arrow
ADVERTISEMENT

नेकपा एस वैचारिक दलदलमा, नेपाल–खनालबीच विवाद, लालगद्दार छिर्ने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
madhav-jhalanath-final.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद शुरु भएको छ । मन्त्रिपरिषद् हेरफेरको र स्थानीय तहको निर्वाचनमा भएको सहमति उल्लंघनका विषयमा उनीहरुबीच विवाद शुरु भएको हो । 

मन्त्री हेरफेर गर्ने निर्णयलाई गठबन्धनले तत्काल कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रबाट चर्को आलोचना खेपिरहेका बेला खनालले पनि नेपालको साथ छाड्ने संकेत देखाएका छन् । 

शनिबार र आइतबार पार्टी सचिवालयको बैठकमै अध्यक्ष नेपाल र सम्मानित नेता खनालको विचार फरक परेको थियो । मन्त्रीहरु हेरफेरको विषय पनि तत्कालै सार्वजनिक नगर्ने मुडमा रहेका नेपाललाई चुनौती दिएर खनालले पत्रकारहरुसँग मन्त्री हेरफेरको निर्णय सुनाएका थिए । 

त्यतिमात्र होइन खनालले कांग्रेससँगको सहकार्य तोडेर वाम गठबन्धनको प्रस्ताव लैजानु पर्ने र यसको नेतृत्व एस पार्टीले गर्नुपर्ने प्रस्ताव पनि राखेका थिए । 
स्थानीय निर्वाचनपछि सत्ता गठबन्धनको भविष्यलाई लिएर विभिन्न कोणबाट बहस भइरहेका बेला खनालले सो प्रस्ताव राखेपछि नेपाल झस्किएका थिए । 

गठबन्धनबाट नेपाली कांग्रेसलाई मात्र फाइदा पुगेको भन्दै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले यसको विकल्प खोज्नुपर्नेमा जोड दिइरहेका बेला सचिवालयको बैठकमा खनालले यस्तो प्रस्ताव राखेर त्यसलाई मलजल गरेका थिए । 

जसपाले त मधेसमा छुट्टै गठबन्धन बनाउने तयारीस्वरुप लोसपा र जनमत पार्टीसँग आन्तरिक छलफल गरिरहेको बेला खनाल थपिएपछि गठबन्धनमा समेत अप्ठेरो पर्ने हो कि भन्ने चिन्ता माधव नेपालले गरेका छन् । 

गठबन्धनको निर्णयलाई चुनौती दिँदै एकीकृत समाजवादी दुई गुटमा विभाजित भएका छन् । ‘नेपाल–खनालको विचार बाझिएको छ, उहाँहरु निकट रहेका नेताहरुको मत पनि बाझिएको छ’, एस पार्टीका एक सचिवालय सदस्यले भने । उनका अनुसार खनालको वाम गठबन्धनको प्रस्तावले पार्टीभित्रै हलचल भएको छ । एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएर वाम गठबन्धनको प्रस्थान विन्दु बन्ने हो कि भन्ने चिन्ता थपिदै गएको छ । 

त्यतिमात्र होइन एस पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि सो पार्टीका केही मन्त्री भने आफ्नो कार्यकालको समीक्षा गर्न थाले पनि नयाँ मन्त्रीहरुले नियुत्ति नपाउँदासम्म उनीहरुनै कायम हुने अवस्था छ । 

खनाल चाँडो भन्दा चाँडो पार्टीको निर्णय कार्यान्वयन गर्ने पक्षमा छन् । तर प्रेम आले, किसान श्रेष्ठ,  लगायतका मन्त्रीहरुले त्यसलाई रोक्न सफल भएपछि खनाल झन् आक्रोशित भएका छन् ।  

सम्मानित नेता खनालले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय गठबन्धनले उल्ट्याउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय पार्टीको सार्वभौम अधिकार रहेको भन्दै गठबन्धनले हस्तक्षेप गर्दा अध्यक्ष निरीह बनेको आरोप लगाएका छन् । 

उनले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै यसबाट दायाँबायाँ नहुने बताए । योसँगै वामगठबन्धनको प्रकरणलाई लिएर नेपाल र खनालबीच असन्तुष्टि बढेको छ । 

खनालले अध्यक्ष नेपाललाई तत्काल पार्टीको निर्णय कार्यान्वयन गर्न दबाब दिएका छन् । 

त्यतिमात्र होइन खनालले आफ्नो गृहजिल्ला इलाममा एमालेसँग सहकार्य गरेर कार्यपालिकामा बहुमत पुर्याएका थिए । जसले गर्दा इलाममा उनी एमालेसँग नजिक देखिएका छन् ।

यो र यस्तै घटनाले नेकपा एकीकृत समाजवादीमा पनि ‘लालगद्दार’ को पगरी गुथ्याउने प्रयास हुन सक्ने आँकलन गरिएको छ । नेपालमा कम्युनिष्टको स्थापना भएको अर्को वर्षदेखि नै ‘लालगद्दार’ को पगरी भिराउने प्रवृत्ति बढेको थियो । 

नेकपा एसका दुई मुख्य नेताबीच नै ‘टसल’ बढ्न थालेपछि पार्टी धरासायी हुने चिन्ता बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ