arrow

गुरुको उपदेश

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ असार २७ सोमबार
Shivapuri-Baba.jpg

गौरीघाट । श्री शिवपुरी बाबाको दर्शनका लागि बेला मौकामा अनेक भेषधारी सन्त महात्माहरूको आगमन हुन्थ्यो । उहाँको सान्निध्यमा रहन पाउँदाको समयमा ती महात्माहरू मध्ये कोही कोहीको सेवा गर्ने मौका पनि पाइन्थ्यो । सन्त पुरुषबाट कहिल्यै पनि कसैको पनि कुभलो होला भन्ने कुरा चिताउन पनि सकिन्न । 

उहाँहरूमा स्पष्टवादिता, सरलता आदि दैवीगुणहरु भरिएका हुन्छन् ।  नीतिको कथन पनि छ नौनी पगाल्नको लागि तातो (आगो)को आवश्यकता पर्दछ, तर सन्तहरू अर्काको वेदना सुनेर, परेको पीरमर्का सुनेर आफैँ नै पग्लन थाल्नु हुन्छ जसले गर्दा दुःखी पुरुषहरू पनि लाभान्वित हुन जान्छन् । 

मनुष्य जीवन नै भवसागरबाट पार तर्ने नौका हो । यही जीवनमा परमात्माको साक्षात्कार गर्ने कोशिश गर्नुपर्छ । जसका लागि सद्गुरुको आवश्यकता पर्दछ । श्री शिवपुरी बाबाको  आज्ञा नै छ, जसरी एउटा असल मालीले फूलहरू लगाउँदा कुन याममा कस्तो किसिमको बिरुवा लगाउनाले फूल फुल्दछ, त्यही लगाउँछ । 

त्यसरी नै परमात्मा साक्षात्कार गरेका गुरुले आफ्नो चेला अथवा जिज्ञासुहरूको मनोभावना, क्षमता अनुसार ज्ञान दिनु हुन्छ, जसलाई पालना गर्नाले उसको उन्नति स्वाभाविक रूपमा हुन्छ नै । श्रीबाबा मानिसमा विवेक हुनुपर्छ, विवेक नभएको मानिसले कहिल्यै पनि उन्नति गर्न सक्तैन, आज्ञा हुन्थ्यो ।

महापुरुषहरू कुनै भौगोलिक सीमाभित्र बाँधिनु हुन्न । उहाँहरू सबमा बराबर व्यवहार गर्नुहुन्छ । उहाँहरूले जिज्ञासुहरूको शङ्का समाधान गर्दा पनि आफैँले अनुभव हासिल गर्नुभएको शिक्षा नै बताइ दिनु हुन्छ र जिज्ञाशु पनि लाभान्वित हुन्छन् । तर महापुरुषहरूले बताउनु भएको कुरा बुझ्न सकिएन भने जीवन वरवाद हुन्छ नै । 

यसै क्रममा गुरुको उपदेशको माने नबुझेर जिज्ञाशुले पाएको दुःख बारे श्री शिवपुरी बाबाले भक्तलाई दिनुभएको एक उदाहरण प्रस्तुत गरेको छु । 

एक दिन एक जिज्ञाशु कुनै महात्माको आश्रममा गएछन् । प्रसङ्गवश महात्माले उनलाई, बाबु, सबै प्राणी, जीवजन्तुमा परमेश्वरको रूप देख्नु भन्ने उपदेश दिनु भयो । महात्माको उपदेश सुनेर ती जिज्ञाशु आफ्नो घर तिर आउँदै थिए । उनको केही अगाडि तिरबाट एउटा हात्ती पनि आइरहेको थियो । त्यो हात्ती बहुला थियो । माहुतेले बटुवाको माया गरेर तिमी छेउ लागेर हिँड, नत्र हात्तीले कुल्चनेछ मनेर करायो । 

वटुवाले महात्माको उपदेश सम्झन गयो र हात्तीमा परमात्माको रूप देख्न लाग्यो । ऊ परमात्माले कसरी कुल्चिलान् त भनेर ढुक्क भयो तर हात्ती नजिक आइनै पुग्यो र सुँडले बेरेर खोल्चामा फालिदियो । बटुवा घाइते भयो । उसले बुद्धि नपुय्राइकन महात्माको आज्ञा पालना गर्दा हात्ती माथि बसेको माहुतेमा परमात्माको रूप देख्न सकेन र उसले कराएको आवाजको माने बुझेन र दुःख पायो । 

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ