चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ १४ शनिबार
869
Shares
फाइल तस्बिर
संयुक्त राष्ट्रसङ्घ। प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ। सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन्।
चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियामा सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सम्बन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने चीनको अभिमत व्यक्त गरे।
समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा, प्योङयाङविरुद्ध थप प्रतिबन्धहरूले समस्या समाधानमा मद्दत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकराबलाई मात्र निम्त्याउने राजदूत झाङले बताए। कोभिडको पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उनले उल्लेख गरे।
चीनले परिषद्को एकता र सहयोगलाई ठूलो महत्त्व दिन्छ, वर्तमान परिस्थितिमा परिषद्ले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वमा बाधा पुर्याउने विषयमाथि विमर्श हुनुपर्ने तथा उत्तर कोरियाका जनताले सामना गरिरहेका जीविकोपार्जनका समस्याका बारेमा चिन्तित हुनुपर्नेमा उनले जोड दिए।
प्रायद्वीपको अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै राजदूत झाङले चीनले फेरि पनि सबै पक्षलाई शान्त र संयमित हुन आह्वान गरेको र अमेरिकी पक्षलाई उत्तर कोरियाप्रतिको आफ्नो नीतिमा लाई गम्भीर भएर चिन्तन गर्न आह्वान गरे। साथै उनले वार्ता पुनः सुरु गर्नका लागि वातावरण बनाउन आग्रह गरे। चीनले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम गर्न र आणविक निःशस्त्रीकरणलाई साकार पार्न रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँच वटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ।