arrow
ADVERTISEMENT

चुनावमा एकाउन्न हजार कार्यकर्ताले अन्तर्घात गरेको एमालेको ठहर, रिपोर्ट गुपचुप

पोखरामा गुरुङ र अधिकारीको जुँगाको लडाइँ, ओलीलाई टाउको दुखाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
CPN-UML-Flag.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा धोका दिनेलाई कारबाही गर्न छानबिन समिति बनाएका बेला पोखराको विवाद बल्झिएको छ । एमालेभित्र उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अन्तर्घातीहरुको खोजी कार्य गर्न तीन सदस्यीय छानबिन समिति बनाएका बेला सो विवाद पुनः जागृत भएको हो । 

एमाले कास्कीमा अन्तर्घातको कलह बल्झिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली समेतलाई गुहार मागिएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहित सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य जगत बिक, कास्की जिल्ला इञ्चार्ज भीम कार्कीमाथि आवश्यक छानबिनसहित कारबाहीको माग गर्दै अध्यक्ष ओलीसँग माग गरिएको स्रोतको दाबी छ ।

 ‘संगठन विभाग प्रमुख खगराज अधिकारीको उक्साहटमा उनीहरुमाथि कारबाहीको माग गर्दै एमाले अध्यक्षसँग गुहार मागिएको हो’, स्रोतले भन्यो । कास्कीमा अधिकारी र गुरुङको छुट्टाछुट्टै गुट सञ्चालनमा आएको छ । 

कास्की जिल्ला सचिव बैनबहादुर अधिकारी, उपमहासचिवद्वय नवराज ओझा र दर्शन लामा, मेयरमा पराजित कृष्णबहादुर थापा र उपमेयरमा विजयी मन्जुदेवी गुरुङलगायतले अध्यक्ष ओलीलाई भेटेरै लिखित रुपमा कारबाहीको माग गरेका हुन् । 

गत स्थानीय निर्वाचनमा सार्वजनिक अडियोका साथै उनीहरूले गरेका शंकास्पद गतिविधिको विवरणसमेत पत्रमा उल्लेख गरिएको बताइएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री बनिसकेका उपमहासचिव गुरुङले कास्की जिल्लामा आफ्नै समूह बनाएका छन् । 

उता संघीय सरकारको गृह तथा स्वास्थ्यमन्त्री भइसकेका अर्का केन्द्रीय सदस्य खगराज अधिकारीको भिन्न समूह सक्रिय छ । अहिले उनीहरुबीच टसल रहेको छ । पार्टीको युवा संघभित्र पनि यी दुई समूह स्पष्ट रुपममा विभाजित छन् ।  

‘खगराज अधिकारीको समूहले उपमहासचिव सुब्बा लगायतको समूहलाई कारबाहीको माग गरेको देखिन्छ, अहिले अधिकारी र सुब्बा दुवै काठमाडौमा छन्’, स्रोतले भन्यो । उपमहासचिव सुब्बाले काठमाडौंमा प्रचार विभागको तर्फबाट पत्रकार भेटघाटको कार्यक्रम गरिरहेका छन् भने अधिकारी संगठनको काममा व्यस्त छन् । 

यी दुई समूहको सक्रियताले पार्टीको आन्तरिक निर्वाचनदेखि हालै सम्पन्न स्थानीय तहको निर्वाचनसम्म त्यसको प्रभाव परेको हो । पोखरा महानगरपालिकाको निर्वाचनमा गुरुङ निकटका दीपक पौडेलले मेयरको टिकट पाएपछि अधिकारी पक्षका नेता, कार्यकर्ताहरूले पुरानो भिडियो सार्वजनिक गर्दै टिकट खोसेको आरोप लागेको थियो ।

सार्वजनिक उक्त भिडियोमा पौडेलले पोखराको एउटा सुन पसलबाट गहना चोरेको दृश्य सार्वजनिक भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि अधिकारी समूहका कृष्ण थापालाई टिकट दिइएको थियो । थापा एमालेका पूर्व नेता एवं समाजवादीका धनराज आचार्यसँग पराजित भएका थिए । 

एमालेभित्र ५१ हजार कार्यकर्ताहरुले अन्तर्घात गरेको रिपोर्ट तयार पारिएको भए पनि सार्वजनिक भएको छैन । एमालेले आगामी संघीय संसदको निर्वाचनलाई ध्यान दिएर सो रिपोर्ट सार्वजनिक नगरेको स्रोतको दाबी छ । 

उच्च स्रोतका अनुसार यतिधेरै संख्यामा एमालेका लालगद्दार भए पनि तत्काल कारबाही गर्ने अवस्था नरहेको बताइन्छ । यिनीहरुलाई फकाउने प्रयास भएको बताइन्छ । 

अहिले कारबाही गरे आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेलामा यो संख्या चार गुणा बढेर जाने अनुमान भएसँगै कारबाही गरेर भन्दा फकाएर अगाडि बढ्ने योजनामा अगाडि लागेको बताइन्छ । 

पार्टी उपमहासचिव विष्णु रिमालले सो रिपोर्ट तयार गरेका थिए । त्यसबारेमा उपाध्यक्ष पौडेलको समितिले काम गरिरहेको छ । तर चुनाव अघि सो समितिले काम सिध्याउने संभावना कम रहेको स्रोतको दाबी छ । 

संघीय संसदको चुनाव अघि एमालेले कुनै पनि प्रकारको घातक रिपोर्ट सार्वजनिक नगर्ने जनाएको छ । ‘अहिले जे भएको त्यहाँको स्थानीय पार्टी कमिटीलाई सजग बनाउने बाहेक कोही कसैलाई कारवाही गर्ने योजना छैन’, एमाले स्रोतले भन्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ