arrow

लिभरपुललाई एक अंकले पछि पार्दै म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
mancity-winner-league-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको यो सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

योसँगै सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । यस्तै पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले चौथो पटक उपाधि जितेको हो । सिटीले दोस्रो स्थानको लिभरपुललाई एक अंकले पछि पार्दै उपाधि जितेको हो । 

घरेलु मैदानमा जितका लागि निकै संघर्ष गरेको सिटीले दुई गोलले पछि परेको अवस्थालाई उल्टाएर जित निकालेको हो । खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई शुरुआती अग्रता दिलाएका थिए ।

६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २–० ले अग्रता दिलाए । यो अवस्थासँगै सिटीको हातबाट उपाधि टाढिइसकेको थियो । 

तर इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए ।

७८ औं मिनेटमा रोड्रीले गोल गर्दा सिटीले खेल २–२ को बराबरीमा ल्यायो । त्यसपछि खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।

जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो । सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो ।

लिभरपुलले ९२ अंक जोड्यो । आइतबार रातिको खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डेरर्सलाई ३–१ लाई पराजित गर्यो । चेल्सी तेस्रो भयो । अन्तिम खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ ले पराजित गर्यो । 

त्यस्तै टोटनह्याम हट्सपर चौथो भयो । टोटनह्यामले नर्विच सिटीलाई ५–० ले हरायो । आर्सनल भने पाँचौं भयो । आर्सनलले एभर्टनलाई ५–१ ले हरायो । 

बर्नली, वाट्फोर्ड र नर्विच सिटी रेलिगेशनमा परेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ