अरु चाडबारे भन्दा तीजको निकै टिप्पणी भएको पाइन्छ। भड्किलो भयो रे, महिलाहरु खानपिनमै ब्यस्त भए रे। आदि आदि । खासमा तीजको सार र मर्म बुझ्ने हो भने तीज तीज जस्तै छ। केही नहुने भएको छैन। त्यसो त आजभन्दा ३०/४० बर्ष अगिको दशैँ र अहिलेको दशैँ पनि त फरक छ। पहिलाका भान्साकोठा, बैठककोठा, बजारमा पाइने लुगा पनि त पहिले पहिलेभन्दा अहिले फरक छन्। महिलाको जीवनशैली फरक भए। जन्मघर र कर्मघरमा परिवारभित्र गरिने व्यवहार फरक भए। पुरुषहरु तुलनात्मक रुपमा सधैँजसो रामरमिता गरिरहेकै हुन्छन्। भ्याउने महिलाहरुले तीजको अवसरमा २/३ हप्ता रमाइलो गर्दा आकाश खस्दैन। अर्को कुरो यो कसैको करकापमा मनाइने चाड नै होइन। एक थरीले यो चाडलाई श्रीमानको लागि भोकै (ब्रत) बसेर पुरुषको लागि दुःख गर्न परेको पितृसत्तात्मक थिचोमिचोको उदाहरणको रुपमा प्रस्तुत गर्छन्। वास्तवमा यो महिलावादी अर्थात् समतावादी महिला र पुरुषको प्रेमको चाड हो। अर्थात् तीज सुखान्त लभस्टोरी हो।
मैले जानेसुनेको प्रेमकथामध्ये यो कठोरतम् तर सफल प्रेमकहानी हो। ऐले पो फोन, स्काइप एसएमएस आदिका माध्यमबाट प्रेमीप्रेमिकाहरुको कुरा हुन्छ। आजभन्दा ४/५ दशक अघिमात्र नै नेपालमा सम्भव थिएन नि यसरी सजिलै कुरा गर्न। प्रेमपत्र लेख्नु पर्थ्यो। प्रेमपत्र लेखेका र ती चिठ्ठी साँचेर राखेकालाई थाहै छ, बुढेसकालमा बूढाबूढी सँगै बसेर ती प्रेमपत्र खोल्दै फेरि ती पुराना दिनका लभ पर्दाका कथा पालैपालो एकले अर्कालाई सम्झाउन कति रमाइलो हुन्छ! यो तीजको कथा जो आफैमा शिव पार्वतीको प्रेमकथा हो। सुरुमा महादेवले पार्वतीलाई स्मरण गराएका हुन् बुढेसकालमा। अझ त्यो बेलामा त लभलेटरको पनि चलन थिएन। अरुले सुनाएका, आफैले भोगेका आदि कुराहरुलाई जोडेर कथा बुन्नु पर्ने। पार्वती खुबै रोमान्चित बनेकी थिइन् शिवबाट यो आफ्नै अमर प्रेमकथा सुनेर। मलाई खुबै मन पर्छ यो कथा। धेरैलाई थाहै भएता पनि यो कथा आज तीजकै अवसर पारेर म यहाँ सारमात्र प्रस्तुत गरूँ है!
हिमालयकी छोरी पार्वतीले कैलासवासी शिवलाई सानैदेखि मन पराएकी। एकतर्फी। वनसाइडेड लभ। उता शिवलाई बाल छैन। तर यता, अहँ, शिव पार्वतीको दिलबाट हट्दै हटेनन्। उनलाई पाउनका लागि पार्वती खुबै तड्पिन्। कडा ! न भोक, न निंद्रा, न कुनै अरु कुरामा ध्यान। न कुनै रामरमितामा जान्छ उनको मन। एकोहोरो। यो प्रेम भन्ने चिजै यस्तै। सिरानी भिजे। ज्यान सुक्यो। लामो समय बित्यो। दिन, हप्ता महिना र कयौँ बर्ष। बाउ कायल भए। छोरीको विहे गर्ने उमेर बितिसक्यो। नारदले उपाय निकाले: "विष्णु सुन्दर र सम्पन्न छन्। पार्वतीले पक्कै मान्छिन्। विष्णुसँग म कुरा गर्छु। छोरीलाई मनाउनोस्।"
पार्वतीलाई पाए विष्णुले के छोड्थे! विष्णु जन्ती लिएर आउने पक्का भयो। यो कुरा जब पार्वतीले चाल पाइन् उनले कठोर प्रण गरिन्, "बरु मर्छु, शिवबाहेक अरुलाई त बिहे गर्दै गर्दिन ।" (तस्माद् देहपरित्यागं करिष्येऽहं न संशयः”।)
अब त उनको हाल झन बेहाल भयो । पार्वतीकी बेस्ट फ्रेण्ड (आलिक)ले जब यो कुरो चाल पाइन्, उनले पार्वतीलाई बाउको घरबाट भगाएर (हरेर) घनघोर बनमा लगेर लुकाइन्। (आलिभिर्हरिता यस्मात्तस्मात्सा हरितालिका।) वनमा बस्दा पार्वतीको प्रेमप्रतिको समर्पण अझ बढ्यो। खानपिन छोडिन्। आमरण अनसन। पार्वतीले बालुवामा शिवको रुप बनाएर शिवलाई कल्पिन्। बाउ खोज्दै त्यहिँ आइपुगे र पार्वतीले शिवप्रति त्यसरी समर्पित भएको आफ्नै आँखाले देखे। त्यो दिन भदौ महिनाको जुनेली पक्षको तृतीया तिथि थियो। छोरीले शिवलाई यति धेरै चाहेको र शिवसँग बिहे गर्न नपाए कुनै हालतमा पनि घर नफर्कने ढिपी गरेपछि हिमालयले शिवलाई नै बोलाएर विहे गरिदिने वचन दिए। पार्वती घर फर्किन्। शिवसँग पार्वतीको विहेको आयोजना भयो। नाचगान धुमधाम भयो। “तत्र वाद्येन गीतेन रात्रौ जागरणं कृतम्।"
शिवले पार्वतीलाई "ती दिनहरु" सम्झाउन सुनाएको कथाको सार यही हो। बूढाको काखमा सुतेर आफ्ना प्रेम कथा सुनेर पार्वती खुबै रोमान्चित भएकी थिइन्। आफ्नै कथा सुनेर बुढेसकालमा उनलाई अझ माया बढेर आयो। पार्वतीले माथितिर हेरिन् बूढाको मुहारमा। शिवले पार्वतीको मुहारमा। निःशब्द। उनीहरुलाई प्रेमको कुहिरोले ढाक्यो।
शिवले त्यो बेला सुनाएजस्तै आजभोलि पनि आआफ्ना प्रेमकथा घरघरमा सुन्ने सुनाउने प्रेरणा तीजले दिइरहोस्। मेरो कामना। घरगृहस्थी सुन्दर बनाउने प्रेमले नै हो। यो महान एवं सुखान्त प्रेमकथाले पिता (माइती) र छोरीको समेत मायाममता बढाउन प्रेरित गरोस्।