arrow

अर्थतन्त्रका पिता चाणक्य नेपालका धर्तीपुत्र !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ ११ शनिबार
chanakya.jpeg
काठमाडौं । चाणक्य कुनै भगवान होइनन् । उनी तात्कालीन समयमा अर्थात् बुद्धकालीन समयमा दूरदर्शी अर्थशास्त्रका सूत्रधार हुन् । विद्वतापूर्वक अर्थनीतिको निर्माण गरेर विश्व चर्चित भएका चाणक्यको अर्थनीति अहिलेपनि अनुशरणयोग्य छ र अनुशरण पनि भईरहेको नै छन् । 
 
कतिपयले विष्णुगुप्त भारतको मगद राज्यमा जन्मिएको भनेर दाबी गर्ने गरिएको भएपनि उनी नेपालको मिथिला राज्यमा जन्मिएका व्यक्ति हुन् भनेर विष्णुप्रसाद लुईटेलद्वारा अनुवादित कौटिल्यार्थशास्त्रमा उल्लेख गरिएको छ । यद्यपि यो सर्वमान्य भने छैन । कौटिल्यको अर्थशास्त्रमा देखिएका बस्तुवर्णनहरूबाट यसलाई पुष्टि गर्ने केही आधार भएपनि धेरै आधारले यिनी भारतमा जन्मिएको र पाकिस्तानको तक्षशीलामा ज्ञान हाँसिल गरेको पुष्टि हुने पनि कतिपय प्रमाणहरू फेला परेका छन् । 
 
यिनको पुस्तकमा पहाडी संस्कृतिको व्यापक वर्णन गरिएको छ । यसले गर्दा यिनी नेपालको पहाडी भेगका बारेमा जानकार रहेको भनिएपनि पाकिस्तान समेत पहाडी मुलुक रहेकोले यिनी तक्षशीला जाँदाको वर्णन त गरेका होइनन् भन्ने तर्क पनि उठ्ने गरेको छ । 
 
त्यस्तै यिनले एउटा श्लोकमा भनेका छन् ‘नैपाली कानां कम्बलम्’ अर्थात् नेपालमा कम्बल पाईन्छ । यद्यपि मगध राज्यका सेनाहरूद्वारा राज्य विस्तारको क्रममा हिमालयसम्म आफ्नो राज्यको सीमाना विस्तार गरेकोले उनी नेपालको तराई भेगमा मिथिला राज्यमा जन्मिएको भन्ने कुरा लुईटेलको पुस्तकमा उल्लेख छ । 
 
चाणक्यको वाल्यकाल विष्णुगुप्त नामबाट वित्यो । यिनी कुटील गोत्रका थिए । त्यसैले यिनलाई कौटिल्य पनि भनिने गरिएको छ । यिनी इशाको ५०० वर्ष भन्दा पहिले भारतको मगध राज्यमा चन्द्रगुप्त मौर्यका सहायकका रूपमा रहेका थिए । वाल्यकालमा नै अनेक किसिमका हण्डरठक्कर खाँदै राज सिंहाशनको सल्लाहकार समेत बन्नपुगेका कौटिल्यलाई कसैले प्रधानमन्त्री थिए भन्ने त कसैले यिनी राजा चन्द्रगुप्तकोे सल्लाहकार र गुरू थिए भन्ने आ–आफ्नै तर्क पनि गर्दै आएका छन् । तर, जसले जे भनेपनि यिनकै पालाबाट मगध राज्यमा आर्थिक समृद्धिको ढोका खुलेको कुरा भने नकार्न सकिँदैन । 
 
कौटिल्यको अर्थशास्त्रले निर्देशित गरेको एउटा नयाँ र अहिलेसम्म पनि सर्वस्वीकार्य कुरा के छ भने यिनले राज्य प्रशासन सञ्चालनको लागि विभिन्न किसिमको करको व्यवस्था गरेका थिए । त्यही करप्रणालीको विकासहुँदै अहिलेसम्म पनि विभिन्न मुलुकहरूले आ–आफ्नो मातृभाषामा करलाई परिभाषित गर्ने गरेका छन् । 
 
कौटिल्यको ३ कर प्रणाली 
 
कौटिल्यले तात्कालीन समयमा ३ किसिमको कर प्रणालीको विकास गरेका थिए । अर्थशास्त्रको करको नियम र कर अधिकारीको विषयमा उल्लेख गरिएको पुस्तक प्रकाशन गरेर कर बाह्य आभ्यान्तर र आतिथ्य गरी ३ किसिमको हुन्छ भनेर तोकिएको थियो । जसमा बाह्य करले भन्सार विन्दूलाई समेटेको थियो भने आभ्यान्तर र आतिथ्यकरलाई आन्तरिक करको रूपमा व्याख्या गरेको कुरा चाणक्यको यस श्लोकले पुष्टि गर्दछ । 
 
‘शुल्कव्यहारो बाह्यामाभ्यन्तरं आतिथ्यं निस्काम्यम् प्रवेश्यञ्च शुल्कम् ।’
 
कौटिल्य जहिले पनि राज्यको कोषको सवलता तर्फ ध्यान दिन्थे । भ्रष्टाचारको गन्ध फैलिएको मगध राज्यमा बसेर कुनैपनि शासकले आफ्नो लागि कर उठाउने होईन कि राज्यको विकास र विस्तारकोलागि कर उठाउनु पर्छ भन्ने मान्यता राख्दथे ।  कौटिल्यको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको नै कोषलाई कसरी जम्मा गर्ने भन्ने थियो । ‘महाभारतमा राजनीति’ विषयमा विद्याबारिधीका शोधरत प्रकाश ढकालको ‘ कौटिल्यको राज्यव्यवस्था नीति’ मा लेखिएको छ । ‘ 
 
सारा कार्य कोषमा निर्भर हुने भएकाले राज्यले सबभन्दा पहिले कोष माथि ध्यान दिनुपर्ने सल्लाह दिएका छन् । प्रजाको आचरणको शुद्धता राजकोष वृद्धिको दोस्रो कारण हो । चोरी नियन्त्रण राजकोष वृद्धिको तेस्रो कारण हो । चोरहरूबाट राजकीय कोषको सम्पत्ति गुप्त रूपमा अपहरण हुन्छ । त्यसैले राजकोष वृद्धिका लागि चोरहरूको नियन्त्रण जरुरी छ । अन्नको वृद्धिबाट राज्य स्वावलम्बी हुनु पर्छ । यसको अभावमा जनता राजकोषमाथि आश्रित हुन पुग्छन्  ।’
 
कर प्रणालीकै कुरा गर्दा उनले बस्तु व्यापारलाई पनि बढी प्राथमिकता दिएका छन् । राजश्व प्रशासन तालिम केन्द्रद्वारा प्रकाशित ‘राजश्व’ मा दामोदर रेग्मी लेख्छन् ‘‘कर प्रशासनमा सीमा राजश्व प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भन्सार राजश्व प्रशासन सञ्चालनको लागि उपयुक्त कानूनी व्यवस्था करका दर, प्रकार संकलन प्रक्रिया, कर कानून परिपालनाका विधि र कानूनको उल्लंघनमा दण्ड तथा जरिवानाको व्यवस्था प्रक्रियागत र कार्यगत सरलता तथा सहजताका विधिहरू हुनु आवश्यक रहेको छ ।’
 
चाणक्यले कुनैपनि राज्यकोषको रकममाथि आँखा लगाउनेलाई उसले भ्रष्टाचार गरेको रकमको ८ गुणासम्म जरिवाना लगाउनुपर्ने कानून बनाएका थिए । त्यस्तै, सो बेलाको कर प्रणाली पनि अहिलेको जस्तै स्वचालित थियो । तर, कसैले ठगि गर्ने मनशाय राखेर काम गरेको खण्डमा उसलाई पनि ठगि गर्न लागेको रकमको ८ गुणा जरिवाना लगाउने व्यवस्था थियो । 
 
विष्णुप्रसाद लुईँटेलद्वारा अनुवादित कौटिल्यार्थशास्त्रमा भनिएको छ । ‘प्रवेश्यानां मूल्यपञ्चभागः’  आयातीत बस्तुहरूमा ५ भागको एक भाग कर लगाउनुपर्छ । फूल, फल, शकरकन्द सुकेको माछा आदि बस्तुमा ६ भागको एक भाग कर लगाउनुपर्छ । खस्रा र मसिना रेसमी कपडा, सूतीको कपडा, मदिरा हात्तिका दाँतले बनेका बस्तु, फलाम, गेरू, चन्दन आदिमा सोही मुल्यको १५ भागको एक भाग भन्सार लगाउनु पर्ने मान्यता कौटिल्यको थियो । 
 
साधारण कपडा, चारखुट्टे दुईखुट्टे, धागो, कपास औषधि लगायतमा मूल्यको बीस वा पच्चिस भागको एक भाग कर उठाउनु पर्ने उनको मान्यता थियो । चाणक्यले कुनैपनि कर राज्यको हित भन्दा बाहिर कसैको भोग विलासिताको लागि खर्च गर्न नहुने तर्क गरेका छन् । उनको त्यो सुरूवाती कर प्रशासन अहिले आएर पनि हुँ बहु लागू भएको छ । भिन्नता यत्तिमा मात्रै छ कि पहिले बढीमा २५ प्रतिशतसम्म भन्सार विन्दूमा कर लगाईन्थ्यो भने अहिले ८० प्रतिशतसम्म कर लगाईन्छ । यसबाहेक अन्य प्रक्रियाहरू झण्डै २५ सय वर्षसम्म पनि विश्वभर सर्वस्वीकार्य छ । 
 
यसका साथै उपभोक्तामैत्री दृष्टिकोण, कानूनी व्यवस्थाको परिपालनाको दुष्टिकोण सदाचारिता, व्यापार सहजीकरण, आयात निर्यात करमा पारदर्शिता, कर छलिगर्नेलाई दण्डको व्यवस्था, वैदेशिक व्यापारमा उदारता लगायतका विषयमा चाणक्यको विशिष्ट योगदान रहेको छ । सेना प्रहरी भन्दा पनि गुप्तचरलाई बढी महत्व दिएका चाणक्य राज्यको मेरूदण्डको रूपमा राज्य कोष र गुप्तचर विभागलाई सम्झन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ