arrow

अख्तियारमा स्थानीय तहका उजुरी धेरै, सबैभन्दा बढी मालिकार्जुनका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
akhtiyar-darchu.jpg

दार्चुला । अख्तियारमा पर्ने उजुरीमध्ये अधिकांश गाउँको सिंहदरबार भनिने स्थानीय तहका पर्ने गरेको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बुधवार दार्चुलामा गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा सबैभन्दा बढी उजुरी स्थानीय तहका रहेको पाइएको हो ।

कार्यपत्र प्रस्तुत गर्दै कार्यालयका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले चालु आर्थिक वर्ष २०७८-०७९ को जेठ मसान्तसम्म दार्चुलाका ९ स्थानीय तहका ७८ उजुरी दर्ता भएको बताए । उनका अनुसार सबैभन्दा बढी १० उजुरी जिल्लाको मालिकार्जुन गाउँपालिकाका अख्तियारमा छन् । 

गत आर्थिक वर्षका १७, चालु आवमा ६ गरी २३ उजुरी परेको तथा  चालु आवमा नै १३ उजुरी फर्छ्यौट गरेकोमा अझै १० उजुरी बाँकी रहेको सूचना अधिकारी बस्नेतले बताए । 

यस्तै लेकम गाउँपालिकाका ६ उजुरी, महाकाली नगरपालिकाका ५, शैल्यशिखर नगरपालिकाका ३, नौगाड र अपी हिमाल गाउँपालिकाका २-२, मार्मा, दुहुँ गाउँपालिकाका १-१ उजुरी परेको उनले बताए । व्याँस गाउँपालिकाका चालू आर्थिक वर्षमा २ उजुरी परेकोमा दुई वटै नै फर्छ्यौट भएका छन् ।
 
स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानूनको पालना नगर्ने-नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्तिले उजुरी बढेको देखिएको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी अख्तियारमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ