arrow

नेकपा एसभित्र सहकार्यमा अलमल, नेताहरु प्रचण्डसँग रुष्ट, ओलीले गल्ती भो भन्दिए माधव पनि फर्किने दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) भित्र एमालेसँगको सहकार्य कि माओवादी केन्द्र सँगको सहकार्य भन्ने छलफलले तीव्रता पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रिसले विभाजन गरिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाउने नाममा एसलाई माओवादीभित्र विलयी गराउने योजना बनाएपछि यी दुई थरी बहस र छलफलले तीव्रता पाएको हो । 

गत भदौमा एमालेलाई औपचारिक विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपालको सो पार्टीभित्र एमालेसँगको सहकार्यलाई बढी जोड दिन थालिए पनि एमाले अध्यक्ष ओलीले संसद विघठन गर्नु गलत थियो नभन्दासम्म सहकार्यको ढोका खुला नगर्ने भन्दै केही नेताहरुले हलो अड्काइरहेको चर्चा पनि छ । 

माधव नेपाललाई अन्तिमसम्म साथ दिएका पुराना नेताहरु झलनाथ खनाल र मुकुन्द न्यौपानेले नै अहिले एमालेसँगको एकताका लागि सम्वाद थालनी गर्नुपर्ने बहस पार्टीभित्र उठाउन थालेका हुन् । ओलीले सार्वजनिक वक्तब्य नै दिएर यी विषयमा कमजोरी भएको स्वीकार गर्नुपर्ने पक्षमा पनि उनीहरु छैनन् । मात्र कुनै कार्यक्रममा एउटा अभिब्यक्ति दिए पनि पुग्ने उनीहरुको सुझाव छ । त्यसो गरेमा एमालेसँगको एकताको औपचारिक ढोका खुल्ने झलनाथ र मुकन्द न्यौपानेहरुले बहस शुरु गरेका छन् । 

गत स्थानीय तह निर्वाचन परिणामपछि नै एकीकृत समाजवादीका सम्मानित नेता खनाल र उपाध्यक्ष न्यौपानेले यस्तो बहस पार्टीभित्र निरन्तर चलाउँदै आइरहेका छन् । उनीहरुले माओवादी र कांग्रेससँगको सहकार्यलाई रुचाएका छैनन् । उनीहरु खासमा वाम गठबन्धनकै पक्षमा छन् । 

एमाले र माओवादी केन्द्र मिल्ने स्थिति नभएका कारण तत्काललाई एमाले र एकीकृत समाजवादी भए पनि मिल्नुपर्ने खनाल र न्यौपानेको तर्क रहने गरेको छ । मुकुन्द न्यौपानेले त पार्टीको बैठकमा एमाले बिनाको वामगठबन्धनको औचित्य नभएको बताएका थिए । उनले पार्टीको बैठकमा लामो धारणा राखेर एमालेबिनाको वामगठबन्धन कसको स्वार्थमा यस्तो भएको हो भनेका थिए ।

‘नेपालको दिनहुँ बदलिइरहेको राजनीतिक परिस्थितिले हामीलाई के सङ्केत गरिरहेको छ भने नेपालमा दिनहुँ बाह्य हस्तक्षेपको खतरा बढिरहेको छ । नेपालको सम्बन्धमा कहिले दिल्लीले बढी चासो बढाउँछ कहिले अमेरिका एमसीसी र एसपीपीका नाउँमा छट्पटाउदै नेपालमा पस्छ । हामी आफूलाई स्वाभिमानी नेपाली भनेर घमण्ड गर्छौं अमेरिकाले हाम्रो एमसीसी र एसपीपी पास गर्छस् कि गर्दैनस् भनेर औंलो उठाउँदा थुचुक्क घुँडा टेकेर शिर निहुर्याउँछौं । आज गठबन्धन भित्रका आफूलाई खाँटी कम्युनिष्टभन्ने साना ठूला दलहरू नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेलाई अलग गरेर छुट्टै एमाले बाहेकको कम्युनिस्ट मोर्चा बनाउने भनेर अभियान चलाउने कुरा गर्दछन्’, न्यौपानेले सचिवालय बैठकमा भनेका थिए । 

‘यो कस्को चाहना हो ? कम्युनिस्ट बलियो रहेसम्म नेपालमा चीनविरुद्ध गतिविधि राम्रोसँग संचालन गर्न सकिँदैन भन्ने निचोड पश्चिमाहरुले निकाल्नु अनि त्यसैको सेरोफेरोमा एमाले विरोधी कम्युनिस्ट मोर्चाको प्रस्ताव बोकेर गठबन्धन भित्रका कम्युनिस्टहरुको दौडधुप शुरु हुनु के यो संयोग हो ?’, एस पार्टीको सचिवालय बैठकमा उनले भनेका थिए । 

उनले पार्टीको बैठकमै एमालेसँगको सहकार्य वा पार्टी एकताको विषयमा खुला छलफल गर्न आग्रहसमेत गरेको स्रोतको दाबी छ । ‘नेपालका सत्ताको मोहमा छट्पटीमा परेका कम्युनिस्टहरु यो कुरालाई देख्न र विश्लेषण गर्न सकिरहेका छैनन्, दिमागमा एउटै कुरा नचाइरहेका छन् कसरी एमालेलाई कमजोर पार्ने र कुर्सी आफ्नो हातम सार्ने । यतिमात्र एजेण्डा दिमागमा नाचिरहेकाले एमाले बाहेकको समाजवादी केन्द्र निर्माणमा लागेकाहरूको सपना जपना यहीँ छ । इमानदार कार्यकर्ताले के बुझ्नु जरुरी छ भने यो भनाइको पछाडि कुन सिद्धान्त कुन विचार र कुन शक्तिले काम गरेको छ ?’, उनले पार्टीको बैठकमा सो कुरा राखेपछि एस पार्टीभित्र निकै हंगामा मच्चिएको छ ।

 ‘पार्टीभित्र झलनाथ खनाल र मुकुन्द न्यौपानेले अध्यक्ष माधव नेपालमाथि वाम एकताकै दबाब बढाइरहनुभएको छ’, ती नेताले भने, –‘तर माधव नेपाल एकता वा सहकार्यका लागि पनि ओलीबाट कुनै न कुनै कमजोरी स्वीकारोक्ति आउनु पर्यो भन्दै बसिरहनु भएको छ ।’

एस पार्टीका अधिकांश नेताहरु एमालेसँगको सहकार्यका लागि पहल गर्न नेताहरुलाई दबाब दिइरहेका छन् । केही सरकारी नियुक्ति पाएका बाहेक सबै नेताहरुले एस पार्टीका अध्यक्ष नेपाललाई माओवादीको हेपाहा प्रवृत्तिभन्दा एमाले नै ठीक भएकाले त्यही पार्टीमा फर्कन दबाब दिएको स्रोतको दाबी छ । 

एस पार्टीका नेताहरुले सत्तासँग एमसीसी साटेको, नागरिकता विधयेकमा कुनै पनि कुरा नबोलेको जसले गर्दा राष्ट्रहीत विपरीत भएका कामलाई पनि सहयोग पुगेको भन्दै नेताहरुको आलोचना गर्न थालेका छन् । 

ओलीले एकीकृत समाजवादीका नेता कार्यकर्तालाई भने पार्टीमा फर्काउने प्रयास आफैंबाट थाल्ने बताइरहेका बेला एस पार्टीभित्र एमालेसँगको सहकार्यलाई लिएर दबाब बढेको हो ।

 ‘पार्टी छाडेर गएकाहरुलाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ । लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीहरुलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नुस् । ठूलो संख्यामा पार्टी फर्किनेहरुको घोषणा हुनेछ,’ ओली सधै यही कुरा दोहोर्याइरहेका छन् । 

यस्तो अवस्थामा एस पार्टीका नेता कार्यकर्ताहरु एमालेतिर आकर्षित हुन थालेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ