, कृषिबजार सूचनाको व्यवस्था, संकलन, भण्डारण र प्रशोधनका लागि सार्वजनिक गोदाम र चिस्यान केन्द्रको व्यवस्था गरिने प्रतिवद्धता पनि पूरा नभएको पाइएको छ । घोराही उपमहानगरका अधिकांश किसानहरुले किसानको हित हुनेगरी काम नभएको बताउँछन् । 

–पानीको स्रोत अभाव रहेको स्थानमा थोपा सिंचाई, नदी, खोलानाला र बगरले ओगटेको जमीनलाई मत्स्यपालन, बहुउद्देश्यीय वनपैदावरको प्रयोग गरी प्राङ्गारिक मल प्रयोगको विस्तारबाट जमीनको उर्वरता बढाइने र मलखाद परनिरर्भरताको अन्त्य गरिनेलगायत कामहरु अहिलेसम्म पनि भएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ