arrow

चन्द्रागिरी केवलकार अड्किएर केही हुँदैन, दुर्घटनाको जोखिम लगभग शून्य – चन्द्र ढकाल

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ साउन १३ शुक्रबार
chandragiri2229.jpg

काठमाडौं । चन्द्रागिरी केवलकार देशभरकै एक प्रमुख आकर्षणकाे केन्द्रमध्ये पर्छ । केवलकार चढ्दाको रमाइलो, काठमाडौं उपत्यका एकातर्फ र अर्काेतर्फ हिमालको दृष्य, पृथ्वीनारायण शाहको शालिक अगाडि फोटो खिच्ने र भालेश्वर मन्दिर चन्द्रागिरीको मुख्य आकर्षणमध्ये पर्छन् ।

बालबालिकादेखि वृद्ध र सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्तिहरु चन्द्रागिरी गइरहेका हुन्छन् । तर कहिलेकाहिँ केवलकार बीचमै अड्किने समस्यालाई लिएर कतिपय नागरिकहरुले खतराको आशंका गरिरहेका हुन्छन् ।

करिब तीन साताअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनासमेत रहेको चल्दाचल्दैको केवलकार रोकिएको विषयले निकै चर्चा पाएको थियो । त्यतिबेला केवलकारमा समस्या हुँदा केही मानिसहरुलाई चन्द्रागिरीको टुप्पोमा पुगिसकेपछि परपट्टि मकवानपुरको चित्लाङ हुँदै काठमाडौं फिर्ता ल्याइएको थियो ।

यसरी कहिलेकाहिँ केवलकार बीचमा के कारणले रोकिन्छ ? रोकिँदा के समस्या हुन्छ ? र यसरी केवलकार रोकिँदा केही दुर्घटना पो हुने होकि ? भन्ने लगायतका विषयमा धेरैजसो मानिसमा अन्योल छ ।

यसै विषयमा जानकारी दिनका लागि शुक्रबार चन्द्रागिरी हिल्स लिमिटेडले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार अड्किदा कुनै समस्या नहुने बताएका छन् । 

किन रोकिन्छ केवलकार?

बिजुली जाँदा, जेनेरेटर बन्द हुँदा अथवा विद्युत आपूर्तिमा समस्या हुँदा केवलकार रोकिने समस्या हुने चन्द्रागिरी हिल्स लिमिटेडका अपरेशन अधिकृत एवं इलेक्ट्रिकल इन्जिनियर सरोज चापागाँईले बताए ।

केवलकार लाइनको प्रत्येक टावर (पोल) मा सेन्सर हुने गर्छन् । ती सेन्सरमा समस्या आउँदा पनि केवलकार रोकिन सक्छ । ढोका नलागेको अवस्थामा या हावाको कारण केवलकारको डिब्बा (गोन्डोला लिफ्ट) को गति तीव्र भएको अवस्थामासमेत केवलकार रोकिन सक्ने इलेक्ट्रिकल इन्जिनियर चापागाँईले बताए ।

यसबाहेक चट्याङ पर्दा वा अन्य प्राविधिक समस्याकाे कारणले केवलकार रोकिन सक्छ ।

रोकिँदा के हुन्छ?

केवलकार रोकिँदा केवलकारको डिब्बा (गोन्डोला लिफ्ट) र त्यसमा रहने मानिसहरुलाई कुनै समस्या नहुने उनले बताए ।

केवलकार रोकिएपछि त्यसमा अथवा गोन्डोला लिफ्टमा जतिसुकै लामो समय पनि बस्न मिल्छ, कुनै समस्या हुँदैन । थोरै उचाइ र चारैतिर जंगल रहेकाे केवलकारमा अक्सिजनको अभाव हुने कुरै नहुने अध्यक्ष ढकालले बताए । 

रोकिएपछि पुन: सुचारु कति समयमा र कसरी हुन्छ?

सामान्य समस्या जस्तै बिजुली गयो अथवा जेनेरेटरमा समस्या आयो भने त्यो केही मिनेटमा समाधान हुने इलेक्ट्रिकल इन्जिनियर चापागाँईले बताए ।

टावर (पोल) मा रहेका सेन्सरमा समस्या आयो भने त्यहाँ आएर भर्याङबाट चढेर सेन्सरको समस्या समाधान गरिन्छ । बढी समय लाग्ने देखियो भने 'इमरजेन्सी' अथवा आपतकालीन ड्राइभ चलाएर केवलकार सञ्चालनमा आउँछ । इमरजेन्सी ड्राइभले केवलकारको डोरी चलाउँछ र रोकिएको केवलकार सुचारु हुन्छ ।

समस्या के हो भनेर थाहा पाउन केही समय लाग्ने हुँदा उद्धारमा ढिलो हुन सक्ने उनले बताए । ‘जस्तै टावरमा प्रोबलम आयो भने टावरमा आउनु पर्ने हुन्छ, टावरमा आउन टाइम लाग्छ त्यो ले गर्दा पनि हामीलाई अलिकति टाइम लाग्छ’, इन्जिनियर चापागाँईले भने ।

समस्यापछि माथि डाँडोमा रहेका मानिसहरुलाई कसरी तल ल्याउने ?

यसरी केवलकार बिग्रिएको अवस्थामा माथि डाँडोमा रहेका मानिसलाई चन्द्रागिरीकाे पल्लोतर्फ चित्लाङको बाटो हुँदै काठमाडौं फिर्ता ल्याउने व्यवस्था कम्पनीले गर्ने अध्यक्ष ढकालले बताएका छन् ।

मानिसहरु डाँडोमै बस्नुपर्ने अवस्था भए पनि त्यहाँ खाने बस्ने सम्पूर्ण व्यवस्था रहेको र त्यस्ताे अवस्थाकाे खर्च सबै कम्पनीले नै व्यहोर्ने उनले बताए ।

विश्वकै 'टप' युरोपियन कम्पनीकाे केवलकार

चन्द्रागिरी केवलकार विश्वकै टप केवलकार उत्पादक मध्येको युरोपियन कम्पनी डोपलमेयर (Doppelmayr/Garaventa Group)ले निर्माण गरेको अध्यक्ष ढकालले बताएका छन् ।

विश्वभर १५ हजार भन्दा बढी यस्तै केवलकार सञ्चालनमा रहेको र यसमा कुनै जोखिम नभएको उनले बताए ।

कहिलेकाहिँ कुनै 'इस्स्यु' भएर राेकिए पनि तुरून्तै समाधान गर्न सकिने उनले बताए । आफू केही दिनअघि स्वीट्जरल्याण्डमा हुँदा त्यहाँकाे प्रविधि बुझ्न केवलकार चढेको र त्यतिबेला त्यहाँ पनि केवलकार रोकिएको कुरा सुनाउँदै उनले कहिलेकाहिँ केवलकार रोकिने समस्या सामान्य भएको बताए ।


दुर्घटनाको जोखिम लगभग शून्य

जसरी कहिलेकाहिँ बिजुली जाँदा लिफ्ट राेकिन्छ, अवतरण गर्न नपाउँदा जहाज होल्ड हुन्छ, त्यसरी कहिलेकाहिँ केही प्राविधिक समस्या आएर केवलकार रोकिए पनि यसमा दुर्घटनाको जोखिम लगभग शून्य रहेको ढकालले बताए ।

‘बिजुलीबाट, जेनेरेटरबाट, त्यो पनि भएन भने इमरजेन्सी ड्राइभबाट केवलकारमा भएको मान्छेलाई 'अफलोड' गराउन समस्या हुँदैन’, अध्यक्ष ढकालले भने ।

युरोपियन कम्पनीको चन्द्रागिरी केवलकार विश्वकै अत्याधुनिक प्रविधिको भएको र प्रत्येक तीन महिनामा मर्मतसमेत गरिने गरेको इलेक्ट्रिकल इन्जिनियर चापागाँईले बताए । हरेक दिन बिहान पनि सञ्चालन गर्नुअघि केवलकार चेकजाँच गरिने उनकाे भनाइ छ ।

राति ९ बजेसम्म चल्दै चन्द्रागिरी केवलकार

यसअघि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्रै सञ्चालनमा रहँदै आएको केवलकार साउन १ गतेदेखि भने राति ९ बजेसम्म सञ्चालन  हुन थालेको छ ।

धेरै जसो मानिसहरु ५ बजे कार्यालय सकेर चन्द्रागिरी पुगेर डिनरसहित रमाइलो गरेर घर फर्किन सकुन् भन्ने किसिमले राति ९ बजेसम्म केवलकार सञ्चालनमा ल्याएको अध्यक्ष ढकालले बताए ।

कहिलेकाहिँ केही प्राविधिक समस्याका कारण छोटो समयका लागि केवलकार रोकिए पनि चाँडै सबै समस्याको सहज समाधान हुने भएका कारण यसमा कुनै दुर्घटनाको जोखिम नरहेको चन्द्रागिरी हिल्सले जनाएको छ ।

भिडियाे:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ