काठमाडौं । पछिल्लो समय नेपाली भाषा क्षेत्र एउटा सनसनीपूर्ण बहसले तातिएको छ । पुरानो र नयाँ भाषाको नाममा आफ्नो तर्क गर्दै हिँड्नेहरूले गर्दा भाषा कस्तो लेख्ने भनेर सारा मानिसमा अन्यौलता सिर्जना गराईदिएको छ । पछिल्लो समयको भाषाको द्वन्द्वलाई झट्ट सुन्दा सबैले राखेका मागहरू सान्दर्भिक र जायज रहेको देखिएपनि वास्तवमा यो बेकारको आन्दोलन भन्नेहरूको पनि संख्या कम छैन । वास्तवमै भन्ने हो भने यो भाषा माथि भएको राजनीति भन्दा केही फरक देखिँदैन । मात्रै राजनीति सत्ता र सिद्धान्तको लागि गरिन्थ्यो भने अहिले भाषाको माध्यमबाट आफ्नो स्वार्थपूर्तिका लागि भईरहेको छ ।
भाषा कुनैपनि अभियानबाट परिवर्तन हुने कुरा होइन, न त आन्दोलनबाट जोगिने कुरा नै हो । वि सं १०३८ सालको मानिने नेपाली भाषाको पहिलो शिलालेख दुल्लु दामुपालको शिलालेखको भाषा र अहिलेको नेपाली भाषामा कति फरक छ । तर, यो बीचमा न त कुनै आन्दोलनहरू भए न त कुनै यस्ता संघर्ष नै । तर, भाषा त परिवर्तन भएरै छाड्यौ । त्यसैले अहिले बेमौसमी बाजा बजाएर भाषालाई नवीन बनाउन खोज्नेहरूमा पनि छुट्टै स्वार्थ भेटिन्छ भने बेमौसमी बाजाको तालमा पछिपछि हिँड्ने अर्को पक्षको कुरा पनि बेकारको छ भन्दा कुनै फरक नहोला ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेर प्राज्ञिक थलोको साँचो बोकेकाहरू नेपाली भाषाको ठेकेदार बनेर आफ्नो स्वार्थ पूरा गरिरहेको छन् । त्यसैको विरोधमा छ अर्को पक्ष जुन पुरानै भाषाको लागि भन्दै नयाँ आन्दोलनबाट साहित्यक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन खोजीरहेको छ ।
तर, जानकारहरू भने दुबैपक्षको आन्दोलनलाई ‘तुक न तर्क’को भन्न पनि पछि पर्दैनन् । उनीहरू अहिलेको यो सरगर्मी पुरानै भाषाको पक्षमा लाग्नेभन्दा पनि आफ्नो भाषा बिगारेर क्रान्तिकारी बन्न खोज्ने ‘अबुझ प्राज्ञ’हरूको खेलबाट सिर्जना भएको तर्क गर्न पनि पछि पर्दैनन् ।
कसको नेतृत्वमा कुन पक्ष ?
अहिलेको भाषा आन्दोलन विशेषगरी दुई अधिकारीहरूबीचको टकराव हो भन्दा पनि अत्युक्ति नहोला । नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख समेत रहेका डा. हेमाङ्गराज अधिकारीको नेतृत्वमा ‘कार्यमूलक व्याकरण’ भन्ने एक किसिमको आन्दोलन नै चलेको छ । जसले भाषा कठिन भएको भन्दै नयाँ शब्द प्रयोग गर्नुपर्ने तर्क गर्दै आएको छ । उनैको नेतृत्वमा बद्री विशाल भट्टराईको समेत सहयोगमा एउटा कार्यमूलक व्याकरण पनि प्रकाशित गरेका छन् । तर, त्यसमा २०४० सालको शव्दकोश बिगारेर आफ्नो पक्षमा ढाल्नेबाहेक अरू केही नवीनता देख्न सकिँदैन ।
त्यस्तै, प्रतिपक्षमा अर्का अधिकारी अर्थात् डा. बलदेव अधिकारी नेतृत्वको टोलीले पुरानै शैलीमा भाषा हुनुपर्ने तर्क गर्दै ‘नेपाली भाषा जोगाऔँ आन्दोलन’ नामको आन्दोलन सुरू गरेर विभिन्न कार्यक्रम पनि चलाउँदै आएका छन् । यिनै दुई नेतृत्वको छाताभित्र भाषाका विभिन्न विद्वानहरू आ–आफ्नो तर्क गर्दै आएका छन् ।
दुबै पक्षको हास्यास्पद तर्क !
यो बाहिर देख्दा जस्तो गहन र तार्किक आन्दोलन देखिन्छ त्यो भित्र देख्दा त्यस्तै कमजोर रहेको छ । उनीहरू आ–आफूमा आफ्नो आन्दोलन तार्किक रहेको बताईरहेको भएपनि यो आन्दोलन सीमित शब्द र त्यसैको वरीपरी रहेर कमजोर धरातलमा सुरू गरिएको आन्दोलन हो भन्दा फरक नपर्ला । उनीहरूको आन्दोलन विशेषगरी, फूल विद्यालय लगायत यस्तै यस्ता सानातिना शव्दहरूमा अल्झिईरहेको छ । न त कुनै पक्षले चित्त बुझ्दो तर्क दिएर नै आफूले भनेको कुरा लाद्न सकिरहेका न त कुनै चित्तबुझ्दो कुरा गरेर अर्काे पक्षले खण्डन गर्न नै सकिरहेको छ ।
एउटा पक्षको तर्क पढ्न कठिन भयो भनेर सहजताको लागि भाषाको परिमार्जन गरिएको भन्ने छ भने अर्काको तर्क भने फरक अर्थ दिने शब्द जस्तै ‘फुल’ लाई कसरी अथ्र्याउने ? भन्ने यस्तै सामान्य विषयमा अल्झिईरहेका छन् । जसले नेपाली भाषा साहित्यमा पछिल्लो समय नयाँ तरंग ल्याईदिएको छ । कुन पक्षले कस्तो भाषा चाहिरहेको छ भन्ने विषयमा विस्तृत आगामी श्रृङ्खलामा प्रस्तुत गरिनेछ ।
कुन भाषिक निकाय कतापट्टि ?
यो दुई पक्षबीच भएको भाषिक टकरावमा भाषिक निकायको पनि ध्रुवीकरण भएको छ । नयाँ भाषाको आन्दोलन चलाउने पक्षका डा. हेमाङ्गराज अधिकारीको हालिमुहाली रहेको नेपाल प्रज्ञा प्रतिष्ठान बलियो रूपमा नयाँ भाषाको पक्षमा रहेको छ । यसका धेरै पदाधिकारीहरू नयाँ भाषाको पक्षमा रहेका छन् । त्यस्तै, अहिले खारेज भएको उच्च माध्यमिक शिक्षा परिषद् पनि नयाँ भाषाको पक्षमा नै रहेको छ । तर, त्यस बाहेकका लगभग सम्पूर्ण प्राज्ञिक निकायहरू पुरानै भाषाको पक्षमा रहेको भाषाका जानकारहरू बताउँछन् ।
पुरानै पक्षलाई प्राथमिकतादिनुपर्ने पक्षमा पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको नेपाली भाषा केन्द्रीय विभाग बलियो रूपमा रहेको छ । यहाँका प्रा. डा. व्रतराज आचार्यको नेतृत्वमा दुई÷तीन जना प्राध्यापकहरू बाहेक अरू सबै पुरानो भाषा जोगाउने पक्षमा रहेका छन् । नेपाली विभागका विभागीय प्रमुख देवीप्रसाद गौतम पनि पुरानै भाषा जोगाउने पक्षमा पछिल्लो समय अडिग छन् ।
त्यस्तै मावि तहको पाठ्यक्रम विकास केन्द्रका धेरै संख्यामा प्रतिनिधिहरू पुरानो र केही नयाँको पक्षमा छन् ।
उता, त्रिवि अन्तर्गत्का आङ्गिक क्याम्पसहरूमा पनि रत्नराज्यलक्ष्मी क्याम्पस नयाँ भाषाको पक्षमा रहेको छ भने त्रिचन्द्र र पद्मकन्या क्याम्पसका प्राध्यापकहरू पुरानै भाषा हुनुपर्ने पक्षमा छन् । पाटन क्याम्पसमा भने ७० प्रतिशत भन्दा बढी पुरानो र ३० प्रतिशतभन्दा कम संख्याका प्राध्यापकहरू नयाँ नेपाली भाषाको पक्षमा रहेका छन् । अन्य विश्वविद्यालयले पुरानै नेपाली भाषालाई मान्यता दिँदै आएका छन् ।
नेपाली केन्द्रीय विभागले जोगाउँदै छ भाषाको शाख
त्रिविको नेपाली केन्द्रीय विभागका अधिकांश प्राध्यापकहरू पुरानै नेपाली भाषाको पक्षमा लागेको कारणले गर्दापनि प्रज्ञाप्रतिष्ठानका अधिकारीले भनेजस्तो नयाँ भाषा कार्यान्वयनमा आएको छैन । गाह्रो भयो भनेर कुनैपनि भाषाको पहिचान मास्दै जाने हो भने हाम्रो मूल्य मान्यता मासिँदै जान्छ र हाम्रो पहिचान समेत विस्तारै मासिँदै जान्छ ।
नेपाली केन्द्रीय विभागले पनि यदि नयाँ भाषालाई मान्यता दिएको थियो भने यतिबेला पुरानो अर्थात् अहिले प्रयोगमा आईरहेको भाषा लोपहुने चरण सुरूहुने पक्कापक्की पनि थियो । किनभने त्रिविले आफ्ना पाठ्यक्रममा त्यही भाषालाई मान्यता दिएको खण्डमा नचाहेरै पनि नयाँ भाषा लागू हुने सम्भावना बढी हुने जानकारहरू बताउँछन् । तर, अहिलेसम्म पनि नेपाली भाषाको साख जोगाउनको लागि नेपाली केन्द्रीय विभागले आफ्नो अडान फेरेको छैन ।