arrow
ADVERTISEMENT

खेल कुर्सीको

नेकपा एसमा ‘लालगद्दारी’ को खतरा, निरीह माधव नेपाल, अध्यक्षभन्दा चार मन्त्री शक्तिशाली

चार मन्त्रीहरुको रिमोट कन्ट्रोल अन्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीभन्दा त्यसका चार मन्त्री शक्तिशाली देखिएका छन् । आइतबार बिहान सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयलाई थमौती गर्न सफल भएपछि पार्टीभन्दा मन्त्री शक्तिशाली देखिएका हुन् । अझ उनीहरु त पार्टी अध्यक्ष माधवकुमार नेपाल भन्दा पनि शक्तिशाली देखिएका छन् । 

एस पार्टीले सरकारमा सहभागी चार मन्त्रीहरु विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेसँगै पार्टीभित्र ठूलै लफडा सिर्जना भएको थियो । प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारबाट हटाएमा सरकारलाई नै अप्ठेरो पर्ने बताइसकेका थिए । 

त्यस्तै किसान श्रेष्ठले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तत्काल मन्त्रीबाट हटाएमा सरकारलाई पनि असर पर्ने संकेत गरेका थिए । उनीहरु दुवै जना केपी शर्मा ओलीबाट रिसाएर माधव नेपालसँग आएका थिए । 

तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर एमालेको तर्फबाट विजयी बनेका श्रेष्ठ मन्त्री नपाएको झ्वाँकमा माधव नेपालतिर लागेका हुन् । उनै श्रेष्ठले सरकारलाई नै अप्ठेरो पार्ने गरी भावनात्मक ‘ब्ल्याकमेलिङ गरेका थिए । 

प्रधानमन्त्री देउवाले पनि उनीहरुको आग्रह सुनेपछि तत्काल मन्त्री परिवर्तन नहुने भन्दै आश्वस्त पारेका थिए । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनीहरुले सोही कुरा दोहोर्याएका थिए । 

त्यसैगरी आइतबार बेलुकी पौने ८ बजे खुमलटारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँकीलगायत मन्त्री पुगेका थिए । 

उनीहरूले कानून मन्त्री गोविन्द बन्दी (जो नेकपा एकीकृत समाजवादीकै भए पनि गठबन्धनका साझा बाँडफाँड सूचीमा रहेका गैह्र सांसद) लाई पनि लिएर प्रचण्ड निवासमा पुगेर गठबन्धनमा अप्ठेरो काम हुन लागेकाले यसलाई जोगाउन पनि अहिले मन्त्री परिवर्तन गरिहाल्न नहुने भन्दै तत्कालै मन्त्रीपरिषद पुनर्गठन गर्न नहुने बताएका थिए । 

‘यो हाम्रो पार्टीको निर्णयलाई रोक्न सहयोग गरिदिनुपर्यो । माधव नेपालसँग कुरा गरिदिनुपर्यो । सम्झाईदिनुपर्यो ’, विरोध खतिवडाले प्रचण्डसँग हारगुहार गरेका स्रोतले जनाएको छ । 

प्रचण्डले त्यसबेला प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताहरूसँग एकचरण छलफल गरेर ठोस निष्कर्षमा पुगौँला भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूलाई फर्काएका थिए ।

‘बजेट अधिवेशन चलिरहेको समयमा बजेट प्रस्तुत गरेको मन्त्री परिवर्तनको कुरा अन्तर्राष्ट्रिय प्रचलनभन्दा बाहिरको विषय हो, जिम्मेवार पार्टी र नेताले यस्तो निर्णय गर्दैन, यसले अन्य गठबन्धनको पार्टीलाई पनि मन्त्री हेरफेरका लागि थप प्रेसर पार्छ, चुनाव नजिकिँदै गर्दा अझ यसले राम्रो सन्देश दिँदैन, गठबन्धन र बजेटमा पनि यसले नकारात्मक असर पार्न सक्छ’, एस पार्टीका मन्त्रीहरुले प्रचण्डसँग भनेका थिए । 

त्यसपछि प्रचण्डले आफूलाई पनि अहिले मन्त्री हेरफेर गरिहाल्नु पर्छ भन्ने नलागेको तर एकीकृत समाजवादीको पार्टीको आन्तरिक समस्याले आफूले केही नबोलेको जवाफ दिएका थिए । आइतबार राति एकीकृत समाजवादीका मन्त्रीहरूको आन्तरिक छलफल भएका थियो । 

प्रचण्ड निवासबाट फर्केपछि उनीहरूले आन्तरिक रुपमा गरेको छलफलमा प्रधानमन्त्रीसँग समेत यस विषयमा भेटेर दबाब बढाउने निष्कर्ष निकालेका थिए सोही अनुसार प्रेम आले र किसान श्रेष्ठले आइतबार राति नै प्रधानमन्त्रीसँग कुरा राखेको स्रोतको दाबी छ ।

साथै सोमबार बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीले बोलाएका थिए । त्यस अगाडि प्रधानमन्त्रीलाई भेट्ने योजना उनीहरूले बनाएका थिए । 

त्यसपछि सोमबार बिहानै थमौतीमा परेका एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटेर आफ्ना कुरा राखेका थिए । आफ्नो पार्टीभित्र मन्त्रीका लागि पर्ने रस्साकस्सी, गठबन्धनमा पर्न सक्ने चुनौती यी सबैलाई देखेपछि प्रधानमन्त्रीले गठबन्धन बैठकमा माधव नेपालको प्रस्तावमा सहमति नजनाउने र तत्काले हट्नु नपर्ने आश्वासन दिएका थिए । 

‘हाम्रा मन्त्रीहरुले पार्टी अध्यक्षलाई निरीह बनाए, उनीहरुको रिमोटकन्ट्रोल अन्तै कतै रहेछ भन्ने पुष्टि भयो’, एस पार्टीका एक नेताले भने । 

आइतबार मन्त्रीको लागि तयारी अवस्थामा रहेका नयाँ चारै जनाले दौरा सुरुवाल तयार गरिसकेका थिए । तर खुशीको बेग थामियो । क्षणिक बेगले ल्याएको खुशीपछिको प्रतिक्रिया आउन बाँकी छ । यसले पक्कै पार्टीमा आन्तरिक गद्दारी बढाउने देखिएको छ । 

नेकपा एमालेका एक केन्द्रीय सदस्यले ब्यङ्ग्य गदैै भने, ‘हामीमा आन्तरिक गद्दारी बढी थियो । अब साथीहरु पनि त्यो मारमा पर्ने भए । हामी नेपाली कम्युनिष्टहरु त के भयौं के । पदका लागि जे पनि गरिहाल्ने ।’

उनको भनाइलाई आधार मान्ने हो भने नेकपा एसभित्र पनि ‘लालगद्दार’ छिर्ने स्पष्ट भएको छ । स्थानीय तहको निर्वाचनमा भने नेकपा एस एकढिक्का थियो । अबका चुनावमा त्यो सम्भावना कम हुँदै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ