arrow

को हुन् पर्यटन मन्त्री जीवनराम श्रेष्ठ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
jeevanram-shrestha-minister-cultural-tourism-2079.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका चार नयाँ मन्त्री थपिएका छन् । जसमा जीवनराम श्रेष्ठ पनि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार कार्यभार सम्हालेका मन्त्री श्रेष्ठ २०३६ सालको विद्यार्थी आन्दोलनको उभारबाट राजनीतिमा होमिएका थिए । 

त्यसयता एक जुझारु कार्यकर्ता, इमान्दर संगठक र नेकपामा आस्था राख्ने अनि स्थानीय राजनीतिको बलियो खम्बाको रुपमा उनी स्थापित भएका छन् । उनी काठमाडौंको स्थापित राजनीतिक नेताका रुपमा अग्रणी भूमिकामा छन् । 

स्थानीय राजनीतिबाट प्रशिक्षित उनी काठमाडौंको मुद्दालाई राष्ट्रिय राजनीतिक मञ्चमा उठाउने स्थापित युवा नेतृत्वको रुपमा चिनिन्छन् । पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन, पहिलो र दोश्रो जनआन्दोलनको तापमा खारिएका उनी अहिले नेपालको राष्ट्रिय राजनीतिमा उपत्यकाका आशा लाग्दा नेताको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् । 

श्रेष्ठ एकीकृत समाजवादीका केन्द्रीय सचिव, संसदीय दलको प्रमुख सचेतक तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । 

बाल्यकाल 
बुबा कृष्णराम र आमा बसन्तमायाका सन्तानका रुपमा उनको जन्म २०२२ सालमा काठमाडौंको स्वयम्भूस्थित धिमेल्हो टोलमा भएको हो । निम्न मध्यम परिवारमा हुर्किएका उनी सानैदेखि जुझारु र सरल स्वभावका थिए । 

स्थानीय विद्यालयबाट अध्ययन सम्पन्न गरेका उनी व्यवस्थापन विषयमा स्नातक हुन् । पञ्चायतकालमा सीमित व्यक्तिहरुको पहँुच र प्रभाव बिना आमजनतामाथि उक्लिने सम्भावना नभएको अवस्थाले उनलाई १४ वर्षको कलिलो उमेरमा नै यस विरुद्धको विद्यार्थी आन्दोलनहरुले आकर्षित गर्यो । 

राजनीतिक जीवन

२०३६ सालको आन्दोलनपछि पद्मरत्न तुलाधरको नेतृत्वमा मंका खलःबाट शुरु भएको भाषिक आन्दोलनले उनलाई युवा नेतामा स्थापित गर्दै लग्यो । 

तत्कालीन नेकपा (माले) बाट शिक्षित हुँदै पार्टीको संगठन निर्माण, विस्तार र नेतृत्वको सुरक्षा जस्ता जिम्मेवारीहरु निर्भिकतापूर्वक पूरा गर्ने क्रममा उनले २०४३ सालमा काठमाडौं वडा नं १५ को सक्रिय दलको सचिव बनी भूमिगत पार्टीको विस्तार कार्यमा महत्वपूर्ण भूमिका खेले । 

उनले २०४६ को जनआन्दोलनमा स्थानिय विद्यार्थी तथा युवाहरुलाई संगठित गर्ने र टोल टोलबाट आन्दोलनलाई उठाउने कार्य गरे । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रारम्भिक अवस्थादेखि नै सक्रिय उनी २०४८ सालमा प्ररायु संघको केन्द्रिय सदस्य हुँदै उपाध्यक्ष भएर कार्य गरेका थिए । 

पार्टीको भ्रातृ संगठनको रुपमा नेपाल खेलकुद महासंघ स्थापनाको पहलकदमी गर्दै गठन पश्चात् पार्टीको तर्फबाट महासंघको इन्चार्जको भूमिका पनि खेलेका थिए । 

जनताको बीचमा हुर्केका उनी २०४९ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं १५ को वडाध्यक्षमा निर्वाचित भए । 

यस जिम्मेवारीले उनलाई राजनीतिक सिद्धान्तमात्र होइन जनताको जल्दाबल्दा समस्यहरु बुझने र त्यसलाई कुशलतापूर्वक समाधान गर्ने कौशलमा पारंगत बनायो । 

उनको कार्यकालमा विकासमा निकै पछाडि परेको १५ वडामा सडक, ढल, पार्क, आधुनिक वडा कार्यालय, भवन निर्माण जस्ता उदाहरणीय कार्यहरु सम्पन्न भए भने वर्षौंदेखि बेवास्ता गरिएको डल्लु आवास योजनाले गति लियो । 

त्यतिबेला उनले काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष जीवन मानन्धरको अस्वस्थतापछि उक्त वडाकोसमेत वडाध्यक्ष भइ कार्यभार सम्हालेका थिए । 

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनका विरुद्ध काठमाडौंका जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने चुनौतीपूर्ण कार्यलाई उनले कुशलतापूर्वक सम्पन्न गरे । जीवनरामको सफलता र क्षमताको मूल्यांकन गर्दै २०६५ सालको नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटीमा निर्वाचित भए । साथै उनले काठमाडौं जिल्ला ईन्चार्जको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे । 

२०७१ सालको नवौं महाधिवेशनबाट लोकप्रिय मतसहित उनी दोश्रो कार्यकालको लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २०७२ सालको भूकम्पका बेला राहत र उद्धार कार्यमा आफूलाई दिलोज्यानले समर्पण गरेका श्रेष्ठ जनसरकारको विषयमा आफूलाई सक्रिय बनाउँदै आएका छन् । 

त्यही सक्रियता समग्र निर्वाचन क्षेत्र विकासको दीर्घकालीन योजना र इमानदारीको  कदर गर्दै पार्टीले वाम गठबन्धनका तर्फबाट उनलाई संघीय प्रतिनिधिसभा सदस्यको संयुक्त उम्मेदवारको रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेको थियो । 

उनले सफलता हासिल गरे । उनी सांसद भएसँगै युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने अनुमान धेरैको थियो । किनकि उनी खेलकुदका पर्याय नै हुन् । तर उनले कुनै पनि मन्त्रालयको जिम्मा पाएनन् । 

नेकपा फुट्यो । त्यसपछि नेकपा एमाले फुट्यो । अनि उनी लागे नेकपा एसतिर । र अहिले सोही पार्टीबाट ५–६ महिनाका लागि मन्त्री भएका छन् । 

खेलकुदका पर्याय जीवनराम 
पार्टीभित्र खेलकुदको विषय प्रवेश गराउन उनको अग्रणी भूमिका रहेको छ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने मुख्य सिद्धान्तलाई नेपाली समाजमा स्थापित गराउनमा श्रेष्ठको विशेष भूमिका रहेको छ । 

यही भूमिकाको कदर गर्दै उनी २०५३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव नियुक्त भए । ६ महिनाको छोटो कार्यकालमा पनि उनले सम्झनयोग्य कार्यहरु गरे । 

उनले चीन सरकारको सहयोगमा आठौं साफ खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेले । ललितपुरको सातदोबाटोमा निर्मित अन्तर्राट्रिय प्रतियोगिता गर्न सकिने स्विमिङपुल, शुटिङ्ग रेञ्ज, स्पोर्टस हस्पिटलको स्थापना, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र अन्य खेल मैदानको स्तरवृद्धि उनकै योगदानहरु हुन् । 

उनकै अग्रसरतामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गरेर उत्साहित गर्ने कार्यको प्रारम्भ गरिएको थियो । 

उनी दोश्रो पटक २०६३ सालमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त भएपछि उक्त कार्यकालमा १० वर्षसम्म संचालन हुन नसकेको वृहत पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता काठमाडौंमा सम्पन्न गरे । 

यही अवधिमा उनले मुलुकको समग्र खेलकुद विकासका लागि दूरगामी सोचका साथ भिजन २०२० अगाडि सारे । जीवनराम श्रेष्ठले मुलुकमा पहिलो पटक स्पोर्टस एकेडमी स्थापना गर्ने पहल गरे । तर अस्थिर राजनीतिकको कारण कार्यकाल पूरा गर्न नपाउँदै लोकतान्त्रिक मूल्य मान्यतालाई अंगीकार गर्दै उनले सदस्य सचिवको पद त्याग गरे । 

तत् पश्चात् उनी नेपाल ओलम्पिक कमिटीको दुई पटक निर्वाचित महासचिव रही हाल उनी दोस्रो पटक निर्वाचित अध्यक्ष छन् । उनी नेपाल स्की संघका पनि अध्यक्ष हुन् ।

आफ्नो व्यक्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा उठाइसकेका उनी दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अध्यक्ष पनि छन् । यसले उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक मामिलाका जानकार बनाउने अवसर प्रदान गरेको छ । 

खेलकुदको माध्यममा अन्य मुलुकहरुसँग राम्रो सम्बन्ध बनाएका श्रेष्ठ पर्यटन मन्त्री भैसकेपछि पर्यटक भित्र्याउन विशेष योजना बनाउन सक्नेसमेत देखिएको छ । 

त्यतिमात्र हैन संस्कृति मन्त्री नै भइसकेपछि देशको राजधानी भैकन पनि बत्तीमुनिको अँध्यारो जस्तै बनेको काठमाडौंलाई सांस्कृतिक बैभवको संरक्षण, भौतिक पूर्वाधारहरुको विकासमा थप सशक्तता दिन सक्छन् । 



नयाँ