- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तुलसी पन्थी मेरो आदरणीय काका हुनुहुन्छ । उहाँ मेरो साँहिलो हजुरबुवाको कान्छो छोरा हुनुहुन्छ । गुल्मी जिल्लाको मदाने–७ भन्भने गैराखर्क खहरेखोलामा वि.सं २०१६ मा आमा स्व.नर्मदादेवी पन्थी र बुवा स्व.जीवनाथ पन्थीको कान्छो छोराको रुपमा तुलसी पन्थीको जन्म भएको थियोे । दुई छोरा र एक छोरीका पिता तुलसी पन्थीले निजामती सेवाबाट अवकाश भएपछि जीवनका पाइलाहरू भन्ने आत्मवृतान्त २०७९ जेठमा प्रकाशित गर्नुभएको छ ।
आदरणीय काकी अर्थात् तुलसी पन्थीकी श्रीमती भगवती पन्थीद्वारा यो आत्मवृतान्त प्रकाशन गरिएको छ । २३ शीर्षकमा संरचित यस पुस्तकमा चन्द्रकान्त पन्थी, ईश्वरी पन्थी, रमेश पन्थी, ध्रुव पन्थी र शरद पन्थीले शुभकामना, भूमिका, दृष्टिकोण, मन्तव्य प्रस्तुत गर्नुभएको छ । यो पुस्तक १८२ पृष्ठमा संरचित छ ।
तुलसी पन्थी २०४९ मा गुल्मीबाट बसाइँ सरेर कपिलवस्तुको सदरमुकाम तौलिहवामा लामो समय बस्नु भयो भने अहिले काठमाडौंमा बस्दै आउनु भएको छ । मैले काकाको यो पुस्तक प्रकाशित भएको सामाजिक संजाल मार्फत थाहा पाएँ । कसरी मगाउने होला भन्ने मनमा लागेको थियोे । भाइ ध्रुव नेपालबाट अमेरिका आउँदा ल्याएका रहेछन् उनैले मलाई पठाइदिएर पढ्ने मौका मिल्यो । उक्त पुस्तक पढ्दा काका मेरो अगाडि प्रत्यक्ष उपस्थित भएर उहाँले भनेको र मैले सुनिरहेको जस्तो अनुभूति भयो ।
काकाको यो आत्मवृतान्तमा जीवनको एकोहोरो भोगाइ मात्रको वर्णन नभएर उहाँसँग जोडिएर आएका जीवन र जगत सम्बन्धि थुप्रै घटना र अनुभव सिलसिलेवार रुपमा प्रस्तुत गरिएका छन् ।
आत्मवृतान्त भनेको केवल व्यक्तिको नितान्त जीवन भोगाइको एकोहोरो विवरण मात्र नभएर व्यक्तिका जीवन भोगाइसँग सम्बन्धित पारिवारिक, सामाजिक, भौगोलिक, राजनीतिक, प्रशासनिक लगायतका थुप्रै पक्षहरू जोडिएको अनुभवको संगालो हो र ती पक्षहरूको प्रतिविम्बन विभिन्न तरिकाले भएको हुन्छ ।
आत्मवृतान्तमा जीवन भोगाइका आरोह, अवरोह,दुःख सुखका अनुभव र अनुभूति अभिव्यक्त भएका हुन्छन् । व्यक्तिको जीवन भोगाइका विशेष किसिमका पाइला र खुट्किला र उसले टेकेको भूमि, भोगेको समाज, हावापानी, वातावरण, परिवेश र आफ्नो देश र देश बाहिरको भौगोलिक शैक्षिक, ऐतिहासिक, प्रशासनिक र राजनीतिक आदि पक्षको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामान्य र कलात्मक चित्रण पनि भएको हुन्छ ।
सामान्यतः आत्मवृतान्त लेख्ने भनेको जीवनको उत्तरार्धमा नै हो किनकि आत्मवृतान्तमा जीवन भोगाइको लामो अनुभव अभिव्यक्त गर्नुपर्छ । कुनै व्यक्तिको आत्मवृतान्तको अध्ययनबाट थुप्रै ज्ञान र सन्देशहरू प्राप्त गर्न सकिन्छ । आत्मवृतान्तमा सबै घटनाहरू वास्तविक र यथार्थ हुन्छन् । जीवन के हो, जीवन कसरी भोगियो, जीवनमा के कस्ता परिघटना आउँछन्, जीवनको यात्रा कसरी अगाडि बढेको हुन्छ वा बढाउन सकिन्छ, जीवनमा के कस्ता वाधा अवरोध आइलाग्छन् र तिनलाई पन्छाउने तरिका के हुन र हुन सक्छन्, जीवनको उद्देश्य कस्तो बनाउनुपर्छ, जीवनलाई कसरी सुखी बनाउने अथवा दुःखबाट मुक्त कसरी हुन सकिन्छ भन्ने जस्ता यावत प्रश्न र उत्तरहरू आत्मवृतान्तमा पाइन्छन् ।
तुलसी पन्थीको प्रस्तुत जीवनका पाइलाहरू भन्ने आत्मवृतान्तमा पनि थुप्रै जीवन दर्शनहरू पाइन्छन् । तुलसी पन्थीले यस आत्मवृतान्तमा खासगरी आफ्नो ३७ वर्षे नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेदेखि लिएर अवकाशसम्मका धेरै घटना र अनुभवलाई प्राथमिकता दिनु भएको देखिन्छ । उहाँको करिव चार दशकको निजामती सेवाको अनुभवको वर्णनमा नेपालको लोकसेवा आयोगको विगतको इतिहास र उसको स्वच्छता, नेपालको भौगोलिक अवस्था, दुर्गम जिल्लामा कर्मचारीको जीवन भोगाइ, विगतमा सडक र यातायातको अभावमा हप्तौंसम्म हिड्नु पर्नेको समस्या र पीडा, निजामती सेवाभित्र घरपायक जागिर खानको लागि गर्नुपर्ने चाकरीचाप्लुसी र भनसुन आदि जस्ता थुप्रै विषयहरू वर्णन गरिएका छन् ।
उहाँले ३७ वर्ष निजामती सेवामा बिताउँदा पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र रुकुम जिल्लामा मात्र काम गरेको अनुभवले काकाको तालुक निकाय वा व्यक्तिसँग राम्रै पहुँच र उठबस रहेको पनि देखिन्छ । उहाँले कपिलवस्तु जिल्लामा मात्र २१ वर्ष बिताउनु भएछ । उहाँको सरुवा हुँदा पनि जिल्लाभित्रको अर्को कार्यालयमा भएको देखिन्छ ।
यसबाट नेपालको निजामती सेवाको सरुवा प्रणालीमा स्वच्छता नभएको स्पष्ट देखिन्छ । पहुँच र भनसुन भयो भने जहाँ भन्यो त्यही सरुवा हुन्छ नत्र सामान्य निवेदनका आधारमा सरुवा हुन सक्दैन । काकाले आफूले काम गरेको कार्यालयका कतिपय अविस्मरणीय घटनालाई तिथि, मिति र बारसमेत उल्लेख गर्नु भएकोले नेपालको निजामती सेवा भित्रका कतिपय ऐतिहासिक तथ्य पनि थाहा पाउन सकिन्छ ।
काकाको प्रस्तुत आत्मवृतान्तमा आफ्नो औपचारिक पढाइ र शिक्षादीक्षालाई पनि वर्णन गर्नुभएको छ । आफ्नै पिता स्व. जीवनाथबाट अक्षरारम्भ गर्नुभएका काकाको सबभन्दा माथिल्लो औपचारिक शिक्षा व्यवस्थापन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म रहेको देखिन्छ । काकाको स्नातक पढ्ने चाहनालाई २०३६ को राजनीतिक उथलपुथल र त्यसले शैक्षिक गतिविधिमा परेको असरले दिएन । काका सानैदेखि तीक्ष्ण प्रतिभाको हुनुहुन्थ्यो । उहाँ हरेक कक्षामा प्रथम हुनुहुन्थ्यो । उहाँले आफ्नो अध्ययनको सन्दर्भको चर्चा गर्दा तत्कालीन समयमा घरपायक विद्यालय नहुँदा पढाइमा अन्योलता, सानै उमेरमा घर छोड्दा भोग्नु पर्ने समस्या, पुरस्कार पाउँदाको खुशी, अभिभावकले गर्ने प्रशंसाबाट पाइने प्रेरणा, लेख्ने कलम आफूसँग नहुँदा त्यसप्रतिको मोह, एसएलसी नतिजा पछिको खुशीयाली आदिजस्ता थुप्रै कुराहरू उक्त पुस्तकमा अभिव्यक्त गरिएका छन् ।
प्रस्तुत आत्मवृतान्तमा काकाले नेपालको केही राजनीतिक सन्दर्भलाई पनि जोड्नु भएको छ । २०१७ सालपछि राजावादीबाट कांग्रेसलाई गरिएको दमन, दलहरूमाथि गरिएको प्रतिबन्ध, कांग्रेसको विद्रोह, गुल्मी जिल्लाको प्रथम शहीद शमशेरबहादुरको घटना, नेपाली कांग्रेसका नेता स्व. निलाम्बर पन्थीको योगदान, बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएका कर्मचारी आन्दोलन र त्यसमा आफ्नो भूमिकाका कुराहरू पनि उल्लेख गर्नु भएको छ । यसमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवाको कार्यकालका केही घटनाको सन्दर्भ पनि आएका छन् ।
काकाले गुल्मी जिल्लाको शिक्षा कार्यालयमा कामकाज गर्दा आफ्नो गाउँको विद्यालयलाई हाइस्कूल बनाउँदा त्यसमा आफ्नो योगदानको सन्दर्भ उठान गर्दा त्यसबेलाको स्वीकृत प्रक्रिया र आइपरेका समस्यालाई पनि वर्णन गर्नु भएको छ । यसबाट अहिलेको दीपक माविलाई माध्यमिक बनाउाँदा को कसको के कति योगदान र मिहिनेत रहेको रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
काकाले यसमा आफूले २०३५–२०३६ सालमा मुगुमा शिक्षकको जागिर खाँदा आफूले भोगेको र देखेको अनुभवको वर्णनबाट तत्कालीन मुगुको सामाजिक, साँस्कृतिक र धार्मिक, भौगोलिक आर्थिक अवस्थाको चित्रण गरिएको पनि छ ।
काकाले आफ्नो यस आत्मवृतान्तमा आफ्नो जन्मभूमि छोडेर बसाइँसराइ गर्दाको घटना र अनुभूति, आफ्नो वंशपरम्परा, खहरेखोले हुन पाउनुको आत्म गौरव, खहरेखोले परिवारको छोटो चिनारी, आफ्नो बुवा र आमाको मावली र आफ्नो मावली, दाजुको ससुराली र आफ्नो ससुराली, दिदी र बहिनीको घरको छोटो चिनारी पनि दिनु भएको छ ।
काकाले खहरेखोले, नेटाखर्के र लुङ्खर्केको त्रिमैत्री सम्बन्धलाई उजागर गर्नु भएको छ । काकाले जीवनका केही रोचक पक्षलाई पनि यसमा प्रस्तुत गर्नुभएको छ । काकाले भलायोसँग मित लगाउनु भएको रहेछ । भलायो भनेको अलि ठूला पात हुने वनजङ्गलमा पाइने त्यति अग्लो नहुने एक प्रकारको रुख हो । उहाँ वनमा गाईवस्तु चराउन जाँदा त्यसको फल खानु भएछ ।त्यो उत्रिएर शरीरभरि चाला आएछ्न् । त्यसैसित मित लगाएपछि निको भएछ । यो विश्वास मात्र नभएर यसको वैज्ञानिक कारण पनि हुन सक्छ ।
काकाको यस आत्मवृतान्तमा देश भित्रको जन्म र कर्मभूमि मात्र प्रतिबिम्बित नभएर छिमेकी मुलुक भारत र जापानको यात्राका घटनालाई पनि समेट्नु भएको छ।भारतमा काशी गयाजी र उत्तराखण्ड चारधाम हरूको तीर्थयात्रा गर्दाका घटनाको अनुभव वर्णन गर्नुभएको छ भने २०७१ मा आफ्नो छोरा ध्रुव पन्थीको पीएचडीको दीक्षान्त समारोहमा जापानको टोकियो जाँदा र बस्दाका घटनालाई वर्णन गर्नुभएको छ । जापान जाँदा जहाजको अनुभव, टोकियोका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलको वर्णन, जापानीहरूको जीवन शैली, जापानको विकासका बारेमा पनि प्रसङ्ग उठाउनु भएको छ ।
यस आत्मवृतान्तमा काकाले आफ्नो जन्मभूमि गुल्मी भन्भनेको भौगोलिक अवस्थाको चित्रण पनि गर्नु भएको छ भने आफ्नो जन्म गाउँमा हिन्दु सनातन धर्म अनुसार मनाइने चाडपर्वहरू अक्षय तृतीया, साउने संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, तीज, बडादशंै, तिहार, न्वाँगी मान्दा गरिने क्रियाकलाप र प्रसङ्गलाई वर्णन गर्नुभएको छ । काकाले ६३ वर्षको उमेरमा प्रकाशित गर्नु भएको यस आत्मवृतान्तको भाषाशैली सरल र सहज नै छ । वर्णनात्मक शैली अपनाउनु भएको छ । कहिँ कतै उहाँका उत्कृष्ट विचारहरू अभिव्यक्त भएका छन् । पुस्तकमा वर्णन गरिएका अनुभव र घटनाहरू रोचक, जानकारीमूलक र ज्ञानबर्ध्दक छ्न् । समष्टिमा कृति उत्कृष्ट र कौतूहल छ । अन्त्यमा काकाको सुस्वास्थ्य र दीर्घायुको कामना ! (भर्जिनिया, अमेरिका)